न्याय किनबेच भइरहँदा
मैले भनेकै हो
यो पसल होइन मित्र
जनता अन्यायमा पर्दा
मैले भनेकै हो
न्यायालय छैन कि क्या हो ?
पटक पटक
नागरिक बन्न
रैतीले गरेको आन्दोलन
सफल बन्यो
बदल्न व्यवस्था ।
अवस्था सुधार्न बसेका
सम्पत्ति छानविन नहुने
महाशयहरुको
अकुत कमाउने धन्दाले
आज हेरिनसक्नु
दृष्य देखिन्छ कताकता ।
म नागरिक हुन चाहान्छु
सनकी शासक हत्या गर्न खोज्छ अधिकार
म चाहान्छु
पुनः नागरिक बन्न
मलाई सघाउने न्यायालय
अखडा जस्तै भएछ
अर्को धन्दाको
फोहोरमैला जमेछ
हेर त !
रामशाह पथ
हेर्दा हेर्दै
द्रव्य पथ बनेछ
हेर्दा हेर्दै
जनताको मुद्दा नहेर्ने
न्यायपूर्ण आवाज नसुन्ने
आफ्नै पूरक अङ्ग
बारलाई नटेर्ने
कस्तो न कस्तो
स्वाँठ जस्तो
कस्तो न कस्तो
छाडा साँढे जस्तो
कस्तो न कस्तो
भक्षक जस्तो
खै ।
के परिचय दिऊँ ?
परिचय मेटिएको
शासक जस्तो
निरङ्कुशता विरुद्ध बोल्नुपर्ने
तथापि
आफै निरङश अभ्यास गर्ने
अनौठो
परिभाषा गर्ने नसक्ने
आशाले हेर्ने नपाइने
जनताको पहुँचले
नभ्याउने
हामीले भन्ने गरेको
हाम्रो न्यायालय
छुटाउनु छ यो
घटेको – बगेको पहिचानबाट
हाम्रो न्यायालय ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।