Logo

बुधबार, जेठ ११ गते २०७९

समीक्षा: दलित इतिहासको सन्दर्भ–सामग्री

समीक्षा: दलित इतिहासको सन्दर्भ–सामग्री

तेजविलास

३, पुस २०७८
  • 1.3K
    SHARES
  • समीक्षा: दलित इतिहासको सन्दर्भ–सामग्री

    नेपाली साहित्य र संस्कृतिको अध्ययन र अनुसन्धानमा लागेका दुई जना लेखक रणेन्द्र बराली र डिडी अधिकारीले झण्डै डेढ दशक यता निरन्तर दलित साहित्य र यसको सौन्दर्यशास्त्रमाथि बहस चलाइरहेका छन् । बराली संस्कृतिकर्मी र संस्कृतिसँग अन्तरसम्बन्ध केलाउन तल्लीन लेखकका रूपमा चिनिन्छन् भने समालोचक डिडी अधिकारी आफ्नो उच्च शिक्षाको अध्ययनमा दलित विषयलाई रुचिसाथ अनुसन्धान गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । यी दुई लेखकको पछिल्लो सहकार्य नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना कार्यमा हुन पुगेको छ । भर्खर मात्र ‘नेपाली दलित साहित्यलेखनको इतिहास’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभागले प्रकाशनमा ल्याएको छ ।

    नेपाली साहित्यभित्र विशुद्ध नेपाली भाषामा लेखिएका साहित्यलाई मात्र स्थान नदिएर नेपालभित्रका सबै राष्ट्र भाषामा लेखिएका साहित्य, संस्कृति र लोकजीवनलाई समावेश गर्नुपर्ने आजको आवश्यकता हो । नेपाली भाषामै लेखिएका र नेपाली संस्कृतिको परिचय र पर्यायका रूपमा रहेको श्रमजीवी जनताको इतिहास अभिरेखाङ्कन गर्ने काम सहज छैन । यस्तो जटिल र संवेदनशील विषयमा राज्यको ध्यान जानु निश्चय नै खुशीको विषय हो । यही यात्रामा थोरै नै भए पनि प्रयास जारी रहेको प्रमाण हेर्न ‘नेपाली दलित साहित्यलेखनको इतिहास’ पढ्नु पर्छ ।

    नेपाली साहित्यको इतिहास जति लामो छ, श्रमको आधारमा विभाजित व्यवस्थाले थपेको पीडा र फाटेको धाँजाको इतिहास अझै लामो छ । यसरी हेर्दा दक्षिण एसियामा मात्र रहेको दलित र गैर दलितको व्यवस्थाले हाम्रो समाजलाई अत्यन्त गम्भीर ढङ्गले असर गरेको छ । एकातिर २०२१ सालको मुलुकी ऐनले छुवाछुत मानवताविरोधी कार्य हो भने पनि र मुलुकी संहिता २०७४ ले समेत त्यसलाई दण्डनीय अपराध मानेर कार्यान्वयनलाई प्रभावकारी बनाउने बाटोमा पर्याप्त सघाउ पु¥याए पनि आज पनि समाजमा जात व्यवस्थाअन्तर्गतको दलित र गैर दलित व्यवहारले सामाजिक अपराध बढाइरहेको छ । समाजमा रहेको यस्तो विरोधाभाषी व्यवहारले कानुनको समेत धज्जी उडाएको छ । यही र यस्तै पृष्ठभूमिमा केही सीमित व्यक्ति समावेशी र समानुपातिकको नाममा राज्यसत्तामा पुग्दा गुणात्मक परिवर्तन देख्न पाइएको छैन ।

    images
    images

    पछिल्ला दिनमा सामाजिक र शैक्षिक चेतना तथा राजनीति परिवर्तन र समावेशी सिद्धान्तका कारण बोल्न डराउने र नसक्नेहरू आज न्यायको निम्ति ढोका ढकढक्याउन पुग्ने भएका छन् । नेपाली समाजको समस्या वर्गीय त हुँदै हो त्यसभित्र पनि जातीय समस्या र त्यसभित्र पनि खिल पल्टेर बसेको दलित गैर दलितको भेद्भाव हाम्रो समाजको कलङ्क नै हो । जबसम्म संस्कृतिमा नवीन चिन्तनको बहसले स्थान पाउँदैन अनि पुराना मान्यता स्थापनाका आधारहरू के–के हुन् र ती कति पूर्वाग्रही छन् भन्ने थाहा हुँदैन तबसम्म सिङ्गो समाजले कोल्टो फेर्दैन । यसका लागि समानताको वकालत गर्ने साहित्य मात्र भएर पुग्दैन समतामूलक चेतना र व्यवहारको अपरिहार्यता रहन्छ । यस्तो कार्यलाई भरथेग गर्ने काम ऐतिहासिक दस्तावेज र सन्दर्भ–सामग्रीहरूले गर्न सक्दछ ।

    नेपाली साहित्यको सन्दर्भ–सामाग्रीको रूपमा आएको ‘नेपाली दलित साहित्यलेखनको इतिहास’ आवरणबाहेक २१२ पृष्ठमा फैलिएको डिमाइ आकारको ग्रन्थको रूपमा २०७७ मा प्रकाशन भई भर्खर बजारमा आएको छ ।

    यस पुस्तकले नेपाली साहित्यभित्र दलित साहित्यको इतिहास खोतल्न मात्र होइन साहित्यमा दलित विषयको विधागत स्थितिलाई पनि सूचित गरेको छ । यस पुस्तकमा साहित्यमा दलित चेतना पहिचानको सैद्धान्तिक आधार, नेपाली साहित्यमा दलित चेतना ऐतिहासिक सर्वेक्षण नेपाली दलित साहित्यको चरण विभाजन, नेपाली साहित्यमा दलित चेतना चरणगत व्याख्या विवेचनाका तीन परिच्छेदका साथै उपसंहार र निष्कर्ष गरी जम्मा सातओटा परिच्छेदमा ग्रन्थले आफ्नो विस्तार क्षेत्र फैलाएको पाइन्छ ।

    book talit history.jpg

    नेपाली भाषामा दलित शब्दको शब्दकोशीय र सामाजिक सन्दर्भसहित मसिनो ढङ्गबाट शुरू गरि नेपाली साहित्यको इतिहासको एउटा दर्दनाक पीडा बोकेर बाँचेको दलित साहित्यको सिङ्गो अध्ययन गर्ने काममा यसले राम्रो विश्लेषणको आधार तय गरेको देखिन्छ । यसै सन्दर्भमा दलित र गैर दलितद्वारा दलित विषयमा लेखिएका पुस्तकाकार कृति मात्र नभएर पत्रपत्रिकासम्मको सूचना यहाँ दिइएको छ । समतामूलक समाजको निर्माणका निम्ति राज्य पक्षले बनाएको कानुनको धज्जी उडाउँदै शासकले गरेका शोषणको फेहरिस्त भित्र पनि अपमान सहेर निरन्तर दलित आवाज शक्तिशाली प्रतिरोधी स्वर बन्न पुगेको विषय यस पुस्तकमा आकर्षित भएको छ ।

    सङ्घर्षले अपमान र भेदभावलाई परास्त गर्ने निष्कर्ष निकाल्दै सर्वप्रथम मान्छेले मान्छेप्रति व्यवहार गरे मात्र मानवद्वेषी यी र यस्ता कलङ्क हराउँदै जानेमा लेखकद्वय सचेत गराउन पुग्छन् । वर्गीय दृष्टिकोणले हेर्दा श्रम गर्ने जाति र व्यक्ति श्रम नगर्नेको तुलनामा बलियो हुनुपर्नेमा श्रमशोषणको मारमा जकडिन परेकाले २००७ सालपूर्वको सन्दर्भ र २०५२ सालपछिका विविध आन्दोलनमा दलितले गरेको योगदानले दलन समस्या मात्र होइन श्रमशोषणको अन्त्यतर्फ समवेत स्वर निकाल्न जोड दिएर पुस्तकले समग्र साहित्यमा दलित साहित्यलाई राम्ररी जोड्ने काम भएको छ ।

    प्रकाशित मिति :पुस ३, २०७८ शनिबार - १२:१९:५२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    तेजविलास

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology