स्याङ्जा, ८ मङ्सिर । नेपाली काँग्रेसको यही १० गते हुने भनिएको जिल्ला सभापतिमा संविधानसभा सदस्य राजु थापा र गण्डकी प्रदेशका सचेतक एवं सांसद भागवतप्रकाश मल्लबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
संघीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ स्याङ्जाको क्षेत्र नं १ बाट सबैभन्दा धेरै मत पाएका थापा र क्षेत्र नं २ बाट मल्लले सर्वाधिक मत पाउन सफल हुनुभएको छ ।
संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली काँग्रेस सचेतक एवं सांसद मल्लबीच सभापतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सोमबार भएको क्षेत्रीय तथा संघीय महाधिवेशन प्रतिनिधि चयनमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतका काँग्रेसमा निरन्तर क्रियाशिल नेता तथा नेतृहरुको पराजित भएपछि राजनीतिले नयाँ मोड लिएको हो ।
कार्यवाहक सभापति रानासँगै प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डे, राष्ट्रियसभाका पूर्वसांसद खगेन्द्रराज रेग्मी, पूर्व नगरप्रमुख भोजराज अर्याल, महिला संघका पूर्वकेन्द्रीय सदस्य राजकुमारी गुरुङ र हिरादेवी शर्मा, महिला संघ स्याङ्जाका पूर्वसभापति मखमली श्रेष्ठले मतदान प्रक्रियाबाट पराजय भोग्नु परेको छ ।
समूहगत प्रतिस्पर्धामा स्याङ्जा काँग्रेस अघि बढेको छ । समूहकै पछि लागेका कारण नवप्रवेशीको संख्या ह्वात्तै बढेको छ भने राजनीतिमा आवश्यक ठानिएका व्यक्तिले अप्रत्यासित पराजित भएका छन् ।
स्याङ्जामा केन्द्रको स्पष्ट धार देखिएको छैन । यहाँ दुई समूहबीचको चुनावी प्रतिस्पर्धा बनाइएको छ । नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठको चुनावी क्षेत्र पनि २ नम्बर हो । श्रेष्ठ पक्षधर समूहले क्षेत्र नं. १ मा पराजय भोग्नुपरेको हो ।
तर, श्रेष्ठ पक्षधर क्षेत्र नं। २ मा बलियो देखिएको छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं १ मा संविधानसभा सदस्य राजु थापा बलियो देख्नुभएको छ । तर, क्षेत्र नं २ मा गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका सचेतक सांसद भागवत्प्रकाश मल्ल बलियो हुनुहुन्छ ।
कम्युनिस्टको गढ मानिएको स्याङ्जा क्षेत्र नं. १ मा विसं. २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा थापा निर्वाचित हुनुभएको थियो ।
स्याङ्जाको एक मात्र प्रदेश जिताएर नेपाली काँग्रेसको बिउ जोगाउन मल्ल सफल हुनुभएको थियो । यहाँका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ ख बाट मल्ल मात्र विजयी हुनुभएको थियो ।
यो पनि पढ्नुहोस् :- काँग्रेस अधिवेशन: महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर मल्ल विजयी
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।