Logo

बुधबार, जेठ ११ गते २०७९

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

कालीगण्डकी खबर

३, माघ २०७८
  • 805
    SHARES
  • लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम, ३ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताउनुभएको छ ।

    images
    images

    गैरआवसीय नेपाली सङ्घ (एनआरएन) का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा आज धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताउनुभयो । 

    प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना  औँल्याउँदै उहाँले भन्नुभयो, “प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।” मुख्यमन्त्रीले अहिलेसम्म नेपालमा र खासगरी सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोगप्रति एनआरएनलाई धन्यवाद दिनुभयो ।  

    आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्त गर्नुभयो । 

    एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नेपालमा कोभिड–१९ को समस्या आउँदा सबैभन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको थियो ।” एनआरएनको पहलमा नेपालमा रु दस अर्ब लागानीका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
     
    संस्थाका पूर्वअध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, पत्रकार दीर्घराज उपाध्याय लगायतले सुदूरपश्चिममा लगानी मैत्री वातावरणका सम्भावना र चुनौतीका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । 

    विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटरलगायत सामग्रीको सहयोग गरेको जनाइएको छ ।

    प्रकाशित मिति :माघ ३, २०७८ सोमबार - १८:२६:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology