Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस महाधिवेसनः विपि सपनाको आधुनिक भर्सनको खोजी

काँग्रेस महाधिवेसनः विपि सपनाको आधुनिक भर्सनको खोजी

कालीगण्डकी खबर

१४, कात्तिक २०७८
  • 1.6K
    SHARES
  • काँग्रेस महाधिवेसनः विपि सपनाको आधुनिक भर्सनको खोजी

    अजित क्षेत्री । 
    समान विचार, समान उद्देश्य बोक्नेहरुको समुह जोसँग सांगठनिक संरचना हुन्छ, समान सपना बोक्छन् अर्थात वैचारिक रुपमा स्पष्ट हुन्छन् उनीहरुको संगठित हुने आधार, विचार हुनेछ । विचारप्रति संगठितहरु निष्ठापुर्वक लाग्नेछन् भन्ने आधारमा विपि कोइरालाले प्रतिपादित गर्नुभएको प्रजातान्त्रिक समाजवादलाई आफ्नो पार्टीको जीवन मानी नेपालबाट गरिबीको अन्त्य, विभेदको अन्त्य, नागरिक स्वतन्त्रता मानवअधिकारको सुनिश्चितता, प्रजातान्त्रिक शासन व्यवस्थाद्वारा नेपाल र स्वाभिमानी सक्षम नेपाली “हरेक नेपालीको घरमा दुहुनो गाई, रोजगारी, बिरामी हुँदा औषधीमुलो गर्ने थोरै रकम, छोराछोरीलाई शिक्षा दिन सक्ने नेपाली माटो सुहाउँदो प्रजातन्त्र र समाजवादको सपनाको उद्देश्य बोकेर नेपाली काँग्रेसको स्थापना भएको गौरवशाली इतिहास रहंदै आएको छ ।

    images

    नेपाली काँग्रेस १४औं महाधिवेशनको प्रक्रियामा अगाडि बढिरहँदा मुलुक र नेपाली जनमनमा चासो–चिन्तन विचार विमर्सको सवाल राष्ट्रिय हित, सर्र्वािङ्खण विकास, जनाधिकार विसं.२००७ सालदेखि विभिन्न चरणका आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै नेपालीहरुको आमचाहना अनुरुप विकास, समृद्धि, राष्ट्रिय स्वाभिमानको रक्षा सँगसँगै जनजीविकाका हरेक सवालहरुमा काँग्रेसले लिने नीति र काँग्रेसमा आउने नेतृत्वले प्रत्यक्ष असर गर्नेछ भन्ने आम बुझाइसहित भइरहेको सकारात्मक खवरदारी निश्चय नै नेपाली काँग्रेसका निम्ति संजीवनी बुटि कै सरह कार्य गर्ने हैसियत राख्दछ । 

    आगामी महाधिवेसनको एजेण्डाको छलफल सुरु गर्दा नेपाली काँग्रेसको गत निर्वाचनको घोषणापत्र, महासमिति बैठकका वैचारिक निष्कर्ष र काँग्रेस केन्द्रीय समितिमा भएका समसामयिक चिन्तन बहस, दस्तावेजहरु साथसाथै राखेर काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान, समतामूलक नेपाल र खुसी नेपालीका लागि काँग्रसको रोडम्याप कस्तो हुनेछ भन्ने परिकल्पना नै काँग्रेसको महाधिवेसनको वैचारिक चिन्तन र कार्यनीति हुनेछ ।

    त्यसैले महाधिवेसनले नेता छान्न मात्रै होइन समाज रुपान्तरणको स्पष्ट मार्गचित्र पनि दिनुपर्दछ भन्ने आवाज उठाइएको छ । विपि. कोइरालाको वैचारिक चिन्तनबाट सिंचित नेपाली काँग्रेसले आफ्नो राजनीतिक आर्दश, सिद्धान्त, प्रजातान्त्रिक समाजवाद, लोक कल्याणकारी राज्य र विभिन्न राजनीतिक आन्दोलनहरुबाट प्राप्त गरिएका उपलब्धिहरुको संरक्षण र बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको विषय आफ्नो विधानमा नै स्पष्ट उल्लेख गरि राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आर्दश मान्ने हुँदा अरु राजनीतिक दलभन्दा राजनीतिक वैचारिक विषयमा भने अत्यन्त स्पष्ट र निर्विवादित रहेको छ ।

    आर्थिक समृद्धि, सामाजिक न्याय र समसामयिक एजेण्डा÷विचार ÷नीति कार्यक्रममा पनि स्पष्टताको खोजी गर्दै पछिल्लो दस्तावेजहरु अध्ययन गर्दा पछिल्लो महाधिवेसनमा छलफलको विषयमा गएको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको खण्ड दुईमा राष्ट्रिय पुनर्जागरणको नयाँयुग सुरु गर्ने र समावेशी लोकतन्त्र, मानवअधिकार, आर्थिक समृद्धिको अभियान, अध्यात्मिक सांस्कृतिक वैभव, युवा जनशक्ति, प्रविधि र आधुनिक नेपालको परिकल्पना, जल–जडि–बुटि–जमिन र जैविक विविधताको पूर्ण उपयोग तथा संरक्षण, पर्यटन प्रवद्र्धन र औद्योगिक क्रान्ति, छिमेकी मुलुकसँग सम्मानजनक सम्बन्ध र सहकार्यको आधारमा राष्ट्रिय पुनर्जागरणको नयाँ युग नेपाली काँग्रेसले प्रारम्भ गर्ने परिकल्पना गरेको थियो ।

    आफ्नो पार्टीको प्रमुख मुद्धाहरुमा कम्युनिष्ट अतिवाद र साम्प्रादायिक तथा भ्रष्ट प्रवृतिलाई परास्त गर्दै असल शासन प्रत्याभुत गर्ने मध्यमार्गी लोकतन्त्र, रोजगारी वृद्धि गर्न आगामी दशक राष्ट्रिय पुनर्जागरणको युग बनाउन स्वदेशी तथा विदेशी लगानी परिचालन, नीतिमा परिवर्तन, समय सुहाउँदो शिक्षा, अभुतपुर्व पुर्वाधार निर्माण गरि नेपाली युवाहरुलाई रोजगारी दिने राष्ट्रिय आय बढाउने, गरिवीको अन्त्य गर्ने, लोककल्याणकारी राज्यमार्फत विपि कोइरालाको आर्दश अनरुप प्रजातान्त्रिक समाजवादी दृष्टिले शिक्षा, स्वास्थ्य सेवा, आधारभुत आवश्यकता तथा सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने इच्छा काँग्रेसको घोषणापत्रमा उल्लेख गरिएको थियो ।

    देशलाई जोड्ने संघीयता स्रोत साधन, क्षमता र जवाफदेहिता सहितको स्थानीय तह, प्रदेश र संघीय सरकार मार्फत शान्ति स्थिरता, समृद्धि, विकास प्राप्तिका लागि नेपाली काँग्रेसको दृष्टि उच्च र दिगो आर्थिक वृद्धि, सामाजिक धार्मिक सद्भाव, सबैको सार्वभौमिकताको सम्मान, काँग्रेसको जीत सबैको हितजस्ता नारा र एजेण्डामा विश्वव्यापीकरण र प्रविधिको आजको युगमा अबको शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको अवसरमा समानुपातिक वितरण, भौतिक विकासको मोडल जहाँ आजको दैनिकी र सयौं वर्ष पछिको नेपालको कल्पना समेत नेपाली काँग्रेसको केन्द्रीय महाधिवेसनमा छलफल गर्नुपर्ने विषय हुन् ।

    सारमा भन्नुपर्दा, काँग्रेसको पछिल्ला महाधिवेसनले नेतृत्व त छनौट गर्दै आएको छ, तर वैचारिक स्पष्टता, जनसरोकारका मुद्धाहरुलाई न्यायदिने विषयलाई कम प्राथमिकतामा राख्ने हो कि भन्ने आमबौद्धिक समुहको चिन्ता रहेको छ, किनकि आज काँग्रेसको महाधिवेसनले हिजो विसं २००३ मा राणाहरुको अतिवाद, निरकुंश शासनविरुद्ध क्रान्ति गर्न सफल भई वि.स. २०१२ सालको आफ्नो पार्टीको महाधिवेसन मार्फत दुहुनो गाई, औषधीमुलो गर्ने क्षमता सहितको जुन प्रजातान्त्रिक समाजवादी दृष्टिकोण विपि कोइरालाले राख्नुहुन्थ्यो त्यसको आधुनिक भर्सनको स्पष्टनारा, सपना, दृष्टिकोण, एजेण्डा नेपाली समाजले खोजेको छ । विपि कोइरालाले योजना आयोगमा किसानको च्यातिएको टोपी सहितको तस्बिर राख्नु र त्यही किसानको हितमा एजेण्डा बनाउनु अर्थात् आम नेपालीको सपना पुरा गर्ने उद्देश्य बोक्न, अप्ठ्यारोमा नेपाली माटो छोएर निर्णय गर्नु भन्ने विषयको गम्भीर्यता र विचारको प्रष्टता दिन सक्ने नीति, कार्यक्रमको खोजी १४औं महाधिवेसनको पनि महत्वपूर्ण कार्यभार हुनेछ ।

    विचार भनेको हिड्ने बाटो हो नेतृत्व विचार बिनाको बनाउनु भनेको भीरमा मोटर बाटो नखनिकन मोटर गुडाउनु जस्तै हो । विपिको एउटा चर्चित भनाइ छ, “हामीले सिद्धान्त त्यागेर कसैसँग पनि संझौता गर्नु हुँदैन, देश भन्नुस या राष्ट्र त्यो भुगोल होइन्, यथार्थमा जनता हो । राष्ट्रियता माटो होइन्, जनताको सामुहिक भावना र विचार हो ।” विचार बिनाको नेतृत्व, गन्तव्य बिनाको यात्राजस्तै हुन्छ । तसर्थ नेपाली काँग्रेसको १४औं महाधिवेसन प्रजातान्त्रिक समाजवादको स्पष्ट व्याख्या, नीतिकार्यक्रममाथि पर्याप्त छलफल गरि विपिको  समयमा काँग्रेसलाई लोकप्रिय बनाएका समय सुहाउँदो समाजवाद बुझाउने उदाहरणलाई आजको नेपालीले बुझ्ने गरि “दुहुनो गाई, औषधीमुलो .... को आधुनिक भर्सन” विचारसहितको नेतृत्व छनौट गर्न सफल रहोस् । 
    शुभकामना  !
    (लेखक नेविसंघ स्याङ्जाको जिल्ला सभापति हुनुहुन्छ ।)  

    प्रकाशित मिति :कात्तिक १४, २०७८ आइतबार - १७:५१:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology