Logo

बुधबार, मंसिर १५ गते २०७८

यो कारण कालीगण्डकी तिनाउ डाइभर्सन हुनु हुन्न

यो कारण कालीगण्डकी तिनाउ डाइभर्सन हुनु हुन्न

कालीगण्डकी खबर

१५, असार २०७८
  • 8.0K
    SHARES
  • यो कारण कालीगण्डकी तिनाउ डाइभर्सन हुनु हुन्न

    जगदिश डोटेल
    बिगत दश वर्षदेखि कालीगण्डकी तिनाउ डाइभर्सनले चर्चा पाइराखेको छ । आर्थिक वर्ष २०७८÷२०७९ को बजेटले कालीगण्डकी तिनाउ डाइभर्सनको विस्तृत परियोजना प्रतिवेदन अध्ययनको लागि बजेट छुट्याई कार्यान्वयन र संचालनको लागि स्रोतको व्यवस्थापन गर्ने भनेपछि यो बहस थप पेचिलो बने पनि बुटवलमा कालिगण्डकी तिनाउ डाईभर्सनको कार्यालय उद्धघाटनपछि भने लुम्बिनी र गण्डकी प्रदेशबीच गमागर्मी चलेको छ ।

    डाइभर्सनको प्रस्तावित ड्याम तलका अधिकतम जनता र जनप्रतिनिधिले डाइभर्सन हुनुहुन्न भनेर आवाज उठाइरहेका छन् भने कतिले डाइभर्सनले रुपन्देही र कपिलवस्तुमा सिंचाई भई उत्पादन बढ्ने भएकोले यो आयोजना सम्पन्न हुनुपर्छ भनेका छन् ।

    कालीगण्डकीको जलप्रवाह
    कालीगण्डकी तिनाउ डाइभर्सनको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार लगभग ८२ घन मिटर प्रति सेकेण्ड पानी झर्ने डिजाईन डिस्चार्ज र १०४२६ घन मिटरको इन्ट्यांकबाट विद्युत निकाल्न र सिंचाईको लागि कालीगण्डकीको हिउँदमा बग्ने कम्ति औसतको दुइतिहाई पानी लैजान सक्ने प्रस्ताव गरेको छ । सन् १९९६ देखि २००६ सम्मको कालीगण्डकीको जल प्रवाहको तथ्यांकलाई लिएर गरिएको एक अनुसन्धानले हिउँद महिनाहरुको कम्ति औषत पानीको प्रवाह ५२ घन मिटर प्रति सेकेण्ड मात्र देखाएको छ भने २० घन मिटर प्रति सेकेण्ड पानीको प्रवाह प्रत्येक वर्ष घटेको देखाएको छ ।

    यसरी हेर्दा ५२ घन मिटर प्रति सेकेण्डको एक तिहाई पानीले प्रस्तावित ड्याम तलको पारिस्थिक प्रणाली, स्वस्थ्य नदी र धार्मिक महत्वका स्थल जोगाउन पर्याप्त होला त ? यसको उत्तर यो आयोजनासँग सम्बन्धित र अन्य कसैसँग पनि छैन । किनकि स्वस्थ्य नदी प्रवाह, वर्तमान परिवेशमा रहेका जीवत्वको लागि आवश्यक पानी यी यावत कुरामा कुनै अध्ययन अनुसन्धान नै भएको छैन ।

    अझ विरोधाभास कुरा त, एक तिहाइ पानीमा जल यातायातको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको छ । यसले के देखाउँछ भने यस्ता आयोजनाहरु हचुवाको भरमा प्रस्ताव गरिँदो रहेछ भन्ने प्रस्ट हुन्छ ।

    कालीगण्डकी परिचय
    न्हुबिने हिमनदीबाट सुरु भएको सानो खोलो मुस्ताङ खोला हुदै मुक्तिनाथको १०८ जलधारा काक खोलाको रुपमा अर्थात कृष्णा नदी भएर कागबेनीमा मिसिएपछि कृष्णागण्डकी अथवा कालिगण्डकी नामले चिनिन्छ । कृष्णागण्डकी, कालीगण्डकी, गण्डकी, काली आदि नामले चिनिने कालीगण्डकी धार्मिक हिसाबले अति महत्वपूर्ण मानिन्छ ।

    हिन्दू र बौद्ध धर्मको संयुक्त आस्था बोकेको मुक्तिनाथदेखि देवघाट जोड्ने यो नदी शालिग्राम पाइने संसारको एक मात्र नदी हुनुका साथै संसारकै गहिरो गल्छी भएर बग्ने नदी पनि हो ।

    यो नदीसँग सम्बन्धित भएर मुक्तिनाथ, गलेश्वरधाम, रिडीको रुरुक्षेत्र, सेतिबेनी, उत्तरगंगा, रामघाट, देवघाट र त्रिवेणीधाम–वाल्मीकि आश्रम जस्ता महत्वपूर्ण धार्मिकस्थलको स्थापनाको भएको छ । कालीगण्डकीको जलप्रणालीबाट सिंचित हुने जमीनको क्षेत्रफल १७९०० वर्ग किलोमिटर रहेको छ साथै यसको कुल लम्बाई ८१४ किलोमिटर छ भने नेपालभित्र करिब ५०० किलोमिटर रहेको छ ।

    जैविक विविधतामा असर
    नदीको ठूलो मात्रामा पानी डाइभर्सन गराउँदा, नदीसँग सम्बन्धित सम्पूर्ण परिस्थितिक प्रणालीमा नकारात्मक असर गर्छ । नदीले जलीय जीव तथा वनस्पतिको लागि वासस्थान, सन्तान बृद्धि गर्ने ठाउँ र खाना उपलब्ध गराउँछ ।

    त्यस्तै जमिनमा बस्ने केही जनावर तथा चराको खाना नदीमा पाइने माछा तथा अन्य जीव÷विरुवामा निर्भर रहन्छन् । त्यसैले नदी जैविक विविधताको अति नै महत्वपूर्ण हिस्सा हो ।

    सन् १९९९ मा दक्षिण उत्तर करिडोरको रुपमा चितवन अन्नपूर्ण भूपरिधि क्षेत्र पहिचान गरिएको थियो, जसलाई प्राकृतिक करिडोर पनि भनिन्छ । यो भूपरिधि जैविक विविधताले भरिपूर्ण रहेकोले नेपाल सरकारको प्रत्यक्ष निगरानीमा संरक्षण हुदैँ आएको छ ।

    यो भूपरिधिमा ४० भन्दा धेरै प्रवासी चरासहित ५०० भन्दा बढी प्रजातिका चरा पाइन्छन् । धेरै चराहरु जाडो मौसममा बसाई सरी यहि भूपरिधिमा आउने गरेका प्रमाणहरु विभिन्न प्रतिवेदन उल्लेख छन् । त्यस्तै नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर पनि यही भूपरिधिभित्र पाइन्छ ।

    सन् १९८६ मा गरिएको एक अध्ययनले कालीगण्डकी नदीको १०० मिटर देखि ३००० मिटर समुन्द्री सतह उचाई अन्तरमा १११ प्रजातिका माछा पाइने उल्लेख गरेको छ । त्यस्तै अन्य जीव तथा महत्वपूर्ण बनस्पति यो भूपरिधिभित्र पाइन्छन् ।

    विश्व वन्यजन्तु कोष नेपालको एक प्रतिवेदनमा चितवन अन्नपूर्ण भूपरिधि क्षेत्र अन्तर्गतको कालीगण्डकी र अन्य सहायक नदीमा निर्माण हुने ड्याम तथा जलविद्युत परियोजनाहरुले नदीजन्य जलको जैविक विविधता संरक्षणमा ह्रास पुर्याउने देखाएका छन् ।

    कालीगण्डकी तिनाउ डाइभर्सनमा प्रस्ताव गरिएको ड्याम राम्दीदेखि देवघाट करिव १२८ किलोमिटर नदी र सेरोफेरो पनि चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रभित्र पर्दछ । त्यसैले उल्लेखित चरा, माछा लगायत सम्पूर्ण जीवत्वलाई यो डाइभर्सनले नकारात्मक असर गर्दछ ।

    सामाजिक आर्थिक क्षेत्रमा असर
    कालीगण्डकीको दायाबायामा प्रशस्त मात्रामा सिमसार क्षेत्र रहेका छन्, जसलाई स्थानीयहरु ढाब खेत भन्छन् (छिप छिप पानी हुने जमिन) । यी ढाब खेतहरुमा हिउँद÷वर्षा दुवै ऋतुमा मुख्य गरी धान खेती हुन्छ । साथै यस्ता सिमसार क्षेत्र वरपर प्रसस्त मूलहरु हुन्छन् । नदीका तटमा हुने मूलहरु त्यहाँका स्थानीयले पिउने पानीको रुपमा प्रयोग गर्छन् । डाइभर्सन भएर दुइतिहाई पानी तिनाउ नदीमा लैजादा, यस्ता ढाब खेतहरु पूर्ण रुपमा सुक्ने, खानेपानीका मुहान सुक्ने आदि समस्या उत्पन्न भई कृषि उत्पादन नहुने र खाने पानी अभाबमा त्यहाँ जनताले ठाउँ नै छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ । त्यस्तैगरी माछा मारेर गुजारा चलाउने समुदाय पनि विस्तापित हुन्छन् ।

    उदाहरणको रुपमा विश्वकै ठूलो नदी डाइभर्सन चीनको यल्लो र यान्छी नदी डाइभर्सनलाई लिन सकिन्छ । भलै आयोजना ठूलै भएपनि कार्यन्वयनमा आएपछि ड्याम तलको परिस्थितिक प्रणालीमा नकारात्मक असर देखिन थाल्यो । यसका साथै नदीमा आश्रित करिब तीन लाख जनसंख्यालाई नदी डाइभर्सनले गर्दा पुनः स्थापना गराउनु परेको थियो ।

    अर्को महत्वपूर्ण कुरा नदीमा पानीको बहाव लगभग पूर्ण रुपमा घटेपछि नदीजन्य ढुङ्गा, गिटी र बलुवाको उत्खनन् अत्याधिक बढ्न जानेछ । जसको असर नदीको धार अनिश्चित भई मनसुन सिजनमा बाढी पहिरो बढ्न गई ठूलो जनधनको क्षति हुनेछ ।

    images

    विकल्प
    यस आयोजनाको उद्देश्य १०४ मेगावाट जलविद्युत उत्पादन गर्ने र रुपन्देही र कपिलवस्तु ६३३०० हेक्टर जमिन सिंचाई गर्नुरहेको छ । जलविद्युत उत्पादनलाई छोड्ने हो भने, बाणगंगा सिंचाई आयोजना, भैरहवा लुम्बिनी भूमिगत जल सिंचाई आयोजना, मर्चवार लिफ्ट सिंचाई आयोजना र १६÷३६ कुलो सिंचाई आयोजना मुख्य रुपमा संचालनमा छन्, जसले उक्त क्षेत्रको ४३३०० हेक्टर जमिन सिंचाई गर्छ । यसमा २७४०० हेक्टर जमिन सतही पानी र १५९०० हेक्टर जमिनमुनिको पानीले सिंचाई हुँदै आएको छ ।

    रुपन्देही र कपिलवस्तुमा रहेका नदी खोलामध्ये पश्चिममा बाणगंगा मध्ये भागमा तिनाउ नदी र पूर्वमा रोहिणी नदि छन् । यी नदीको पानीलाई उचितरुपले प्रयोग गर्न सके थप जमिन सिंचाई गर्न सकिन्छ । त्यसै कपिलवस्तुमा भएको जगदीशपुर ताल जस्तै धेरै ठाउँ, कृत्रिम पोखरी निर्माण गरी बर्षात्को पानी जम्मा गरेर पनि सिंचाई गर्न सकिन्छ ।

    नेपालको तराई क्षेत्रमा प्रसस्त भूमिगत पानी रहेको र उक्त पानीको उचित सदुपयोग भएमा आधा तराई सिंचाई हुनसक्ने विभिन्न अध्ययन तथा प्रतिवेदनले देखाएका छन्, जसको सही व्यवस्थापन भएमा दीगो सिंचाई हुनेछ ।

    अध्ययन अनुसन्धान
    कालीगण्डकी शालिकग्रामको लागि प्रशिद्ध नदी हो । हिन्दू धर्मले शालिकग्रामलाई बिष्णु भगवानको रुपमा पुजा गरेपनि बिज्ञानले जिवाशेषको रुपमा लिन्छ । कालीगण्डकीको मुहानतिर केही अनुसन्धान सुरु भए पनि विस्तृत रुपमा अगाडि बढ्न सकेको छैन । यी शालिकग्राम संगै कालीगण्डकीले हजारौं वर्षदेखि बोकेको सभ्यताको गहन अध्ययन हुनु आवश्यक छ ।

    साथै कालीगण्डकी तिनाउ डाइभर्सनमा सिंचाई र जलविद्युतको मिठो सपना मात्र देखेर हुदैन । कुनै पनि आयोजनाको सकारात्मक साथै नकारात्मक प्रभाव पनि हुन्छन्, जुन आयोजना परिकल्पना गर्दा देखि आउनु पर्ने हो ।

    शहरीकरण बढ्दै गरेको रुपन्देही र कपिलवस्तुलाई हराबरा बनाउन प्रस्तावित ड्याम तलको नदीमा आश्रित जनसंख्या, परिस्थितिक प्रणाली, धार्मिक सम्पदा आदिको पूर्ण बेवास्ता गरेर योजना अगाडि बढाउनु कसरी न्यायिक हुन सक्छ ।

    त्यसैले ड्याम तलको नदीको स्वास्थ्य अवस्था, प्रभावित जनसंख्या र पारिस्थितिक प्रणालीको अध्ययन तथा उचित व्यवस्थापन नगरी योजना अगाडी बढाउन हुदैन ।

    र यो पनि
    कालीगण्डकीको शिरदेखि पुछारसम्म दायावायाँ तटीय क्षेत्रमा विभिन्न बस्ती तथा समथर भूभाग जस्तै बेनी, रुरु, चापाकोट, रामपुर, बैडी, अत्रौली पुट्टार, डेडगाउँ, बुलिंगटार छन् । यी समथर भूभागमा दिनानु दिन जनसंख्या बढी रहेको छ ।

    जनसंख्या वृद्धिले भएको अव्यवस्थित बसोबासले सिर्जित फोहोर कालीगण्डकीमा फ्याक्ने काम बढेको छ, यो कार्य प्रत्येक पालिकाले नीतिगत र व्यवहारिक रुप रोक्नु पर्छ ।

    अर्को महत्वपूर्ण कुरा भनेको कालीगण्डकीको दोहन तुरुन्त रोक्नुपर्छ । ठाउँ ठाउँमा कालीगण्डकीको तिर चिथोरेको देखिन्छ, जसले गर्दा कति ठाउँमा नदीले धार नै परिवर्तन गरेको छ ।

    त्यसैले देखाउन मात्र गरिने वातावरण परिक्षणले कालीगण्डकीको अस्तित्व संरक्षण हुदैन । शालिग्राम पाइने नदीको महत्व धार्मिक हिसावले मात्र नभएर बैज्ञानिक हिसाबले पनि छ । जसको लागि प्रत्येक ढुङ्गा शालिग्राम सरह मानेर अध्ययन अनुसन्धान अगाडि बढाउनु पर्छ । त्यसको लागि प्रत्येक पालिकाले तुरुन्त जथाभावी गिट्टी, बालुवा र ढुङ्गा निकाल्ने काम रोक्नु पर्छ ।

    (लेखक जलवायु परिवर्तनसंग सम्वन्धित विभिन्न अनुसन्धानमा आवद्ध हुनुहुन्छ )

    प्रकाशित मिति :असार १५, २०७८ मंगलबार - १९:१६:१० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology