Logo

सोमबार, माघ ३ गते २०७८

चापाकोटमा कृषि क्याम्पसको पढाई हुने सम्भावना टर्दै, अन्तिम समयमा नेताको दौडधुप

चापाकोटमा कृषि क्याम्पसको पढाई हुने सम्भावना टर्दै, अन्तिम समयमा नेताको दौडधुप

अर्जुन खनाल

२९, पुस २०७८
  • 1.6K
    SHARES
  • चापाकोटमा कृषि क्याम्पसको पढाई हुने सम्भावना टर्दै, अन्तिम समयमा नेताको दौडधुप
    चापाकोट नगरपालिका वडा नं ८ रत्नपुरमा रहेको (तत्कालीन श्री जनसामूहिक प्राथमिक विद्यालय) प्रस्तावित जनसामूहिक चापाकोट कृषि क्याम्पस

    अर्जुन खनाल । स्याङ्जा, २९ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय, डीनको कार्यालय रामपुर चितवनले कृषि स्नातक (विएसी एजी)कोे अनलाइन आवदेन फाराम भर्ने सूचना प्रकाशित गर्दा चापाकोटको नाम समावेश नभएपछि यो वर्ष चापाकोटमा कृषि क्याम्पसको पढाई हुने सम्भावना टर्दै गएको छ । 

    images

    विश्वविद्यालयले शैक्षिक सत्र २०७८–७९ का लागि यस संकाय र अन्र्तगतका विभिन्न कलेजमा कृषि स्नातक (विएसी एजी) तहमा अध्ययन गर्नको लागि आवेदन माग गरेको छ । 

    चापाकोटमा कृषि क्याम्पस सञ्चालनको लागि जग्गा व्यवस्थापनको सम्पूर्ण प्रक्रिया पूरा भएकोले यसै वर्षदेखि पढाई सुरु हुन्छ भन्नेमा स्थानीय ढुक्क थिए तर आवेदन फाराम भर्ने सूचनामा चापाकोटको नामै नदेखेपछि बल्ल यहाँका अगुवाहरुले सबै राजनीतिक दलसँग समन्वय गर्न लागेका छन् ।

    चापाकोट नगरपालिका वडा नं ८ मा कृषि क्याम्पस सञ्चालन गर्नको लागि नेतृत्व गरेकाले सबैसँग समन्वय नगर्दा चापाकोटको आवेदन फाराम नखुलेको र अहिले अन्तिम समयमा मात्र आएर उनीहरुले सबैसँग समन्वय गर्न खोजेको स्थानीय र राजनीतिक दलका नेताले आरोप लगाएका छन् । 

    चापाकोटमा कृषि क्याम्पसको भर्ना यसै वर्ष खुलाउनको लागि प्रदेश सांसद भागवत प्रकाश मल्ल, चापाकोट नगरपालिका उपमेयर बिमला श्रेष्ठसहितको टोली प्रधानमन्त्री एवं काँग्रस सभापति शेर बहादुर देउवालाई भेट्न शनिबार बालुवाटार गएको जानकारीमा आएको छ । प्राप्त जानकारी अनुसार उहाँहरुले प्रधानमन्त्री देउवालाई भेट्न नपाएको र प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई तीन मिनेट उक्त विषयको जानकारी गराएर फर्किएको छ । त्यही टोली काँग्रेस नेता गोपालमान श्रेष्ठको निवास कुलेश्वर गएको र गोपालमान श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय, रामपुर चितवनको भिसी प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई फोन गरेर भर्ना खुलाउन आग्रह गरे पनि २५ गते आइतबार विश्वविद्यालयले खुलाएको आवेदनमा चापाकोटको कृषि क्याम्पस समावेश भएन ।

    यस विषयमा बुझ्न कालीगण्डकी खबरले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठलाई फोन गर्दा क्याम्पसको विषयमा बोल्न चाहनुभएन ।

    कालीगण्डकी खबरले माओवादी केन्द्रका नेता ‘किरण’ लाई क्याम्पस जस्तो विषयमा तपाईहरुले सहयोग गर्नु भएन भन्ने कुरा आएको छ वास्तविकता के हो भनेर सोधेको प्रश्नमा उहाँले भन्नुभयो,“हामीले पनि राजनीति गरेका हौँ, हाम्रो पनि अस्तित्व चाहिन्छ । हाम्रो पार्टीको २–४ साथीहरुलाई समेटेमा हामीले सहयोग गर्छौँ ।”

    विश्वविद्यालय स्रोतले छिटफुटमा अझै पनि भर्ना निकाल्न मिल्ने बताएपछि स्थानीयले माओवादी केन्द्रका चार जनाको नाम समेटेर कागजपत्र पठाएपछि नेकपा माओवादी केन्द्रका नेता यतिबेला चितवनमा छन् ।

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला २०७४ बैशाख ५ गते चापाकोटमा कृषि क्याम्पस खोल्ने निर्णय भएको थियो । निर्णय भएकामध्ये केहीमा त्यही शैक्षिक सत्रदेखि त केहीमा अर्को वर्षबाट नै पढाइ सुरुभए पनि चापाकोटमा भने निर्णय भएको पाँच वर्ष भइसक्दा पनि कक्षा सञ्चालनको त कुरै छाडौँ सामान्य पूर्वाधारसमेत तयार हुन सकेको  छैन । कृषि क्याम्पसको लागि त्यतिबेलै एक करोड बजेट परेर पनि खर्च हुन नसक्दा फ्रिज भएको थियो भने त्यसपछि अहिलेसम्म बजेट परेको छैन । 

    यो पनि पढ्नुहोस् :- कहाँ रोकियो चापाकोटको कृषि क्याम्पस ?

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - १२:०९:४० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    अर्जुन खनाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology