Logo

सोमबार, माघ ३ गते २०७८

नेपालका सामुदायिक अस्पतालको आलोकमा गण्डकी ग्रामीण सामुदायिक अस्पताल

नेपालका सामुदायिक अस्पतालको आलोकमा गण्डकी ग्रामीण सामुदायिक अस्पताल

कालीगण्डकी खबर

७, पुस २०७८
  • 1.3K
    SHARES
  • नेपालका सामुदायिक अस्पतालको आलोकमा गण्डकी ग्रामीण सामुदायिक अस्पताल

    थान प्रसाद पंज्ञानी । समुदायको लगानी, सहभागिता र अग्रसरतामा समुदायका सबै सदस्यहरूलाई सहज पहुँचसहितको प्रभावकारी तथा गुणस्तरीय स्वास्थ सेवा दिने उद्घेश्यले संचालित अस्पताल नै सामुदयिक अस्पताल हुन् । सवै कुरा राज्यले नै गरिदिन्छ भन्ने मान्यताबाट माथि उठी समुदायका अगुवाहरूको आफ्नै पहल र सक्रियतामा समुदायका सदस्यलाई स्वास्थजस्तो महत्वपूर्ण सेवा सहज र सर्बसुलभ ढंगले उपलब्ध गराउने अभिप्रायले देशव्यापी रुपमा नै १०० औं सामुदायिक अस्पतालहरू स्थापना गरिएका छन् । यस्ता सामुदायिक अस्पतालहरूमा राज्यले समेत ठूलै लगानी गरेको छ ।

    images

    स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण तथा मुलुकको विकासको लागि अपरिहार्य शक्ति हो । स्वस्थ तथा शिक्षित नागरिक समाज तथा राष्ट्रको सम्पति हो । राज्यले आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा दिन सक्यो भने मात्र राष्ट्र निर्माणको लागि सवल र  सक्षम नागरिक तयार हुन्छन् । सबल स्वस्थ तथा शिक्षित नागरिकले मात्र समाज र राष्ट्रलाई गतिशिल समुन्नत दिशातर्फ डो¥याउन सक्छन् । सक्षम र स्वस्थ नागरिकको जगमा सबल राष्ट्र निर्माण गर्न सकिन्छ ।

    जनतालाई आधारभूत स्वास्थ सेवा उपलब्ध गराउने सरकारको प्रमुख दायित्व हो । नेपालको बर्तमान संविधानले आधारभूत स्वास्थ सेवालाई मौलिक अधिकारको रुपमा लिएको छ । राज्यले स्वास्थ तथा शिक्षालाई सेवा क्षेत्रको रुपमा विकास गर्दे लैजाने नीति लिएको छ । तथापी अझै पनि सरकारले सबै जनतालाई सहज र सुलभ स्वास्थ सेवा उपलब्ध गराउन भने सकेको छैन । खासगरी ग्रामीण क्षेत्रका जनताले बिरामी हुँदा सामान्य औषधि जीवनजल, सिटामोल तथा न्यूनतम प्राथमिक उपचारसमेत सहज र सुलभ रुपमा  पाउन सकेका छैनन् । गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने कुरा टाढा र पहुँचबाहिरको विषय भएको छ । निजी क्षेत्रले स्वास्थ सेवालाई सेवामुखी भन्दा नाफामुखी बनाउँदै लगेको र राज्यको नियमन कमजोर तथा फितलो हुँदा जनतालाई स्वास्थ सेवा महंगो बन्दै गएको छ ।

    जनतालाई प्रभावकारी स्वास्थ सेवा उपलब्ध गराउनका लागि राज्यको उपयुक्त स्वास्थ नीति, दक्ष डाक्टर तथा स्वाथ्यकर्मी, आधुनिक उपकरण, उपयुक्त भौतिक पूर्वाधारसहितको आवश्यक संख्यामा स्वास्थ संस्था र आवश्यक स्रोतको उपलब्धता तथा कुशल व्यवस्थापन अपरिहार्य हुन्छ । हाम्रो जस्तो सानो आकारको अर्थतन्त्र, न्यून आयस्रोत, न्यून आर्थिक बृद्धिदर र उपलब्ध स्रोतको समुचित परिचालन हुन नसकेको मुलकको लागि खासगरी भौगोलिक विकटता, भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापन गर्न नसक्दा जनताले चाहेअनुसारको सेवा प्राप्त गर्न नसकेको अवस्था विद्यमान रहेको छ । यसरी जनताको माग अपेक्षा तथा चाहाना र सरकारले आफ्ना नागरिकलाई उपलब्ध गराएको स्वास्थ सेवा बीचको ठूलो अन्तरलाई पूरा गर्न देशव्यापी रुपमा स्थापना भएका सामुदायिक अस्पतालहरूले केही मात्रामा भए पनि जनताको स्वास्थ सेवा पाउने मौलिक अधिकारलाई व्यवहारमा उतार्न योगदान पु¥याएका छन् । केहीले उदाहरणीय रुपमा स्वास्थ सेवा दिएका छन् । सरकारको स्वास्थसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयनमा योगदान  गरेका छन् । सानोतिनो रोजगारीको सिर्जना गरी स्थानीय अर्थतन्त्रमा योगदान गरेका छन् ।यसरी नेपालमा सामुदायिक अस्पतालहरूले स्वास्थ सेवामा पु¥याएको योगदान सरकारी कार्यक्रमको कार्यान्वयन ग्रामीण आर्थिक क्रियाकलापमा विस्तार तथा स्थानीय रोजगारी सिर्जनामा खेलेको भूमिकाबाट यसको आवश्यकता र महत्वलाई बुझ्न सकिन्छ ।

    देशव्यापी रुपमा स्थापना भै स्वास्थ सेवा दिइरहेका सामुदायिक अस्पतालहरू विभिन्न समस्याहरूबाट गुज्रिरहेको अवस्था छ । सामुदायिक अस्पतालसम्बन्धी सरकारको स्पष्ट नीति तथा कानुनी व्यवस्था नहुनु, दक्ष चिकित्सकहरू नहुनु, प्रर्याप्त आर्थिक स्रोत नहुनु, भौतिक पूर्वाधार नहुनु, कमजोर नियमन तथा अनुगमन, गुणस्तरीय औषधी नहुनु, स्वास्थ सम्बन्धी कमजोर चेतनास्तर र विभिन्न व्यवस्थापकीय समस्याबाट गुज्रिएको अवस्था छ । सरकारको दायित्वमा पर्ने विषय भए पनि समुदायको अग्रसरतामा स्थापना गरिएका सामुदायिक अस्पतालहरूलाई भौतिक पूर्वाधार तथा स्वास्थसम्बन्धी उपकरणको लागि निश्चित मापदण्डको आधारमा सामुदायिक अस्पतालको परिभाषाभित्र परेका संस्थाहरूलाई सशर्त अनुदानको रुपमा सरकारले केही बजेट उपलब्ध गराउने गरेपनि सहयोगलाई अझ स्पष्ट नीति तथा मापदण्ड आधारित बनाएर सामुदायिक अस्पतालका समग्र समस्यालाई वस्तुगत ढंगले संबोधन गर्ने काम भएको छैन । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी र पटक पटको बन्दाबन्दीले स्रोतसाधन र जनशक्तिको अभाब भै सामुदायिक अस्पतालहरूको संचालन र व्यवस्थापनमा गम्भिर समस्या आएको छ ।

    सामुदायिक अस्पतालहरूले मूलतः आवश्यक स्रोत व्यवथापन कसरी गर्ने ? भौतिक पूर्वाधारको निर्माण कसरी गर्ने ? दक्ष डाक्टर तथा स्वास्थकर्मिको व्यवस्थापन कसरी गर्ने ? संचालित अस्पतालाई कसरी दीगो र भरपर्दो रुपमा सञ्चालन गर्ने ? आधुनिक स्वास्थ उपकरणको कसरी व्यवस्थापन गर्ने ? गुणस्तरीय औषधीहरूको व्यवस्थापन कसरी गर्ने ? जनतालाई आधुनिक प्रविधि अबलम्बन गरी गुणस्तरीय सहज तथा सुलभ स्वास्थ सेवा कसरी दिने ? कोभिड–१९ ले सिर्जना गरेका चुनौतिको सामना कसरी गर्ने ? अस्पतालको सञ्चालनमा समुदायको अपनत्व बोध गराई स्वतस्फुर्तरुपमा जिम्मेवारी र दायित्व लिन तत्पर कसरी बनाउने ? व्यवस्थापनलाई चुस्त छरितो र प्रभावकारी कसरी बनाउने ? भन्ने लगायतका विविध चुनौतिहरूको सामना गर्नुपरिरहेको अवस्था छ ।

    यसै सन्दर्भमा गण्डकी ग्रामीण सामुदायिक अस्पताल चापाकोटले भोगेका समस्या तथा चुनौतीहरू पनि माथि उल्लेख गरिएभन्दा फरक छैनन् । यसका अतिरिक्त यहाँ गण्डकी ग्रामीण सामुदायिक अस्पतालको उद्देश्य, कार्यक्षेत्र, अवस्था र संभावनाको बारेमा समेत केही चर्चा गरिएको छ । २०६६ सालमा गैर नाफामूलक जनहितकारी संस्थाको रुपमा स्थापना भएको यस अस्पताले न्यून आयस्रोत भएका जनतालाई स्वास्थ सेवा उपलब्ध गराउने, संस्थाको कार्यक्षेत्रभित्र पर्ने विभिन्न स्थानमा बसोबास गर्ने स्वास्थसम्बन्धी विभिन्न समस्याबाट पिडित तथा अशक्त व्यक्तिलाई स्थानीय स्तरमा स्वास्थ सेवा र उपचार सेवा सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ठूला अस्पताल एवं स्वास्थसम्बन्धी संस्थाहरूसँग समझदारी सम्पर्क समन्वय र सहयोग आदान प्रदान गरी ग्रामीण समुदायमा चिकित्सकीय एवं शैक्षिक ज्ञान सीप तथा तालिमको व्यवस्था गर्ने, स्वास्थसँग सम्बन्धित विभिन्न सामुदायिक परियोजना स्वास्थ शिविर सञ्चालन गर्ने र सरकारको स्वास्थ नीति विपरित नहुने गरी अस्पताल सञ्चालन गर्ने जस्ता उद्देश्य लिई अघि बढेको छ ।

    कालीगण्डकी नदीले बनाएको महत्वपूर्ण उपत्यका चापाकोट नगरपालिका ९ सुन्तलीटारमा अवस्थित यस अस्पतालले विकास तथा आधुनिक सेवा सुविधाबाट ज्यादै नै पछाडि परेको जनघनत्व बढ्दै गएको सुन्दर तथा रमणीय भूगोल भएको स्याङ्जाको चापाकोट र आसपासका क्षेत्रलाई नै मुख्य कार्यक्षेत्र बनाएको छ । 

    अस्पतालको बर्तमान अवस्था हेर्दा आफ्नै जग्गामा बनेको नेपाल सरकारको शशर्त अनुदान स्रोतबाट निर्माणको अन्तिम चरणमा पुगेको ५० बेडसम्मको अस्पताल सञ्चालन गर्न सकिने ३ तले आधुनिक भवन र आवश्यक स्वास्थ उपकरणहरू रहेर पनि कोभिड–१९ को महामारी तथा पटक पटकको बन्दाबन्दीले गर्दा आवश्यक स्रोत तथा जनशक्तिको अभावले कोभिड–१९ सुरु हुनुभन्दा अघि दिइरहेको नियमित स्वास्थ सेवा तथा उपचारसमेत अवरुद्घ हुन गएको अवस्था छ । विगतमा आँखासम्बन्धी ४ बटा, महिलाको आँङ खस्ने रोगसम्बन्धी १ वटा र विभिन्न रोगको २ वटा स्वास्थ शिविर सञ्चालन गरेको यस अस्पताललाई कोभिड–१९ को कारणले अहिले नियमित सञ्चालनमा ल्याउन नसकिनु दुखद पक्ष हो । यसको सञ्चालनको लागि अस्पतालको स्थापनाकालदेखिनै नेतृत्वदायी भूमिकामा रही सक्रिय रुपले लागि पर्नु भएका समर्पित समाजसेवी हरि पंज्ञानी सर लगाएतको टिमको अथक प्रयास उल्लेखनीय छ । चापाकोटलाई माया गर्ने आफ्नो जन्मभूमीप्रति गौरव गर्ने, आफ्नो गाँउ ठाँउलाई नबिर्सने, समाजको लागि केही गरौँ भन्ने भावना भएका स्वदेश तथा विदेशमा रहेका सबै सहयोगी मन र कर्मठ व्यक्तिहरूको बलियो साथ र सहयोग रहेमा  त्यस क्षेत्रकै सम्पत्तिको रुपमा रहेको सामुदायिक अस्पतालले छिटै नै नियमित रुपमा आफ्नो सेवा सुचारु गरी अगाडि बढ्न सक्छ ।

    यस अस्पतालको भावी संभावनाको बारेमा चर्चा गर्दा यसैबर्षदेखि सिद्घार्थ राजमार्गसँग बालिङ–जगत–केंवरे–किसान–चापाकोट कालोपत्रे सडकसँग जोडिएको छ । छिमेकी जिल्ला पाल्पा रामपुरतर्फ बन्दै गरेको कालीगण्डकी कोरीडोरको कालोपत्रे सडक कालीगण्डकी नदीमा चापाकोट र रामपुरलाई जोड्ने गरी बनिसकेका र बन्दै गरेका ३ वटा मोटरेबल पुलले गर्दा आगामी दिनमा यस अस्पतालले सेवा दिन सक्ने क्षेत्र अझ विस्तार हुँदै जाने अवस्था छ ।अस्पतालले आफ्नो सेवाक्षेत्र विस्तार गर्दै लैजान सकेमा पश्चिममा गल्याङ नगरपालिको पूर्वी भाग, उत्तरमा बालिङ नगरपालिकाको तल्लोभाग र विरुवा गाँउपालिकको दक्षिण भाग, पूर्बमा तनहुँको गजरकोटसम्म र दक्षिणमा कालिगण्डकीले बनाएको उपत्यका रामपुर नगरपालिका पाल्पा सम्मका झण्डै १ लाख भन्दा बढी जनसंख्या बसोबास गर्ने यस क्षेत्रलाई आफ्नो सेवाक्षेत्र बनाई प्रभावकारी स्वास्थ सेवा उपलब्ध गराउने प्रचुर संभाबना रहेकोले त्यस क्षेत्रकै महत्वपूर्ण सामुदायिक अस्पताल बन्न सक्छ । 

    चापाकोट नगरपालिका –१० मा स्थापना भएको किसान वहुप्राविधिक शिक्षालयमा फार्मेशी पढाइको लागि केन्द्रमा निवेदन गरी प्रक्रिया अघि बढेको र यस अस्पताल र चापाकोट नगरपालिकाको सरकारी अस्पतालई नर्सिङका विद्यार्थीले प्राक्टिस गर्ने १०० बेड सम्मको अस्पताल बनाउन सकिएमा प्राविधिक शिक्षालयमा स्टाफ नर्सको पढाइको अनुमति प्राप्त गर्न सकिने हुँदा अस्पताललाई आवश्यक पर्ने स्टाफ नर्स र फार्मेशीको जनशक्ति समेत सहज र दीगो रुपमा उपलब्ध हुने संभावनासमेत रहेको छ । 

    यो अस्पताल सामुदायिक अस्पतालको रुपमा १८ जिल्लालाई कार्यक्षेत्र बनाई प्रभावकारी सेवा दिन सफल धुलिखेल अस्पतालसँग समझदारी, समन्वय तथा सहकार्य गरी अघि बढ्न चाहेको छ । उक्त अस्पतालबाट स्थलगत अवलोकन समेत भई सकारात्मक ढंगले अघि बढेको छ । कोभिड–१९ को कारणले केही ढिलो हुन गएको छ । यसबाट अस्पतालको कुशल सञ्चालन तथा व्यवस्थापन गर्न सकिने, स्वास्थकर्मीहरूलाई तालिम दिन र बेलाबेलामा विज्ञ चिकित्सकीय सेवा प्राप्त गर्न सकिने संभावना समेत रहेको छ । 

    सामुदायिक अस्पतालहरूले माथि उल्लेखित विविध समस्याहरूको समाधान तथा चुनौतिहरूको सामना गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता छ । यसका लागि सामुदायिक अस्पतालसम्बन्धी सरकारको स्पष्ट नीति तथा कानुन बन्न जरुरी छ । मौलिक अधिकारको रुपमा स्थापित आधारभूत स्वास्थ सेवालाई थप विस्तार गर्न संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार तथा निजीक्षेत्र सहकारी तथा सामुदायिक क्षेत्र मिलेर सहकार्यका साथ साझेदारी कार्यक्रम सञ्चालन गर्ने, सार्बजनिक, निजी तथा सामुदायिक स्वास्थ सेवाको गुणस्तर नियमनका लागि जनस्वाथ्य ऐन बनाउने, अस्पताल सञ्चालनको लागि संभव भएसम्म सम्बन्धित क्षेत्रको विज्ञ सहितको सानो चुस्त कामयावी सञ्चालक समिति तथा व्यवस्थापन समिति बनाई पारदर्शी ढंगले ब्यवस्थापन गर्ने, सामुदायिक अस्पतालको लागि आवश्यक चिकित्सक व्यवस्थापन गर्नका लागि सरकारी छात्रवृतिमा पढेका चिकित्सकहरूलाई दुर्गम तथा ग्रामीण क्षेत्रमा गएर अनिवार्य सेवा गर्नुपर्ने नीति लिएजस्तै राजधानी तथा जिल्ला सदरमुकामभन्दा बाहिरका सामुदायिक अस्पतालहरूमा काम गर्न पाउने नीतिगत व्यवस्था गरी वृतिविकासमा त्यस्तो सेवा अवधी गणना हुने व्यवस्था गर्ने र निजी लगानीमा पढेका मेडिकल कलेजबाट उत्पादन भएका चिकित्सकहरूलाई पनि उनीहरूको वृति विकासमा सहयोग पुग्ने गरी सामुदायिक अस्पतालमा काम गर्ने नीतिगत व्यवस्था गर्न आवश्यक देखिन्छ । समुदायमा स्वास्थसम्बन्धी जन चेतनामूलक कार्यक्रम सञ्चालनको लागि सामुदायिक अस्पतालहरूलाई थप क्रियाशिल बनाउन जरुरी छ ।

    सामुदायिक अस्पतालको बजेट व्यवस्थापनको सन्दर्भमा सामुदायिक अस्पतालले स्थानीय समुदायको कति जनतालाई के कस्तो स्वास्थ सेवा पु¥याएको छ ? प्रभावकारी सेवा प्रवाह गर्ने गरी कति भूगोललाई समेट्न सक्छ त्यसको आधारमा संघीय सरकारले शशर्त पूँजीगत अनुदान उपलब्ध गराउने, समुदायबाट उचित स्रोत परिचालन गर्ने सामुदायिक अस्पताललाई विशुद्ध गैर नाफामूलक ढंगले संचालन गर्ने र सेवाग्राहीबाट लिएको शुल्क निश्चित रकम मात्र प्रशासनिक खर्च गरी अस्पतालको विकास र बिस्तारमा खर्च गर्न पाउने व्यवस्था गर्ने, सामुदायिक अस्पताललाई निश्चित आधार र मापदण्ड बनाएर जनसाधारणमा पुर्याउने स्वास्थ सेवा सम्बन्धी कार्यक्रमका लागि स्थानीय तहबाट चालु अनुदान दिने व्यवस्था गर्ने र स्वास्थसम्बन्धी बिमा कार्यक्रममा सामुदायिक अस्पतालहरूलाई पनि सहभागि बनाउने नीति अबलम्बन गर्न आवश्यक देखिन्छ । 

    सारमा भन्नुपर्दा माथि उल्लेखित नीतिगत, कानुनी, व्यवस्थापकीय, बजेट, जनशक्ति, सहकार्य, साझेदारी जस्ता पक्षहरूमा गुणात्मक सुधार गर्दै सामुदायिक अस्पतालबाट प्रदान  गरिने सेवाहरूको नियामक निकायबाट निरन्तर अनुगमन र नियमन गर्ने, अस्पताललाई  सेवाग्राही जनताप्रति जहिले पनि पारदर्शी, जवाफदेही, उतरदायी बनाउने, सहज, गुणस्तरीय सेवा दिने ध्येयका साथ सञ्चालन गर्ने तथा सरोकारवाला सबैको बलियो साथ र सहयोग प्राप्त गरी कुशल सञ्चालन तथा व्यवस्थापन गर्न सकिएमा मात्र सामुदायिक अस्पतालको  सञ्चालनमा दीगोपना तथा विश्वशनीयता बढ्दै जान्छ । स्वस्थ व्यक्ति, स्वस्थ परिवार,  स्वस्थ समाजको अभियान सञ्चालन गरी गुणस्तरीय उपचार तथा स्वास्थ्य सेवा प्रवाह गर्न सकेमा मात्र सामुदायिक अस्पतालको आवश्यकता तथा महत्वलाई पुष्टि गर्न सकिन्छ ।

    .........
    जनसेवा स्मारिकाबाट साभार

    प्रकाशित मिति :पुस ७, २०७८ बुधबार - २०:३३:४९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology