Logo

सोमबार, माघ ३ गते २०७८

सङ्क्रमित पनि परीक्षा दिँदै, अनलाइनबाट पढाउने तयारी

सङ्क्रमित पनि परीक्षा दिँदै, अनलाइनबाट पढाउने तयारी

पत्रपत्रिकाबाट

२९, पुस २०७८
  • 241
    SHARES
  • सङ्क्रमित पनि परीक्षा दिँदै, अनलाइनबाट पढाउने तयारी

    काठमाडौँ, २९ पुस । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

    images

    परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षामा सम्मिलित हुन सङ्क्रमित विद्यार्थी पनि आएपछि अलग कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको छ ।

    उहाँका अनुसार सबैभन्दा धेरै सङ्क्रमित बानेश्वर क्याम्पसमा छन् । यस केन्द्रमा १० जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । त्यस्ता परीक्षार्थीलाई ठूलो कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ ।

    सङ्क्रमितको उत्तरपुस्तिका निर्मलीकरण गरेर छुट्टै खाममा राखी सम्बन्धित कार्यालयमा लैजाने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार काठमाडौँको कलङ्कीस्थित रिचमन्ड एकेडेमीमा पनि तीन सङ्क्रमितले परीक्षा दिइरहेका छन् । नवोदित र पाटन बहुमुखी क्याम्पसमा पनि दुई–दुई जना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

    उपत्यकाबाहिरका केन्द्रबाट भने सङ्क्रमितको तथ्याङ्क नआएको पनिकाले जनाएको छ । कोरोना सङ्क्रमितले परीक्षामा बस्न चाहेको अवस्थामा ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    यसैबीच कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हाल सञ्चालनमा रहेका र छिट्टै हुन लागेका परीक्षा प्रभावित हुने भएका छन् । स्नातक तहअन्तर्गत हाल पहिलो र तेस्रो वर्षको पढाइ सकिइसकेको छ भने दोस्रो वर्षको पढाइ अन्तिम चरणमा पुगेको छ ।

    पनिकाले पहिलो वर्षको परीक्षा आगामी माघ अन्तिम सातादेखि सञ्चालन गर्ने योजना बनाएको छ । तेस्रो वर्षको फागुन र दोस्रो वर्षको चैत महिनामा सञ्चालन गर्ने तयारी छ तर सङ्क्रमण दर बढेकाले परीक्षा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता थपिएको नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - ०८:१८:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology