Logo

सोमबार, माघ ३ गते २०७८

चापाकोटमा जलाशयः कृषि र पर्यटन उठाउने मेरुदण्ड

चापाकोटमा जलाशयः कृषि र पर्यटन उठाउने मेरुदण्ड

अर्जुन खनाल

८, पुस २०७८
  • 2.3K
    SHARES
  • चापाकोटमा जलाशयः कृषि र पर्यटन उठाउने मेरुदण्ड

    सरकारले प्रत्येक वर्ष कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हुन्छ । यसरी सरकारले विनियोजन गरेको बजेटबाट धेरै स्थानीय तहले  कृषि अनुदानमा फलफूलका विरुवा, आलुको विउ, बाख्रा र बँगुरका पाठापाठी, भैँसी, राँगो, हाते ट्याक्टर, धानकुट्ने मिललगायत खरिद गरेर किसानहरुलाई वितरण गरेको देखिन्छ भने पर्यटन क्षेत्रमा पार्टी, पौवा, प्रतीक्षालय, मन्दिर, शालिक, भ्यूटावर लगायतको संरचना निर्माण गरेको पाइन्छ ।

    स्थानीय तहहरुले कृषि र पर्यटन दुबैलाई जोडेर दीर्घकालीन आयोजनाहरु निर्माण वा सञ्चालन गरेको पाइदैन । कृषकलाई वितरण गरिने अनुदान वास्तविक कृषकभन्दा टाठा बाठाहरुले बढी लिएको देखिन्छ । यस्ता गतिविधिबाट चापाकोट नगरपालिका पनि अछुत्तो छैन । 

    कृषि
    चापाकोट नगरपालिकामा क्वामी, सेरा, बत्रा, मजुवा, माडी, ज्याग्दी लगायतका फाँटहरुमा बाह्रै महिना खेती हुन्छ । पहाडी क्षेत्रकै लामो (२७ किमि लम्बाई) ज्याग्दी नहर, किसान आँधीघाट सिंचाई नहर बाह्रै महिना र पुराना कुलाहरु बत्रा, रोस, रैकर, पटिया, निर्दिम क्वामी, बान्द्रे, उटक, ठूलो कुलो जस्ता कुलाहरु वर्षात्को समयमा मात्रै सञ्चालनमा आउने गर्दछन् । कुलाहरु खोला वा मुहानमा पानीको स्रोत कम हुँदा बर्षाको समयमा मात्रै सञ्चालनमा आउने गर्दछ । यस क्षेत्रका जमिनहरु नहर र कुलोबाट नै सिँचाइ हुने गर्दछ । ठूलो नहर लामो भएको हुँदा बेला बेला वर्षात्को समय पहिरो जाँदा कृषकलाई समस्या हुने गर्दछ । जसले गर्दा कृषकले समयमै खेती गर्न पाउँदैनन् । 

    यति धेरै नहर र कुलो हुँदा पनि चापाकोट नगरपालिका ९ को झण्डै तीन चौथाई जमिनमा सिंचाई नहुँदा बाँझै छन् । यहाँ मकै, कोदो, तोरीबाहेकका अन्य खेती हुँदैन । खेती नहुनुको मुख्य कारण भन्ने सिचाई नै हो । उनीहरुको घर तलबाट नहर वा कुलो हिडेको छ तर माथिको जमिन सिचाईको अभावमा बाँझै छ । यहाँका कृषकहरु वषौँदेखि समस्यामा परेका छन् तर बाँझो जमिन कसरी सिचाई गर्न सकिन्छ भनेर अहिलेसम्म कसैको ध्यान जान सकेको छैन । बरु उक्त समथर भूभागमा जग्गा दलालहरुले पछिल्लो समय प्लटिङ गर्न थालेका छन् । 

    images

    पर्यटन
    चापाकोट नगरपालिकाले पर्यटनको क्षेत्रमा अन्य स्थानीय तहहरुले जस्तै सामुदायिक भवन, प्रतीक्षलय, मन्दिर, शालिक, भ्यूटावर लगायतको संरचना निर्माण गरेको पाइन्छ । नगरपालिकाको ५ मा रहेको रामडाँडा, ७ मा रहेको रामघाट र केलादीघाट, ९ र ८ को संगमस्थलमा रहेको उत्तरगंगा, ९ मा रहेको सितलटार, १० मा रहेको धनौसा डाँडा, कालीगण्डकी जलयात्रा लगायतका क्षेत्रहरु पछिल्लोसम्म आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल भएका छन् ।

    उक्त ठाउँहरुमा पर्यटकको संख्या बढ्दो छ तर प्रचारप्रसारको कमीले आउनुपर्ने संख्यात्मक पर्यटकहरु आएको देखिदैनन् । ती पर्यटकीय क्षेत्रहरुमध्ये अधिकांशमा विना योजना नयाँ नयाँ संरचनाहरु बनाउँदै जाँदै यसको सौन्दर्यमा ह्रास आउँदै गरेको छ । यसमा नगरपालिकाले तत्कालै ध्यान दिन जरुरी देखिन्छ ।

    कृषि र पर्यटनलाई जोड्ने आयोजना
    कुलेखानी जलविद्युत् आयोजनाको जलाशयले वर्षात्को पानी जम्मा गरेर नेपालमा लोडसेडिङ कम वा अन्त्य गर्न भूमिका खेलेको छ । सँगसँगै यसले त्यहाँका कृषक र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसरी नै चापाकोट नगरपालिकाको वडा नं ९ मा यस्तै एउटा जलाशय निर्माण गरेर कृषि र पर्यटनलाई सँगसँगै अगाडि बढाउन सकिन्छ । त्यो हो “पाकरी खोला जलाशय”। 

    नगरपालिकाको केन्द्रदेखि करिव १.५ किमि नजिकै रहेको पाकरी गाउँभन्दा माथिल्लो भागमा सानो खोला रहेको छ । यस खोलाको दुबैतिर अग्ला पहाड रहेका छन् । यसको करिव १ किमिमाथि करिव १०÷१५ घर रहेका छन् भन्ने तल्लो भागमा घरहरु छैनन् । करिव ५ सय मिटर तल केही खेतहरु छन् ।

    यस ठाउँमा २० देखि ३० मिटर अग्लो बाँध बाधेर वर्षात्को पानी जम्मा गरेर जलाशय बनाउन सकिन्छ । यसरी बाँध बनाउँदा अनुमानित ८ सय मिटर लम्बाई र ५० मिटर चौडाईको जलाशय बन्दछ । उक्त काम गर्न सकेमा चापाकोट नगरपालिका वडा नं ९ का ७६६ घरधुरीको ३ हजार ९५४ जना र वडा नं २ को १६३ घरधुरीको ६८० गरी जम्मा ९२९ घरधुरीको ४ हजार ६३४ बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् । यसबाट यस क्षेत्रको करिव १३ हजार २२८ रोपनी क्षेत्रफल जमिन सिचाई गर्न सकिन्छ । 

    सिचाईसँगसँगै पानी जम्मा भएर बनेको जलाशयमा बोटिङ, फिसिङ लगायतका विभिन्न गतिविधिहरु र यसैसँग जोडिएको करिव २० रोपनी जति क्षेत्रफलमा फैलिएको सार्वजनिक चौरमा बाल उद्यान बनाउन सकिन्छ । यसबाट बाह्य र आन्तरिक पर्यटक घुम्न आउने छन् । यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेछ र स्थानीयको आयआर्जनमा बढ्ने छ । यसबाट विद्युत् समेत निकाल्न सकिने सम्भावना रहन सक्छ । त्यो भयो भन्ने त झनै राम्रो हुन्छ ।

    आयोजनाबाट लाभान्वित हुने क्षेत्रबाट मात्रै एक हजारभन्दा बढी युवाहरु रोजगारीको शिलशिलमा विदेश गएका छन् । आफ्नो गाउँघरमा कृषिमा केही गर्छुभन्दा सिँचाईको समस्याले गर्दा विदेश गएका युवाहरु स्वदेशमै फर्किएर कृषि पेशामा लाग्ने निश्चित छ । 

    आर्थिक व्यवस्थापन कसरी जुटाउने ?
    “जहाँ इच्छा त्यहाँ उपाय” भने जस्तो यो आयोजना गर्ने इच्छा शक्ति स्थानीय सरकारसँग भएमा आर्थिक व्यवस्थापन जुटाउन पनि सकिन्छ ।  जहाँ कुनै पनि एउटा आयोजनाबाट हजारौँ जान प्रत्यक्ष लाभान्वित हुन्छ । आर्थिक व्यवस्थापन विभिन्न तरिकाले गर्न सकिन्छ । जस्तैः–
    १. सरकार
    नेपालमा अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहको सरकार रहेका छन् । २०६८ को जनगणना अनुसार नगरपालिका भित्र रहेको कुल २६,०४२ जनसंख्यामध्ये जलशायबाट मात्रै प्रत्यक्ष लाभान्वित हुनेको संख्या ४ हजार ६३४ छ । यो भनेको नगरपालिकाभित्र रहेको कूल जनसंख्याको १७.८० प्रतिशत हो । यसलाई स्थानीय सरकारले मात्रै गर्न सक्दैन । त्यसैले स्थानीय सरकारको पहल कदमीमा प्रदेश वा संघ सरकारसँग बजेट माग गर्न सकिन्छ ।

    २. लागत सहभागिता
    पछिल्लो समय सरकारले लागत सहभागितामा विभिन्न आयोजनाहरु अगाडि बढाइरहेको हुँदा यस आयोजनालाई पनि लागत सहभागितामा अगाडि बढाउन सकिन्छ । विसं. २०६८ को जनगणनाअनुसार यस आयोजनाबाट प्रत्यक्ष रुपमा ९२९ घर लाभान्वित हुने हुँदा प्रत्येक घर धुरीबाट १० हजारको दरले पैसा उठाउँदा पनि ९२ लाख ९० हजार जम्मा हुन्छ । यसलाई घरधुरीको आधार नबनाई सिँचाई हुने क्षेत्रफलको आधार बनाएर पनि पैसा उठाउन सकिन्छ । 

    ३. वैदेशिक सहयोग
    कृषि र पर्यटन क्षेत्रको लागि विभिन्न विदेशी संघसंस्थाले सहयोग गरिरहेका छन् । हामीले यसको लागि पहल गर्नुपर्ने हुन्छ । यही बाहेक अन्य विकल्पको विषयमा छलफल गर्न सकिन्छ ।

    तत्काल स्थानीय सरकार र बासिन्दाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरे उक्त आयोजनाको डिपिआर गर्नका लागि काम अगाडि बढाउनु पर्दछ । त्यसैको आधारमा आयोजना कसरी अगाडि बढाउँन सकिन्छ भनेर भन्न सकिन्छ ।

    सरकार र स्थानीय तहले अनुदानमा भन्दा यस्ता आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढाउन सकेमा कृषि सँगसँगै पर्यटनको विकासमा ठूलो योगदान पुग्ने देखिन्छ भने विभिन्न किसिमका रोजगारीहरु स्वस्फूर्त रुपमा सिर्जना हुन्छ । यो आयोजना सफल हुन भनेको यस्तै खालको अन्य आयोजनाहरुको ढोका खोल्नु हो । यसको लागि स्थानीय, जनप्रतिनिधि र राजनैतिक दलहरुमा इच्छाशक्ति हुनुपर्दछ । यसलाई नगरपालिकाले आफ्नो गौरवको आयोजना बनाएर अगाडि बढाउँदा नगरपालिका र स्थानीय दुबैको लागि फाइदा हुने देखिन्छ । 

    यो पनि पढ्नुहोस् :- चापाकोटका घुम्नै पर्ने केही पर्यटकीय स्थानहरु

    प्रकाशित मिति :पुस ८, २०७८ बिहीबार - १२:०८:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    अर्जुन खनाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology