वालिङ, २ माघ । स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुनेभएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताउनुभयो ।
उहाँका अनुसार हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पुर्याइने छ । मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
सेन्टर वालिङमै स्थापना भएर कार्य थालेसँगै स्याङ्जाको वालिङसहित छिमेकी जिल्लाका मिर्गौलाको उपचार गर्नुपर्ने नागरिकलाई पनि सहजता हुने प्रमुख खाँणले बताउनुभयो ।
स्याङ्जा जिल्लाको मध्यभाग वालिङमा सेन्टर स्थापना हुनुले पनि सम्बन्धित बिरामीलाई टाढा जानुपर्ने अवस्थाको अन्त्य भई छिटोछरितो र निःशुल्क हुने भएपछि निक्कै प्रभावकारी हुने रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले बताउनुभयो ।
रोटरी क्लब अफ वालिङले गरेको प्रस्तावलाई रोटरी इन्टरनेशनलले सेन्टर सञ्चालनका लागि रु पाँच करोड ५३ लाख सहयोगस्वरुप उपलब्ध गराएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
माघ १ बाट सञ्चालनमा आएको सेन्टरले दैनिक १६ जना मिर्गौलाका बिरामीको डायलासिस गर्न सकिने छ ।
सेन्टरमा डायलासिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउने र त्यहीँबाट भुक्तानी लिने भएकाले बिरामीलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष पाठकको भनाइ छ ।
यो पनि पढ्नुहोस् :- वालिङको त्रियासी शीतभण्डार सञ्चालनमा
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।