Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

गीत संगीतमा लागेर बिक्नुभन्दा टिक्नु ठूलो कुरा हो

गीत संगीतमा लागेर बिक्नुभन्दा टिक्नु ठूलो कुरा हो

अर्जुन खनाल

१५, पुस २०७७
  • 2.4K
    SHARES
  • गीत संगीतमा लागेर बिक्नुभन्दा टिक्नु ठूलो कुरा हो

    अर्जुन खनाल, काठमाडौं, १५ पुस ।
    ओठ टोकी मस्कियो मसक्कै
    अईए बाबै मन, घोचे चसकै
    भीरमा सेती गाई, भीरमा सेती गाई
    तिम्लाई पाएँ पो माया गाँसौला
    नत्र जीन्दगी जान्छ यत्तिकै

    यतिबेला यो गीत चर्चाको शिखरमा छ । चर्चा पनि किन नहोस्, अहिलेसम्म लोकगीतमा सबैभन्दा बढी लगानी गरेर निर्माण गरिएको भनिएको छ ।

    गीतमा विरु लामा र विष्णु माझीको आवाज रहेको छ भने सागर लम्साल बले र रुवीन अधिकारीले अभिनय गरेका छन् ।

    उक्त गीतमा पछिल्लो समयका चर्चित सर्जक शिव हमालको शब्द संगीत रहेको छ । उनले यस गीतलाई ड्रिम प्रोजेक्टको रुपमा लिएको र सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।

    आफ्नो कामभन्दा पनि गीतमा भएको लगानीले बढी चर्चा भएकोमा दुखेसो गर्दै हमालले भने, ‘‘लोक गीत भनेको चौउरमा गएर फूल समातेर नाचेर टार्नुपर्छ भन्ने कहीँ लेखेको छ र ?’’

    images

    मुभी र आधुनिक गीत २० देखि ३० लाख लगानी हुन्छ । हल्ला छैन् । प्रविधिको जमनाले गर्दा हिन्दी र अग्रेजी गीतहरुको दमदार भिडियो आइरहँदा लोक गीत भनेको सधै खुम्चिएर बस्नुपर्छ भन्ने छैन । अबको हाम्रो प्रतिस्पर्धा भनेको हिन्दी र अग्रेजी गीतसँग हो उनले भने ।

    हामीले दिल खोलेकै हो । किन कि गीत राम्रो बनेको थियो । यतिको गीतलाई मर्न दिनु हुँदैन भन्ने थियो । लगानी उठ्छ भनेर गरेकै होइन । काम राम्रो गरेका छौँ हमालले भने ।

    संगीतको व्यवसाय भनेको ठ्याक्कै किनारा पसलमा चलाए जस्तो होइन् । आज एक बोरा चामल ल्याउँदा २५० खाएर २७०० मा बेचेजस्तो होइन । विभिन्न पोर्टलहरुमा लगानी गर्दा ढिलो चाँडो लगानी उठ्छ ।

    हमालले पछिल्ला वर्षहरु शब्द संगीत गरेका गाऔँ रमाइलो दशैँ रमाइलो, झुक्का झल्कै, कहाँ गयो जुरेली, लाउँछ माया नलाउनी हैन, लालुमै लगायतका गीतहरुले चर्चा परिचर्चा पाइरहेका छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ४ मा २०३९ सालमा जन्मिएका हमालका तीन भाइहरुमध्ये माहिलो कोरिया, साहिँलो भारतीय आर्मी र कान्छो भाइ साउदीमा रहेका छन् ।

    हमालले भने, ‘‘एक दिन संयोगबस हामी खान खाएर सुत्ने तरखर गरेको बेलामा मेरो मामा राजेन्द्र लम्सालको गीत रेडियोमा बज्यो । आहा भनेर सुनिरहेँ । तँ पनि यस्तै गरी रेडियोमा गीत गाए हुन्न भनेर आमाले भन्नुभयो । कसरी भन्नुभयो ? सरस्वतीको वाणी जस्तै लाग्छ । त्यो साँझ आमाको स्वर मेरो लागि जीवन दर्शन बनेजस्तो लाग्छ ।

    सुुरुवाती चरणमा गीत संगीतमा लाग्दा आमालाई मनपरे पनि बुबालाई भने मन नपरेको उनले बताए । हमाले भने ‘‘कतिसम्म भने बिवाह गरेपछि गीत संगीतमा लागेर केही हुदैँन भनेर काठमाडौं आएपछि पनि दुई तीनपटक त बुबा आफू नै आएर लिएर जानुभयो ।’’

    हमालले गीत संगीतबाहेक अन्य क्षेत्रमा नलाग्ने अडान लिएर निरन्तर लागि रहेपछि आजभोलि भने घरपरिवारका सबै सदस्यले सहयोग गरेको बताए ।

    २०५९ सालमा मागी विवाह गरेको हमालकोे १६ वर्षको एक छोरा र ४ वर्षकी एक छोरी रहेकी छन् ।

    उनले आफ्नो शैक्षिक अध्ययन राममन्दिर माविबाट शुरुवात गरे । ज्याग्दी खोलाको कल कल पानी, हजुर बुबा, हजुरआमा र गाउँ लोकसंगीतको उर्वरभूमि भएकोले उनले सानैदेखि विभिन्न कार्यक्रमहरुमा गीत गाउन थाले ।

    रोधीघरमा शिक्षक सँगसँगै रोधीगाएर भोलिपल्ट बिहानै स्कुल जाँदा गहृकार्य नगरेको भनेर त्यही शिक्षकको पिटाई खाएको घटना अझैसम्म पनि ताजै रहेको उनले बताए ।

    ‘‘२०६० सालमा पिएन क्याम्पसमा आयोजना भएको दोहोरी गीत प्रतियोगितमा भाग लिन स्याङ्जाबाट पोखरा गएको बताउँदै,’’ उनले भने ‘‘त्यस प्रतियोगितामा पहिलो चरणबाट बाहिरिएँ ।’’

    गोजीमा एक सय पच्चपन्न रुपैयाँ मात्र थियो उनी स्याङ्जा नफर्किई काठमाडौं जाने निर्णय गरे । काठमाडौँमा आएर एक वर्ष मामासँगसँगै बसेको हमालले बताए ।

    काठमाडौं आएपछि दोहोरी साँझमा काम गर्नको लागि विभिन्न व्यक्तिहरुलाई आग्रह गरेको तर काम नभएर त्यो वर्ष अत्यन्तै संघर्षपूर्ण रहेको उनी सम्झन्छन् ।

    एक वर्षपछि उनले साथीसँग कोठा भाडामा लिएर बस्न थाले । उनले भने, ‘‘त्यतिबेलाको मेरो सोच भनेको आफ्नो एउटा छुट्टै कोठा होस्, एक्लै सुत्ने वेड होस् भन्ने मात्रै सपना थियो । त्योभन्दा ठूलो थिएन ।’’

    २०६१ देखि ६३ सम्म विभिन्न दोहोरी प्रतियोगितामा भाग लिन नेपालको पूर्वदेखि पश्चिमसम्म पुगेको उनले बताए ।

    हमालले भने, ‘‘दोहोरी साँझमा गीत गाउने क्रममा सिर्जना विरही थापाको संगतमा पुगे । त्यति बेला उहाँहरुको चर्चाको शिखरमा हुनुहुन्थ्यो । दिदीले गाली गर्नुभयो । तँ जस्तो उर्जाशील, शब्दको भण्डार भएको मान्छेले किन गीत निकाल्दैनस् कान्छा भनेर सोध्नुभयो ? भोलिपल्ट थोगे सुनाएपछि फेरी गाली गर्नुभयो । थुक्क गोरु । यति मिठो गीत थन्काएर राख्ने । यहि त हो चल्ने गीत भनेर भन्नुभयो ।’’

    त्यसपछि रामजी खाँणसँग एउटा काम गरौँ भन्ने भयो, उनले भने । ‘‘बल्लबल्ल टिप्स जम्मा गरेर राखेको ८ हजार र रामजीले ८ हजार जम्मा गरेर २०६३ सालमा सम्झना आसु झरेको बोलको दुईवटा गीत रेकर्ड गराएर शिल क्यासेटबाट मात्र बजारमा पठाएको’’ भन्दै हमालले भने, ‘‘भिडियो चाहिँ मामाले बनाइदिनुभएको हो । गीत ठीकै चल्यो । खाँणसँग त्यसबेलादेखि सहकार्य अहिलेसम्म रहिरहेको छ ।’’

    उनले त्यसपछि पछ्यौरी ल्याऊ बैना, देउरालीको भट्टी पसल, रक्षा गर हरी, कसलाई सोध्ने होला, हाँस्न सिकायौँ, भन्न त भन्देऊ होला, भूईँ ढाक्यो छायाले, कहाँ गयो जुरेली, लाउँछ माया नलाउनी हैन, आयो फेरी दशँै आयो, झुम्का झलक्कै लगायतका गीतहरु निकाले ।
    २०७३ देखि ७५ सम्म कुनै चलेन् । गीतहरु भने नियमित रुपमा निकाली रहेको थिएँ । खै किन हो थाहा नै भएन । त्यतिबेला त मलाई सिध्धिएको हमालसमेत भन्ने गरेको पाएँ ।

    २०७५ मा सार्वजनिक भएको सन्दिप न्यौपानेको सहयात्रामा लालुमै गीतले आफ्नो टर्निङ पोइन्ट लिएको बताउदैँ उनले भने ‘‘गरेका गीतहरुमध्ये उक्त गीत युटुमा अहिलेसम्म सबैभन्दा धेरै पटक हेरिएको छ । जुन अहिलेसम्म २ करोड २७ लाख बढीले हेरिसकेका छन् ।’’ त्यसपछि उनले संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिएर काम गरेकोसमेत बताए ।

    उनले अहिलेसम्म विन्दवासिनी म्युजिक, कालिका, लोक दोहोरी, राप्ती, गोर्खाली अवार्ड लगायत विभिन्न १८ भन्दा बढी अवार्डहरु पाएकाछन् ।
    उनले गीतसंगीत सँगसँगै विभिन्न सामाजिक कामहरुमा समेत आवद्ध भएको बताए ।

    उनले अहिलेसम्म करिव १५ देखि २० वटा देशहरु संगीतिक कार्यक्रमको शिलशिलामा भ्रमण गरिसकेको बताए ।

    उनीसँग काम गरेका अधिकांश कलाकारहरु व्यवसायिकरुपमा सफल भएको हमालले दावी गरेका हमालले गीत संगीतको नयाँ सिर्जना प्राय जस्तो बेलुका र बिहान गर्न गरे पनि यही नै समयमा गर्छु भन्ने नरहेको बताउँछन् ।

    हमालले गीत संगीतमा लागेर बिक्नुभन्दा टिक्नु ठूलो कुरा भएको भन्दै, यस क्षेत्रमा लागेर दारी जुँगा फुलाउने रहर भएको बताउँदै गीत संगीतमा लागेर कमाएको आम्दानीले यसै वर्ष काठमाडौंमा आफ्नै घर बनाउन समेत सफल भए ।

    यस क्षेत्रमा सफलताको मापदण्ड नभएको भन्दै यस क्षेत्रमा कहिलै भूपु हुनु नपर्ने बताए । एउटा एल्मब निकालौँ केही हुन्छ चले चलिन्छ नचले अन्त छ भन्ने सोचले नआउन आग्रह गरे ।

    लोक गीतलाई व्यावसायिकतालाई एउटा मापदण्ड टेकाइदिएको छ । आज एउटा गीतकारले मैले गीत लेखेको यति पैसा लिन्छु भन्ने दिन आएको छ । एउटा संगीतकारले मैले एउटा भाका बनेको यति लिन्छु, एउटा चलेको स्टेज फर्मले एउटा स्टेजको यति पैसा लिन्छु भन्ने दिन आएका ।

    हिजो कम्पनीको सिन्डिकेडभित्र हामी बस्नुपथ्र्यो गीत चल्थ्यो, नाम चल्थ्यो तर दाम चल्थेन, काम चल्थेन । तर आज त्यस्तो छैन हमालले भने ।
    आज सिर्जना गर्ने व्यक्ति आफै मालिक भएर व्यापार गर्ने दिन आएको बताए । एउटा सामान्य चलेको कलाकारको पोर्टलले मासिक १ डेढ लाख कमाउँछन् । यस क्षेत्र जस्तो राम्रो अन्य नभएको हमाले दाबी गरे ।

    प्रकाशित मिति :पुस १५, २०७७ बुधबार - ०७:३९:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    अर्जुन खनाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology