Logo

मंगलबार, मंसिर २१ गते २०७८

बाँदरले गरायो उठिबास !

बाँदरले गरायो उठिबास !

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 565
    SHARES
  • बाँदरले गरायो उठिबास !

    बैतडी, २३ असोज । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् ।

    भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा कर्ण दयालले लेख्नुभएको छ ।

    images

    बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताउनुभयो ।

    बाँदर आतङ्कका कारण गाउँलेहरु परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८, मा रहेका रणशैनी आधारभूत विद्यालयमा छ जना विद्यार्थी र आठ जना शिक्षक छन् । विद्यार्थी संख्या कम भएपछि उक्त विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी संख्या नुहँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ ।”

    शिक्षा शाखा प्रमुख नाथका अनुसार दशरथचन्द नगरपालिका–१०, को शान्तिप्रकाश आधारभूत विद्यालय, रणशैनी आधारभूत विद्यालय र ज्ञानेश्वर आधारभूत विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । त्यस्तै वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय, दनपा– ८, को रणसैनी आधारभूत विद्यालय र त्रिपुरासुन्दरी आधारभूत विद्यालय समायोजन भएका छन् ।

    गाउँको विद्यालय बन्द भएर अन्तै समायोजन भएपछि बसाइँसराइँ गर्न नसक्ने परिवारका नेपाली विद्यार्थी सीमापारि भारतको पिथौरागढ जिल्लाको झुलाघाटस्थित राजकीय विद्यालय जाने गरेका छन् । गाउँका विद्यालय बन्द हुँदा भारतीय विद्यालयमा गएर पढ्नु पर्ने वाध्यता रहेको स्थानीय विद्यार्थी दिवान बिष्टले बताउनुभयो ।सीमापारि गएर अध्ययन गर्दै आउनुभएका बिष्टले भन्नुभयो, “गाउँमा भएका सबै विद्यालय बन्द भइसके । भारतीय सीमा नजिक बस्ने हामी जस्ता विद्यार्थीलाई भारततिरै गएर पढ्न सजिलो छ । ”

    समाचार सङ्कलन गर्न झुलाघाट पुग्दा भारतीय स्कुलबाट फर्किदै गरेका नेपाली विद्यार्थी मोहित महरले नेपाली राष्ट्रिगान थाहा नभएको बताउनुभयो । विद्यार्थी सङ्ख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा समायोजन भएको छ ।

    गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा मर्ज भएपछि स्थानीय साङ्डी गाउँका १५ जना विद्यार्थी सीमा पारि भारतीय स्कुल जाने गरेको स्थानीयवासी रघुवीर थापाले बताउनुभयो ।

    भारतबाट हजारौँ सङ्ख्यामा हरिद्वारका बाँदर नेपाली सीमा नजिक झुलाघाटमा ल्याएर छाड्ने गरिएको छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको मजिर काँडा ग्राम पञ्चायतको पूर्व सभापति सुरेन्द्र आर्यका अनुसार राज्य सरकारले राति राति गाडीका गाडी बाँदरहरु ल्याएर झुलाघाटको जङ्गलमा छाड्ने गर्छ । ‘‘यो खासमा नेपालको समस्या हैन”, उहाँले भन्नुभयो, ‘‘यो चुनौती हाम्रो चुनौती हो ।” राज्य सरकारले राति सुेतका बेला गाडीका गाडी ल्याउँछ । नेपालको वैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा जोडिएको छ ।

    बाँदरले दुःख दिन थालेपछि दशरथ चन्द नगरपालिका– १० बुड्डा गाउँका २० परिवारले गाउँ छाडेको स्थानीय स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताउनुभयो । बाँदरकै कारण आफूले विगत दुई वर्षदेखि खेतीपाती गर्न छोडेको चन्दले बताउनुभयो ।

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - ०७:४४:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology