Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

कालीगण्डकी खबर

२६, असोज २०७८
  • 361
    SHARES
  • पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

    कास्की, २६ असोज । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ ।

    images

    महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर  पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।  ‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

    स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको थियो ।

    महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट रु १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । प्रवक्ता नेपालीले भन्नुभयो,“प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।” 

    महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये रु एक करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसँैलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ ।

    यसैगरी पोखरा महानगरपालिकाभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ ।

    सहमति अनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो हप्ताबाट विज्ञको टोली पोखरामा खटिइ आउने महानगरले जनाएको छ ।

    प्रकाशित मिति :असोज २६, २०७८ मंगलबार - १२:४४:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology