हामीले हाम्रै भनेर
नक्सा छापी सक्यौं
हामीले हाम्रै भनेर
पुस्तकमा पाठ राखी सक्यौँ
हाम्रो हो वा होइन ?
परीक्षण काल सकिएको पनि त
यतिका महिना भए
हो वा होइन ?
के के भए बीचमा प्रगति
सबै सबै जान्न र बुझ्न
सूचनाको हक अनुसार नै
भनिरहेछौं हामी
ए! सरकार ।
हाम्रो सरकार ?
नेपाल सरकार !!
सुतेको हो कि !
जागै छ सरकार
सडक विस्तार
उसले पो गर्दैछ त
हामी र हाम्रो ध्यान !
खै ! कता छ सरकार
नुनले मलिनो भएको हो कि
गुनले आनन्दित भएको ?
ठप्प छ संसद किन ?
विषय राष्ट्रियताको छ
आफ्नो भूगोल हो
किन मौन छ सरकार ।
युवा नेताहरूको पनि च्या..चु छैन त
अधिवेशन । महाधिवेशनमा
युवाहरूले बनाउने हो देश
के हो बनाउने भनेको ?
कहाँ हो बनाउने भनेको ?
प्रिय युवा नेतृत्व !
भाग खोज्ने मुख खोलन
केही त बोलन
देश के हो ?
हाम्रो स्वाधीनता
हाम्रो सार्वभौमसत्ता
हामी देशवासी सोधिरहेर्छौं
किन मौन ?
मात्र यति हो हाम्रो प्रश्न
अर्कोलाई गाली गर्नुभन्दा
हामीलाई जवाफ देऊ सरकार ।
तिमी नेपाल सरकार
जनताको सरकार हौ भने
कुम्भकर्ण नसुत
होइन भने नक्कली नक्सा पास
लगाएको हो भने लालमोहर
जवाफ चाहियो सरकार !
लिपुलेकको सडक
चौडा सडक
फेरि सोध्छौ
समाचार आएको सत्य हो भने
चाहियो जवाफ ।
अविलम्ब जनतालाई चाहियो जवाफ
सांसद भत्तामै रमाउन
समितिहरू रमिता हेर्न
बनेको होइन भने
अनि
टिकाउन सरकार
गरेका छैनौ भने सहमति
बोल !
मुख छ भने बोल
बोल्ने बेला यही हो
कसले मिच्दैछ सिमाना ?
जारी गर प्रेस नोट
के गर्दैछन् राजदूत ?
किन चुप छौ तिमी ?
कि सरकार नै होइनौ ?
मात्र उसैको कठपुतली !
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।