Logo

सोमबार, माघ ३ गते २०७८

विद्यार्थीले खोप पाउने निश्चित, विद्यालय खुल्ने अनिश्चित

विद्यार्थीले खोप पाउने निश्चित, विद्यालय खुल्ने अनिश्चित

पत्रपत्रिकाबाट

२९, पुस २०७८
  • 223
    SHARES
  • विद्यार्थीले खोप पाउने निश्चित, विद्यालय खुल्ने अनिश्चित

    काठमाडौं, २९ पुस । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । भक्तपुरमा मोडर्ना तथा काठमाडौं र ललितपुरमा फाइजर खोप लगाइँदैछ ।

    images

    तीनै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखका अनुसार भक्तपुरमा करिब ८० प्रतिशत तथा काठमाडौं र ललितपुरमा करिब ४० प्रतिशत खोप लगाइसकिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेख्नुभएको छ ।

    काठमाडौं र ललितपुरले मंगलबारबाट खोप अभियान शुरू गरेको हो । ‘स्थानीय तहको सहकार्यमा अभियान सञ्चालन गरेको कारण उल्लेखनीय सहभागिता बढेको हो’– काठमाडौं स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘विद्यालयका प्रअलाई विद्यालयमा खोप लगाउन व्यवस्था मिलाउने निर्देशन दिएको कारण अधिकांश विद्यार्थीले खोप लगाएका छन् । काठमाडौंमा २ लाख ७० हजार मात्रा खोप लगाउने योजना रहेकोमा विद्यार्थीको संख्या बढेर र करिब ३ लाख पुग्ने उहाँको अनुमान छ ।

    स्थानीय तहका शिक्षा शाखाले २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र सोभन्दा कम विद्यार्थी भएका विद्यालय भए सँंगैको विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाएको छ । ललितपुर स्वास्थ्य कार्यालय प्रमुख सतीश विष्टले जिल्लामा ७१ हजार ३ सय १ जनाले खोप लगाउने अनुमान गरिएको छ । उहाँका अनुसार यसअघि १२–१७ उमेर समूहका करिब ५ हजारले पहिलो डोज लगाइसकेका छन्, अहिले बाँकीलाई खोप दिने काम भएको छ ।

    ललितपुर महानगरक्षेत्रमा उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ छ । ‘हामीले तोकिएको उमेर समूहका बालबालिकालाई खोजेरै भएपनि खोप लगाउने व्यवस्था गरेका छौं । महानगरले माघको पहिलो सातासम्म विद्यार्थीलाई खोप लगाइसक्ने योजना बनाएको छ । हामीले सकेसम्म ५ गतेसम्म सबै विद्यार्थीलाई खोप लगाइसक्नेछौं’ उहाँको भनाइ छ ।

    भक्तपुरका जनस्वास्थ्य प्रमुख कृष्ण मिजारले अबको दुई–तीन दिनभित्र तोकिएका सबैलाई खोप लगाइसक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा ४ स्थानीय तहमध्ये सूर्यविनायक, चाँगुनारायण नगरपालिकाका विद्यालयमा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ।

    उहाँका अनुसार भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाले एक–दुई दिनमा सक्ने योजना तय गरेका छन् । उहाँका अनुसार तोकिएको जनसंख्यालाई खोप लगाएपछि स्थानीय तहको समन्वयमा खोजेरै भए पनि पुनः खोप लगाउने योजना छ । तीनै जिल्लाका जनस्वास्थ्य प्रमुखले बिदा मनाउन र विद्यालयबाहिर गएका विद्यार्थीलाई विद्यालयको समन्वयमा बोलाएरै भए पनि खोप लगाउने व्यवस्था गरेको बताएका छन् ।

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - ०७:५९:५६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology