Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

वास्तविक धृतराष्ट्र को ?

वास्तविक धृतराष्ट्र को ?

कालीगण्डकी खबर

२१, भदौ २०७८
  • 2.2K
    SHARES
  • वास्तविक धृतराष्ट्र को ?

    संगीता गैह्रे, हामीहरुले हिन्दूहरुको प्रसिद्ध ग्रन्थ महाभारत पढदै आएका छौँ। महाभारतको कथा प्रेरणादायी र रोचक पनि छ। यसका पात्रहरुको भूमिका पनि अर्थपूर्ण छ। यस कथालाई कथाको रुपमा मात्र नालिएर वास्तविक अर्थसहित बुझ्नु महत्वपूर्ण छ। कथाका पत्रहरुको चरित्रबाट जीवन उपयोगी कुरा हाम्रो जीवनमा उतार्न सक्यौँ भने सुन्दर संसार निर्माण गर्न सकिन्छ।

    महाभारतको अर्थ हुन्छ भिषण युद्ध। देवी भागवतमा पनि लेखिएको छ कि कलियुग को अन्त्यमा घरघरमा महाभारतको युद्ध चल्नेछ। सोहीअनुरूप आहिले प्रत्येक घर घरमा महाभारत युद्ध देख्न सकिन्छ। परिवार विखण्डित भएका छन्। हरेक सदस्यको फरक फरक मत देखिन्छ। परिवारभित्रै हिंसा हत्या बलात्कार तथा मारकाटका घटनाहरु घटिरहेका छन्। यसर्थ यो कथा वर्तमान कलियुगी घटनाक्रमसँग मेल खान्छ न कि द्वापर युगसँग किनकि आजभन्दा १०० वर्ष भन्दा पहिलेको समयमा पनि समाज यति विकृत र बिचलित थिएन भने द्वापर त धेरै राम्रो युग थियो होला, अहिलेको भन्दा हामी अनुमान गर्न सक्छौँ।

    महाभारतका प्रमुख पात्र मध्ये एक राजा थिए, उनको नाम धृतराष्ट्र र देशको नाम हस्तिनापुर। राजा धृतराष्ट्रलाई नेत्रविहीनको रुपमा देखिएको छ। त्यस कथामा उनलाई भौतिक आखा नभएको देखाइए पनि वास्तविकता अर्कै हुनु पर्दछ। रहस्य अर्कै हुनुपर्छ। उनी भित्री आँखा नभएका अर्थात् ज्ञान नभएका, बुद्धिरुपी आँखा नभएका, विवेकरुपी आँखा नभएका थिए भन्ने खोजिएको हुनुपर्छ।

    images

    बाहिरी भौतिक आँखाले नदेख्नुले केही फरक पर्दैन तर ज्ञानको आँखा नभएका मानिस सत्तामा पुग्यो भने बडो खतरनाक हुनसक्छ। यस्ता ज्ञानका आँखा नभएका धृतराष्ट्रले नियमअनुसार सत्यवादी, इमान्दार, योग्य, लोकप्रिय व्यक्ति युधिष्टिरलाई हस्तान्तरण गर्नु पर्ने थियो तर उनले पुत्र मोहका बसमा परेर आफ्नो पुत्र दुर्योधनलाई राज्यको उतराधिकारी बनाउन लागिरहे।जसका कारण महाभारतको युद्ध भयो धेरै जन धनको क्षति भयो। जनताहरु पनि युद्धको भारमा परे। दुर्योधनको अर्थ हुन्छ धनको दुरुपयोग गर्ने र जाल झेल गरेर सत्ता हत्याउने प्रयासमा लागिरहने, यस्ता दुर्योधनहरु पनि वर्तमान समयमा प्रसस्तै देखिएका छन्।

    यस्तै शक्तिको आडमा सत्ताको दुरुपयोग गर्ने दुस्शासनहरुले पनि संसारलाई आतंकित पारिरहेको छन्। यहाँ अहिले एउटा मात्र दुस्शासनले एउटी द्रौपतीको मात्र इज्जत लिने कुरा होइन कि कयौं दुस्शासनहरुद्वारा दैनिक रुपमा कयौँ द्रौपतीहरु लुटिएका छन् मारिएका छन्। यस्तै कौरबहरुकी एक मात्र बहिनीको नाम छ दुस्शला। यसको अर्थ हुन्छ कुनै शिल स्वभाव राम्रो नभएकी महिला। कसैको पनि इज्जत राख्न नजान्ने, कठोर, कर्कशा स्त्री।

    यस्ता स्त्रीहरुको बढोत्तरीले समस्त नारी जाति पनि कलंकित बनेको छ।यसरी हेर्दा धृतराष्ट्र जस्ता पिताका सन्तानहरु पनि संसारमा दुख दिने नै हुनेछन् भनेर देखाइएको हुनुपर्छ। दुस्कर्म गरेर कमाएको धनले,अन्नले पालिएका सन्तानहरुमा पनि नराम्रो नै गुणहरु देखापर्दछन, त्यसैले आफ्ना सन्तानहरुबाट सुख चाहने हो भने सत्कर्मद्वारा आर्जित धन तथा अन्नले उनीहरुको पालन पोषणमा ध्यान दिनुपर्छ भन्ने शिक्षा दिन खोजिएको हुनुपर्छ।

    यस कथासँग वर्तमान समयमा संसारका शासकहरुसंग तुलना गर्दा धेरै मेल खाएको देखिन्छ। कतिपय देशहरुमा जनताद्वारा निर्वाचित नेतालाई अपदस्थ गरेर सत्ता अर्कैले हडपेको र निर्वाचनमा हारेका व्यक्तिहरु पनि पद प्राप्तिका लागि मतिहत्ते गरी लाजै नमानी त्यसै खेलमा लागिरहने गरेको उदाहरण पनि प्रसस्तै भेटिन्छन। उता निर्वाचित सत्ताधारी शासकहरु पनि ठ्याक्कै धृतराष्ट्र जस्तै भएका छन्।

    उच्च पदमा पुगेपछि राष्ट्र जनताको हितमा भन्दा आफ्ना नातागोता चाकरीवाला, दलालको हितमा ध्यान केन्द्रित भएको देखिन्छ। निहित स्वार्थले गर्दा निष्पक्ष न्यायिक कार्यहरु अबरुद्ध भएका छन्। समाज देश हुदै संसार कै भलो गर्नुपर्ने मानिस, सिमित व्यक्तिको प्रभावले सत्तामोहले धनको प्रलोभनले धृतराष्ट्र जस्तै भएका छन्। जसरी हुन्छ आफ्नो पद जोगाउन लागिरहने र आफ्नो प्रियपात्र, नातागोता,आफ्नो फेवरका मानिसहरुलाई सत्ता हस्तान्तरण गर्न मा केही कसर बाँकि नराख्ने मानिसहरु नै वास्तविक धृतराष्ट्र हुन्।

    धृतराष्ट्रको अर्थ धूर्तराष्ट्र पनि हुनसक्छ किनकि यस्ता व्यक्तिले देशप्रति धुर्त्याई गर्छन्। देश र देशवासीको कार्यलाई महत्व दिनुपर्नेमा निहित स्वार्थको वंसीभुत भएर, गुटगत स्वार्थमा लागेर राष्ट्रको ढिकुटीको दोहन गर्छन, अर्थात् धुत्छन। यस्ता भौतिक आँखा भएका तर भित्रि आँखा नभएका अदुरदर्शी धृतराष्ट्रहरुको अहिले संसारभरी बोलवाला चलेकै छ। अहिले यस्तै व्यक्तिहरुको अनुकुलको समय हो जसको कारण विश्व नै दुखि छ असान्त छ। बहुमत यस्ता अविवेकी मानिसको भएतापनि सत्यवादीको बीउ मासिएको हुदैन भलै उनीहरु ओझेलमा परेका होलान्।

    जसरी कौरब पक्षका अक्षौहिणी सेना पनि पाँच पाण्डवद्वारा परास्त भए किनकि पाण्डवहरु सत्यवादी थिए र उनका साथमा स्वयम् सर्वासक्तिवान भगवान हुनुहुन्थ्यो त्यसैगरी अहिलेका बोलवाला देखिएका धृतराष्ट्रहरुको पनि अन्त्य हुनेछ समायको शक्ति बलवान हुन्छ, समयले उनीहरुलाई पछार्ने छ सत्यवादी इमान्दार मानिसको जित हुनेछ। स्वर्णिम संसार, सुखाशंतिको संसारको उदाय हुनेछ। जसमा एक राज्य, एकमत, एकभाषा, एकधर्म हुनेछ। मानिसहरु पनि दैविगुणयुक्त देवि देवता जस्तै हुनेछन यसैयुगलाई स्वर्ग भनिन्छ। आशा गरौँ ती दिन अब निकट आइरहेको छ हामी सबैलाई सुखशान्ति प्राप्त हुनेछ।

    प्रकाशित मिति :भदौ २१, २०७८ सोमबार - १८:००:१६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology