Logo

बुधबार, मंसिर १५ गते २०७८

पाल्पा काँग्रेसको जिल्ला सभापतिमा अधिकारीको चर्चा

पाल्पा काँग्रेसको जिल्ला सभापतिमा अधिकारीको चर्चा

कालीगण्डकी खबर

९, मंसिर २०७८
  • 2.6K
    SHARES
  • पाल्पा काँग्रेसको जिल्ला सभापतिमा अधिकारीको चर्चा

    पाल्पा, ९ मङ्सिर । देशभर काँग्रेसको केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला पाल्पा काँग्रेसले भने वर्तमान केन्द्रीय नेतृत्वलाई झापड हुनेगरी नेतृत्व चयन गरेको छ ।

    पाल्पाका दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित ५२ महाधिवेशन प्रतिनिधिमध्ये ३ जनामात्रै संस्थापन देउवा पक्षका छन् भने बाँकी इतर समूहका रहेका छन् । 

    यसरी केन्द्रीय नेतृत्व परिवर्तन गराउनेगरी जिल्लाको नतिजा आउनुमा मुख्य भूमिका जिल्ला सभापति तथा प्रदेश मन्त्री विर बहादुर रानाको प्रष्टै देखिन्छ । 

    images

    उहाँको जुझारुपन, कमाण्डीङ स्वभाव र सक्रियताले नै पाल्पा काँग्रेसलाई संस्थापन इतरबाट बलियो बनाएको हो ।  उहाँ काँग्रेसको जिल्ला सभापति राजन पन्त भएको बेलामा काँग्रेसको जिल्लास्तरीय राजनीतिमा उदाउनु भएको हो । 

    रानाको क्षमता र शैलीका कारण आफुहरुको राजनीति धरापमा पर्ने ठानेर त्यति बेला रानालाई एक्ल्याएर पत्तासाफ पार्न जिल्ला सभापति पन्तलगायतको टिम लागेको थियो ।

    तर मगर समुदायको बाहुल्यता रहेको पाल्पामा मगर समुदायबाटै आएको र क्षमता पनि भएको विर बहादुर रानालाई एक्ल्याउन हुदैँन भन्ने निश्कर्ष निकालेर पन्त समूहकै कृष्णप्रसाद अधिकारीले एकाएक रानालाई साथ दिनुभयो । 

    तत्कालिन जिल्ला सचिव समेत रहनुभएका अधिकारीको दवावपछि पन्तले पनि सहयोग गर्न बाध्य हुनुभयो र राना चमत्कारिक तारिकाले काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । 

    त्यसपछि पाल्पामा काँग्रेसको चहलपहल र संगठन नै बेग्लै भएको छ । त्यसको मुख्य श्रेय अधिकारीको त्यसबेलाको सुझबुझपूर्ण निणर्यलाई दिनुपर्ने यहीँका नेता कार्यकर्ता बताउँछन् ।

    त्यति बेला रानलाई सभापति बनाउन निर्णयक भूमिका खेल्नुभएका कृष्णप्रसाद अधिकारी नै अहिले सभापतिका आकांक्षी देखिएका छन् ।
    अहिले अधिकारीले रानाको निर्णयक सहयोगको अपेक्षा गर्नुभएको छ । नेता अधिकारीले रानाको टिमभन्दा बाहिर गएर आफुले कहिल्यै केही नगर्ने अठोट व्यक्त गर्दै राना समुहबाट जिल्ला सभापतिको उम्मेदवार बन्ने कोसिश गर्नुभएको छ । 

    राजनीतिमा आफुभन्दा जुनियर भएपनि सभापति भएपछि रानालाई दुवै कार्यकालमा अधिकारीले पूर्ण रुपमा सहयोग गर्दै आउनुभएको थियो । 

     “अहिले पाल्पा काँग्रेसमा देखिएको चहलपहलको पछाडि कृष्ण अधिकारीको महत्वपूर्ण भुमिका छ,” एक नेताले भने, “वास्तवमा उहाँले त्यतिबेला यो लाइन अघि सार्दा उहाँलाई नै एक्लो बनाउने अवस्था आएको थियो । अघिल्लो महाधिवेशन प्रतिनिधिमा उहाँलाई नै हराउने योजना बनेको थियो । तर अहिले त्यही लाइन बलियो भयो । रानाकै नेतृत्वमा रहेको टिमले पाल्पा काँग्रेसमा सुधार ल्यायो ।”

    अधिकारी २०६२-६३ को जनआन्दोलनमा पनि पाल्पाबाट पार्टीको निणर्यअनुसार सबैभन्दा पहिला गिरफ्तारी दिने नेता हुनुहुन्छ ।
    “यो काम पनि उहाँले पार्टीको निणर्यअनुसार गर्नुभएको थियो,” ती नेताले भने, “सादा जीवन उच्च विचारका धनी अधिकारीजस्तै नेताले पाल्पा काँग्रेसको अब नेतृत्व लिनुपर्छ ।”

    कम्युनिष्टको गढ मानिएको पूर्वी पाल्पामा अधिकारी काँग्रेसका यस्ता सिपाही हुन्, जो निरन्तर काँग्रेस बचाउन झोला बोकेर गाउँ गाउँ डुलिरहे । सरकारी जागिर छाडेर ३५ वर्षअघि पञ्चायतविरुद्धको राजनीतिमा होमिनुभएका अधिकारी काँग्रेसका हरेक आन्दोलन र गतिविधिमा अग्रमोर्चामा देखिने नेता हुनुहुन्छ ।

    पाल्पा काँग्रेसमा जिल्ला सचिव र उपसभापति हुनुभएका अधिकारी सभापतिका स्वभाविक दावेदार मानिन्छन । व्यक्तिगत योगदान, व्यक्तिगत छवि, बरिष्ठता, सक्रियतालगायतका हरेक हिसावले अधिकारीलाई सभापति बनाउनु न्यायोजित र उपयुक्त हुने पाल्पा काँग्रेसका अधिकांश कार्यकर्ताहरुको भनाई छ ।

    यो पनि पढ्नुहोस् :- कांग्रेस महाधिवेशन : पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहीबार - १०:०३:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology