Logo

बिहीबार , साउन २६ गते २०७९

जनसेवा स्मारिका: संक्षिप्त समीक्षा

जनसेवा स्मारिका: संक्षिप्त समीक्षा

तेजविलास

९, पुस २०७८
  • 2.0K
    SHARES
  • जनसेवा स्मारिका: संक्षिप्त समीक्षा

    परिचय
    चार दशक लामो इतिहास बोकेको जनसेवा क्वल, चापाकोट स्याङ्जाको जनसेवा स्मारिका भर्खरै प्रकाशित भएको छ । समाजमा रहेको विकृतिहरुलाई हटाउने उद्देश्यले स्थापित जनसेवा क्लव चापाकोटको अग्रणी सामाजिक संस्था हो । धेरै युवाहरुले सहभागिता जनाएको र लाखौं जनासँग नाम पुगेको यस संस्थाको स्मारिकामा संस्थाको परिचय, संस्थाको विधान, संस्थाको हालसम्मका मुख्य मुख्य कार्यक्रमका साथै पछिल्लो दशक २०७१ – ७८ को विस्तृत विवरणात्मक कार्यसूची दिइएको छ ।

    images
    images

    आवरण बाहेक १८ पेज विविध र २१८ पेज पाठ्य सामग्री प्रस्तुत गरिएको छ । डिमाइ साइजमा प्रकाशन भएको पुस्तक रामचन्द्र भट्टराई संयोजक रही विष्णुप्रसाद अर्याल, शालिकराम कोइराला र रामु बस्याल सदस्य रहेको सम्पादन मण्डलबाट सम्पादित भएको छ भने  शालिकराम कोइरालाले तयार गरेको आकर्षक आवरणमा स्थानीय विशेष सन्दर्भ झल्काउने फोटोहरुले स्थान पाएको छ ।
     
    स्मारिकाभित्रका विशेष आकर्षण
    जनसेवा शीर्षक परिच्छेदका रहेको ‘प्रतिभा सम्मान कार्यक्रमबाट सम्मानित व्यक्तिहरु’ पढ्दा चापाकोट राष्ट्रिय अन्तराष्ट्रिय प्रतिभाका माध्यमबाट पनि आफ्नो स्थानलाई चिनाउन कम्मर कसेर लागेको देखिन्छ । रुपक डोटेल, डा समुन्द्र आचार्य, डा. केशव पौडेल, डा. बुद्धिमान श्रेष्ठ, कमलचन्द्र गैह्रे, मित्रलाल पंज्ञानी, विष्णुप्रसाद अर्याल, थानप्रसाद पंज्ञानी र महेश आचार्यलाई चापाकोटले आफ्नो माटोको चर्चित मुहारको रुपमा छोटो परिचयसाथ यस स्मारिकामा चर्चा गरेको छ । ‘विचार’ शीर्षकको  परिच्छेदमा, राजनीति, कानुन, भाषा, प्रविधि क्षेत्रलाई समेटिएको छ । ‘परिचय’ र पर्यटन’ शीर्षकको परिच्छेदमा चापाकोटलाई चिनाउने मौलिक आधार र भौगोलिक स्थिति तथ्यात्मक हिसाबले पेश भएको छ । सङ्क्षिप्त ढाँचामा प्रस्तुत लेखहरु स्थान विशेषलाई चिनाउन र चापाकोटको आकर्षण बढाउन सहयोगी सिद्ध भएका छन् । ‘शिक्षा’ शीर्षकको परिच्छेदमा मुकुन्दप्रसाद डोटेल, विष्णुप्रसाद अर्याल जस्ता शिक्षा क्षेत्रमा प्राज्ञिक र प्रशासनिक योग्यता बनाएका व्यक्तिहरुको लेख प्रस्तुत भएको छ भने संस्कृत, साधारण र प्राविधिक धारको शिक्षा तथा त्यसको सकारात्मक असरको तथ्यलाई संयोजन गरिएको छ । चापाकोटको जनस्वास्थ्य र पर्यावरण बारे छुट्टै शीर्षकको परिच्छेद खडा गरी चर्चित कालीगण्डकी तिनाउ डाइभर्सनबारे मौलिक र स्वाभिमानी बहस छेडिएको छ । चापाकोटलाई आजको सचेत चापाकोट बनाउन तल्लीन साधहरुको छोटो कर्मकेन्द्रीय परिचय प्रस्ततु गरिएको छ । जसले मूलतः यस स्मारिकामा शिक्षा र मानव सभ्यताको अध्ययन गर्नेहरुका लागि सन्दर्भ सामग्री नै प्रदान गरेको छ ।

    अन्तिम र अलि ठूलो परिच्छेदका रुपमा ‘साहित्य’ शीर्षकको परिच्छेद विन्यास गरिएको छ । झण्डै ३० जना साहित्य र संस्कृतिको क्षेत्रमा नाम चलेको स्रष्टाहरुले राणा, पञ्चालयत र जनयुद्धकालका विषय प्रसङगदेखि स्थान विशेषको वर्णनमा मसी पोखेका छन् । पुराना पुस्ताका  पण्डित लक्ष्मीशरण देवकोटादेखि स्थापति पुस्ताका मित्रलाल पंज्ञानीका साथै पछिल्लो पुस्ताका साहित्यिक – शैक्षिक  र व्यवसायिक व्यक्तिहरुले कलमलाई माध्यम बनाएर देशप्रेम र सम्पन्न जन्मभूमिको गाथाको प्रयास गरेका छन् ।

    माटोले उमार्ने विरुवाले नै माटोलाई पनि चिनाउँछ भने झै जनसेवा स्मारिका मूलतः केही गरिराख्नुपर्छ भन्ने हुटहुटीले प्रेरित र प्रभावित व्यक्ति व्यक्तिहरुको सक्रियताको उपज हो । छोटो सूची र तस्वीरमै चित्त बुझाउनु परे पनि यस स्मारिकामा चापाकोटका जनप्रतिनिधिहरुको प्राप्त फोटो र सूचानाका आधारमा परिचय व्यवस्थित गर्ने सफल प्रयास भएको छ । स्थान विशेषलाई महत्व दिन स्मारिका प्रकाशनमा ल्याएको हो । पुराना नेतृत्व र नयाँ युवाबीचको संवाद सेतुको रुपमा स्मारिका रहेको देखिन्छ । मूलतः यस स्मारिकाले स्याङ्जा जिल्लाको मनोरम स्थान चापाकोट र चापाकोटभित्रको विविधताको पाटोलाई शालीन ढङ्गले प्रस्तुत गरेको छ । सम्पादनमा रहेको जिम्मेबारी बोध, विषयमा रहेको सर्वपक्ष समेटेर प्रस्तुत गर्ने योजना र वौद्धिकजनहरुको गहन सोचको मूर्तरुप जनसेवा स्मारिका हो ।

    पालिकाहरु सत्ता प्रयोगभित्र मोजमस्तीमा रमाइरहेको बेला आफै गुरु बन्न सक्ने हैसियत निर्माण गरी चापाकोटले सबै पाठक र भावकलाई सन्देह त्यागेर सन्देशको मीठो मुस्कान बाँडेको छ । स्थानीय विषयवस्तु र कला संयोजनले स्मारिका सङ्ग्रहणीय पाठ्यकृति बन्न सकेको छ । अन्नतः यो चापाकोटलाई इतिहासको स्वर्णाक्षरमा स्थापित गर्ने सामूहिक सदकर्म हो । 

    प्रकाशित मिति :पुस ९, २०७८ शुक्रबार - १९:५७:३२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    तेजविलास

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology