काठमाडौं, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौं महानगरपालिकाको नेतृत्व हात पार्न उम्मेदवारहरूले अन्तिम कसरतलाई तीव्र बनाएका छन्। प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेसहित ५६ नेता नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन्।
प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारले काठमाडौं महानगरको नेतृत्वमा आफैंले बाजी मार्ने बताइरहे पनि मुख्य प्रतिस्पर्धा काँग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ।
काँग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंह र एमालेबाट चुनावी मैदानमा उत्रिएका केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र सुमन सायमिले चुनौती दिइरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेख्नुभएको छ ।
असंगठित मतलाई संगठित गरेर बालेन र सायमिलाई महानगरको नेतृत्वमा पुग्न उत्तिकै चुनौती रहेको जानकारहरू बताउँछन्। युवा पुस्ताको मन बालेन र सायमिले जिते पनि मत कति ल्यिाउँछन् भन्नेचाहिँ प्रतीक्षाकै विषय बनेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा उपप्रमुखको उम्मेदवारी दिँदै एमालेसँग साझेदारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसपालि एक्लै चुनावी माहोलमा होमिएको छ। राप्रपाले कलाकार मदनदास श्रेष्ठलाई मेयर उम्मेदवार बनाएर मैदानमा उतारेको छ। प्रमुख राजनीतिक दलहरूप्रति जनताको वितृष्णालाई आफ्नो पक्षमा पार्ने मौकाका रूपमा हेरेको राप्रपा पनि काठमाडौंमा उत्साहित देखिएको छ।
अघिल्लो निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएको विवेकशील नेपाली पार्टी र साझा पार्टीले झन्डै २७ प्रतिशत मत समेटे पनि अहिले तुलनात्मक रूपमा चहलपहल देखिएको छैन। यद्यपि दुई पार्टी एक भएर गठन भएको विवेकशील साझाले काठमाडौंको प्रमुखमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाएको छ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।