Logo

मंगलबार, मंसिर २१ गते २०७८

काँग्रेसको १४औँ महाधिवेशन: यस्तो बन्नेछ केन्द्रीय कार्य समिति

काँग्रेसको १४औँ महाधिवेशन: यस्तो बन्नेछ केन्द्रीय कार्य समिति

पत्रपत्रिकाबाट

४, कात्तिक २०७८
  • 361
    SHARES
  • काँग्रेसको १४औँ महाधिवेशन: यस्तो बन्नेछ केन्द्रीय कार्य समिति
    फाइल फोटो

    काठमाडौँ, ४ कात्तिक । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो ।

    images

    यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।

    काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ ।

    जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।

    काँग्रेसले यस पटक सबैभन्दा धेरै नेतालाई खुला सदस्यबाट केन्द्रीय समितिमा पु¥याउन सक्नेछ । खुला सदस्यमा यस पटक ३५ स्थान छुट्याइएको छ । यसअघि खुला सदस्यको सङ्ख्या २५ थियो । खासगरी पदाधिकारी निर्वाचन नलड्ने तर पाका पुस्ताका धेरै नेता केन्द्रीय समितिमा जान चाहने भएका कारण खुला सदस्यको सङ्ख्या बढाइएको हो । खुला सदस्यमा देशभरका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

    काँग्रेसले यस पटक महिलाको केन्द्रीय समितिको प्रतिनिधित्वलाई पनि थप सुनिश्चित गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले कम्तीमा दस वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएका महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित गरेका नौ जना महिला सदस्यहरू केन्द्रीय समितिमा पुग्नेछन् ।

    काँग्रेसले सातवटै प्रदेशबाटसमेत केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । सोअनुसार प्रदेशका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना महिलासहित तीन जना रहने गरी प्रत्यक्ष निर्वाचनको माध्यमबाट सातवटै प्रदेशबाट २१ जना केन्द्रीय समितिको भूमिकामा पुग्नेछन् ।

    यसका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिले चार महिलासहित नौ जना दलित, सात महिलासहित आदिवासी जनजातिबाट १५ जना, खसआर्यबाट छ जना महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित नौ जना, थारूबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    यसअतिरिक्त अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक गरी दुई जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने व्यवस्था काँग्रेसको विधानमा छ ।

    प्रकाशित मिति :कात्तिक ४, २०७८ बिहीबार - ०८:०४:०३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology