Logo

सोमबार, माघ ३ गते २०७८

स्याङ्जा–गुडीखोलासहित पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया शुरु

स्याङ्जा–गुडीखोलासहित पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया शुरु

पत्रपत्रिकाबाट

२६, पुस २०७८
  • 3.6K
    SHARES
  • स्याङ्जा–गुडीखोलासहित पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया शुरु

    काठमाडौँ, २६ पुस । काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

    बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

    images

    सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेख्नुभएको छ ।

    सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०÷५० लाख रुपियाँ खर्च गरिनेछ । अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइनेछ ।

    ‘ईपीसी’ मोडलमा निर्माण
    सुरुङ मार्गको निर्माण इन्जिनियरिङ खरिद निर्माण (ईपीसी) मोडलमा गरिने निर्देशक झाले बताउनुभयो । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र जडान’ आफैँले गर्नुपर्ने हुन्छ । त्यसैगरी सुरुङ मार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म गम्भीर त्रुटि देखिए त्यसको नियमित मर्मत सम्भारको पनि जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

    नागढुङ्गाको अनुभवले सहज
    भूगर्भविद् तथा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका इन्जिनियर नरेशमान शाक्यले उक्त सुरुङ मार्ग निर्माणको अनुभवले नेपालमा सुरुङ मार्ग निर्माण सहज रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागढुङ्गाको अनुभवले अन्य मुलुकजस्तो हामीकहाँ पनि सहज रूपमा सुरुङ मार्ग निर्माण गर्न सकिन्छ भने कुरा थाहा भयो ।”

    नेपालको पहाडी क्षेत्रको चट्टान अहिले नरम अवस्थामा रहे पनि सुरुङ निर्माणमा खासै असर नपर्ने बताउँदै उहाँले चट्टान जति कडा भयो सुरुङ निर्माण गर्न त्यति नै सहज हुने स्पष्ट पार्नुभयो । चट्टान नरम भएकै कारण नागढुङ्गा सुरुङ मार्गमा ‘सपोर्ट’का रूपमा स्टिलको करङ (रिब्स) राखेर निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :पुस २६, २०७८ सोमबार - ०८:१९:४५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology