Logo

बिहीबार , साउन २६ गते २०७९

बदलिँदो परिस्थितिमा जनस्वास्थ्यका उपलब्धि, चुनौति र अवसरहरू

बदलिँदो परिस्थितिमा जनस्वास्थ्यका उपलब्धि, चुनौति र अवसरहरू

कालीगण्डकी खबर

१५, पुस २०७८
  • 2.2K
    SHARES
  • बदलिँदो परिस्थितिमा जनस्वास्थ्यका उपलब्धि, चुनौति र अवसरहरू

    डा. सन्तोष गैह्रे
    स्वस्थ्य हुनु भनेको शारीरिक, मानसिक र सामाजिक एवम् आत्मिक रूपले तन्दरूस्त रहनु हो । जनस्वास्थ्य भनेको त्यस्तो विज्ञान र कला हो, जसले व्यक्ति र समुदाय, निजी र सरकारी, तथा समुदायलाई सुसूचित गराई सामुहिक पहलद्वारा रोगको रोकथाम, स्वास्थ्यको प्रबद्र्धन गरी मानिसको आयु बढाउने पहल गरिन्छ । जब हामी जनस्वास्थ्य र पोषणको बारेमा कुरा गर्दछौं, यो देश अनुसार फरक फरक हुन्छ । यस विषयमा अमेरिका र युरोप जस्ता जनताको जीवनस्तर उच्च रहेका देशहरूको सन्दर्भ र नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरूको सन्दर्भ फरक हुने गर्दछ । यी देशहरूको सामाजिक, आर्थिक, सांस्कृतिक वा राजनीतिक अवस्थाले पनि यसको अवस्था फरक हुन सक्दछ । नेपालकै सन्दर्भमा पनि प्रशस्त  अस्पताल र अन्य सुविधा भएको शहर र चापाकोट जस्तो ग्रामीण भेगको सन्दर्भ फरक हुन्छ ।

    images
    images

    चापाकोटको स्वास्थ्यको अवस्थाको बारेमा कुरा गर्दा दुई दशकअगाडिसम्म पनि विरामीलाई डोको वा डोलामा बोकाएर स्वास्थ्य उपचारको लागि कष्टकर यात्रा गर्नुपर्ने हाम्रो बाध्यता थियो । विकासको गतिसँगै अहिले आधारभूत स्वास्थ्य सेवा त गाउँमै उपलब्ध छ । थप उपचारको लागि पनि जिप वा एम्बुलेन्स चढेर प्रादेशिक वा केन्द्रीय अस्पतालसम्म पहुँच पुगेको छ । परम्परागत उपचार तथा ग्रामीण स्वास्थ्य केन्द्रमा उपलब्ध हुने सामान्य उपचारद्वारा विभिन्न रोगसँग जुध्दै जीवनको संघर्ष गर्ने हाम्रो चापाकोटका स्थानीय बासिन्दा आज सडक सुविधामा आएको सुधारको कारण तथा स्थानीय स्तरमै खुलेका अस्पतालका कारण स्तरीय स्वास्थ्य संस्थामा पहुँच बढाउदै लगेका छन् । 

    चापाकोटमा प्रदुषित खानेपानी, अव्यवस्थित शौचालय तथा सरसफाईको कारण झाडापखाला लगायत विभिन्न सरुवा रोगबाट ग्रसित हुने संख्या उल्लेख्य थियो । शुद्ध खानेपानीको प्रयोग, व्यवस्थित शौचालयको प्रयोग, सरसफाई र जनस्वास्थ्य सम्बन्धी जनचेतनामा आएको सुधार, बढ्दो बजारको पहुँच लगायत शिक्षा, रोजगार र कृषिमा भएको सुधारको कारण पनि सरुवा रोग र कुपोषणका कारण हुने बाल तथा मातृ मृत्युदरमा उल्लेख्य कमी आएको देखिन्छ । जनसेवा क्लब स्थापना गर्दाका स्वास्थ्यका मुद्धाहरू भन्दा अहिलेका मुद्धाहरू फरक भएका छन् । जसका कारण २०५० को दशकमा जन्मेका चापाकोटका बच्चाहरूभन्दा आज जन्मिने बच्चाहरूको सरदर आयु तेह्र वर्षले बढी हुने तथ्यांक ग्लोबल वर्ड डिजिज स्टडिज नेपाल,२०७५ ले देखाएको छ ।

    नेपालीहरूको सरदर आयु बढ्नुमा बाल तथा मातृ स्वास्थ्य सेवा, कुपोषणमा सुधारको साथै जनस्वास्थ्य, सरसफाई, रहनसहन, खाद्यान्न तथा पोषणमा आएको सुधार र पहुँचको उपलब्धि हो । तथापि यी बढेको उमेरको सबै समय  (Additional years gained)  स्वस्थ उमेर हो भनेर ढुक्क हुने अवस्था भने अझै छैन । किन कि यो अनुसन्धानमा नेपाली महिलाहरू को ७३ वर्षको सरदर आयुमा मात्र ६२ वर्ष तथा पुरुषहरूको ७० वर्षमा मात्र ६० वर्ष स्वस्थकर जीवन विताउन सक्ने देखाएको छ । बाँकी १०,१२ वर्ष विरामी असक्त तथा विभिन्न चोटपटक जस्ता समस्याका कारण शारीरिक दुर्वलताका साथ बाँचिरहेको देखाएको छ । त्यसैले स्थानीय तथा विश्व स्वास्थ्यको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको साथसाथै हाम्रा खानपान र व्यवहारमा आएको सुधारको कारण प्राप्ति भएको यी उपलब्धिहरूको जगेर्ना गर्दै स्वस्थ रूपमा पूर्ण जीवन जीउनको लागि अझ धेरै काम गर्नुपर्ने देखिन्छ ।

    खानेपानी र सरसफाईमा भएको सुधार तथा बढ्दो खाद्यान्न, पोषण तथा स्वास्थ्य सेवाको पहुँचको कारण झाडा पखाला, टाइफाइट, निमोनिया जस्ता रोगहरूबाट बच्न त धेरै प्रगति ग¥यौ तथापि हाम्रो खानपिन, जीवनशैली, वातावरणीय परिवर्तन तथा आनुवंशिक गुणलगायतका  अन्य कारणहरूको सँगमको कारणले गैर संक्रामक रोग ( Non Communicable Disease) संक्रमण भने बढ्दो देखिएको छ । उदाहरणको लागि मधुमेह (चिनी रोग), हृदयघात, उच्च रक्तचाप, जो एक गतिहिन जीवनशैली (Inactive life Style) र असन्तुलित आहार (Poor Diet) लगायत बंशाणुगत कारणले पनि हुनसक्छ, यस्ता रोगको विरामी हाम्रै घर, परिवार तथा गाउँ छिमेकमा पनि बढ्दै गएको देख्न सकिन्छ । कतिपय व्यक्तिमा त यस्तो रोग भर्खरकै उमेरमा पनि देखिएको पाइएको छ । जसको फलस्वप दुई दशक अगाडिसम्म नेपालीहरूको मृत्युका मुख्य कारण रहेको झडापखाला तथा निमोनिया जस्ता रोगभन्दा मुटु तथा उक्त रक्तचाप, मधुमेह आदि रोगहरू अहिले प्रमुख कारण हुन आएको छ । अहिले नेपालमा हुने तीन मृत्युमा दुईवटा त गैर संक्रामक रोगको कारणले नै भइराखेको छ ।

    त्यसकारण बदलिंदो परिस्थितिमा स्वस्थ्यकर जीवन जीउनका लागि हाम्रो खानपान, शारीरिक तन्दुरुस्तीको साथसाथै विविध कुरामा परिवर्तन आउन जरुरी छ । हामी हाम्रो आनुवंशिक कोड त परिवर्तन गर्न सक्दैनौँ तर गैर संक्रामक रोगहरूबाट बच्नको लागि अरु धेरै कुराहरू गर्न सक्छौं । जस्तै सबैभन्दा विशेष गरी हाम्रो आहारमा सुधारका साथै शारीरिक व्यायाम, योग, लगायतका स्वास्थ्यवद्र्धक क्रियाकलाप सुधार गर्न सक्छौं । त्यस्तै चुरोट, जाँड, रक्सीको बानीमा सुधारको तथा खाना पकाउने दाउराको धुवाँ, विषादी तथा रासायनिक पदार्थका लगायत टार्न सकिने जोखिमका कारणबाट जोगिन सक्छौं । साथसाथै हालै देखिएको कोरोना भाइरसको विश्व संक्रमणबट पनि यो पाठ सिकियो कि आफू र आफनो परिवार मात्र स्वस्थ भएर नहुँदो रहेछ । जव हामी बस्ने टोल, गाउँ, देशका मान्छेहरू स्वस्थ हुदैनन्, तबसम्म हामी स्वास्थ्य समस्याबाट सुरक्षित हुदैनौं । त्यसैले जनस्वास्थ्य र संक्रामक रोग निवारणका लागि सबैको उलेख्य सहभागिता हुनु जरुरी छ ।

    (लेखक School of Biomedical Sciences, Ulster University, Northern Ireland मा जनस्वास्थ्य सम्बन्धी अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।)

    ..........
    जनसेवा स्मारिकाबाट साभार

    प्रकाशित मिति :पुस १५, २०७८ बिहीबार - १२:०४:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology