Logo

बुधबार, मंसिर १५ गते २०७८

अग्निपीडितले भनेः गाँस, बाँस, कपास चाहियो मुख्यमन्त्रीज्यू !

अग्निपीडितले भनेः गाँस, बाँस, कपास चाहियो मुख्यमन्त्रीज्यू !

कालीगण्डकी खबर

१, मंसिर २०७८
  • 262
    SHARES
  • अग्निपीडितले भनेः गाँस, बाँस, कपास चाहियो मुख्यमन्त्रीज्यू !

    कर्णाली, १ मङ्सिर । गत कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौँको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा बढी नागरिक विस्थापित भए । 
     
    त्यही समस्यालाई तत्काल सम्बोधनका लागि मङ्गलबार मुख्यमन्त्री जीवनबहादुर शाही राहत लिएर मुगु जाने तयारी गरे पनि प्राविधिक कारण जानु सक्नुभएन । 

    आज बिहान ८ः३० बजे भने ३०० थान कम्बल, एक÷एक सय थान स्वीटर र ज्याकेट, ७० केजीको २१ थान टेण्ट लिएर मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोली सदरमुकाम गमगढी पुग्यो ।

    images

    पीडित परिवारलाई प्रदेश सरकारले सुर्खेतबाट लिएको राहत वितरण गर्यो । निकै जाडो बढेको मङ्सिरको समयमा बास, कपास र गाँस नै सकिने गरी क्षति बेहोरेका अग्निपीडित प्रदेश सरकारको टोली त्यहाँ पुग्दा चिसोले थरथर कामिरहेका थिए । सरकार त्यहाँ पुगेपछि निकै आशा र भरोसाका साथ केही पाउने ध्याउन्नमा पीडित लामबद्ध भए ।

    मुख्यमन्त्री शाहीसहितको टोली त्यहाँ पुगेर पीडित सबैको अवस्था बुझ्न खोज्दा पीडितबीच केहीबेर रुवाबासी नै चल्यो । धनमालसहित घर पूर्णरूपले जलेका परिवारहरुले रुँदै भने, “यो कठ्याङ्ग्रिने जाडोमा सबै जलेर खरानी भयो । हिजोदेखि हामी सुकुम्बासी भइसक्यौँ । अब जतिसक्दो छिटो गाँस, बास र कपास चाहियो, मुख्यमन्त्रीज्यू १ 

    अग्निपीडित ठिन्ले लामा, झोम्बा, एङ्गल लामा, रतनबहादुर, जानबहादुर शाहीलगायतले जीवन सडकमा गएको पीडा पोख्दै मुख्यमन्त्री शाहीसमक्ष गाँस, बास र कपासको व्यवस्थापनका लागि अनुरोध गरेका थिए । मुख्यमन्त्री शाहीले जनताको पीडा दुःखमा साथ दिँदै व्यवस्थापनका लागि प्रदेश सरकारले जतिसक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।

    पीडितका बारेमा छलफल गर्दा जनता आवास कार्यक्रमबाट सहयोग गर्नुपर्दछ भन्ने कुरा निस्केको तर यसबारे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर टुङ्गो लगाउने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । “हामीले त्यहाँ पुग्दा २५ घर जलेको भन्ने विवरण आयो, तथापि त्यहाँको यथार्थ विवरण पठाउन जिल्ला प्रशासन कार्यालय मुगुलाई निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो ।

    उहाँले त्यहाँका पीडितको समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको समन्वयमा मारवाडी समिति काठमाडौँले मुगुका अग्निपीडितलाई लत्ताकपडासहित रु दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । पीडितको यथार्थ तथ्याङ्क सङ्कलनका लागि टोली खटिएको उहाँको भनाइ थियो । 

    मुख्यमन्त्री शाहीसहित नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यसहितको प्रदेश सरकारको टोली मुगु पुगेर आजै राजधानी सुर्खेत फर्केको छ । 

    प्रकाशित मिति :मंसिर १, २०७८ बुधबार - २१:१७:१३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology