Logo

बुधबार, जेठ ११ गते २०७९

विपनाको पर्खाइमा ‘पाकरी खोला जलाशय आयोजना’

विपनाको पर्खाइमा ‘पाकरी खोला जलाशय आयोजना’

  • 6.8K
    SHARES
  • विपनाको पर्खाइमा ‘पाकरी खोला जलाशय आयोजना’

    चलनचल्तीको भाषामा आकाशबाट परेको पानी, हिउँ, असिना, खोल्साखोल्सीबाट रसाएको पानीलाई बाँध बनाएर संकलन गरेका विशाल पोखरी वा ताललाई जलाशय भनिन्छ । 

    images
    images

    आजको युगमा संसारका अनेकौं स्थानहरुमा मानिसले पिउने पानीको समस्या टार्न, बाँझो जमिनमा सिंचाई सुविधा पुर्याउन, विद्युत्उर्जा उत्पादन गर्न र मनोरञ्जनका लागिसमेत विशाल पोखरी वा कृत्रिम तालको निर्माण गर्ने चलन छ ।

    स्याङ्जा जिल्लाको सदरमुकामबाट झन्डै ५५ किमी दक्षिणमा कालीगण्डकीको किनारमा रहेका हराभरा बनपाखा, फाँट र काईंयो जस्ता डाँडाकाँडाले सुसज्जित चापाकोट नगरपालिकाको सदरमुकाम सुन्तलीटारबाट मुस्किलले एक किमी उत्तरपट्टि पाकरीको शिरानमा रहेको पाकरी खोला जलाशयको अवधारणा पनि एक्कासी सतहमा छचल्किएको छ ।

    प्राकृतिक सुन्दरताले सजिएको पाकरी खोला त्यस भेगका स्थानीय जनताको लागि अमृतखोला नै हो भन्दा पनि अत्युक्ति नहोला । खासमा भन्दा यो परियोजना अहिलेको लागि चापाकोटको सन्दर्भमा एउटा महत्वाकांक्षी सपना नै हो । फेरी सपना नदेखी विपना कहाँ आउँछ र ?
    यो आयोजनाको सबैभन्दा सकारात्मक पक्ष त यो छ कि आयोजनाबाट प्रभावित हुने क्षेत्र छँदैछैन भन्दा पनि अत्युक्ति नहोला ।

    जलाशयको पूर्वपट्टी कुनै एक वा दुईजना व्यक्तिको नाममा रहेको करिव दुई–तीन रोपनी बुट्यानजन्य पखेरो बाहेक मुआब्जा दिनुपर्ने जमीन यो प्रस्तावित जलाशय क्षेत्रको चारै किल्लाभित्र पर्दैन । अरु सबै जग्गा सार्वजनिक क्षेत्रभित्र पर्दछ । यसरी हेर्दा पनि जलाशयको लागतमा अनावश्यक भार थपिने समस्या देखिदैन ।

    बाँधको उक्त आयोजना निर्माणले विशेषगरी वडा नं ९, २ र समग्र चापाकोट नगरपालिका समेतको समृद्धिमा कोशेढुंगाको काम गर्ने कुरामा दुइमत छैन । 

    चिर्केथुम्काबाट झरेको खोल्सी, जउनडाँडाबाट झरेको खोल्सी र दामगाढ खोल्सी गरी यो खोलाका तीनवटा सहखोल्सीहरु छन् । यो खोलामा सुक्खा मौसममा पनि कमसेकम तीन चार ईन्चभन्दा कम पानी बग्दैन । पाकरीका स्थानीयबासीहरु पिउने र धोइपखाली गर्ने पानीको लागि जुगजुगदेखि यहि खोलामा आश्रित छन् ।

    यो खोला चुरेटारी र पाकरीको मध्यभागबाट मजुवा हुँदै मकुन्देखोलाको रुपमा कालीगण्डकी नदीमा गएर मिसिन्छ । 

    यो आयोजनाको परिकल्पनाकार एवं अभियन्ता कालीगण्डकी खबर डट कमका सम्पादक अर्जुन खनाल हुन् भने यसको दह्रो समर्थनमा वडा नं ९ का अध्यक्ष शंकरभक्त भण्डारीले नगरपालिकामा सम्भाव्यता अध्ययनको लागि सिफारिश गरेका हुन ।

    नगरप्रमुख शिवकुमार गिरीको सकारात्मक स्वीकृति र अगुवाईमा नगरपालिकाले यसको सम्भाव्यता अध्ययनसँगै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम अगाडि बढाएको छ । 

    नगरपालिकाले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार बाँधको उचाई अन्दाजी ३०–४० मिटर अग्लो हुने आँकलन गरिएको छ । बाँधको पिँधको फैलावट करीव १० मिटर जतिको हुने र क्लाईमेक्समा आइपुग्दा अन्दाजी ३०–४०  मिटरसम्म फराकिलो हुने देखिन्छ । त्यसैगरी जलाशयको मध्यभागतिरको फैलावट करिव १०० मिटरभन्दा बढी र जलाशयको लम्बाई चार–पाँच सय मिटर र बनसँगको सहमति आवश्यकता बढाउन मिल्ने अनुमान गरिएको छ ।  

    तत्पश्चात चापाकोटका स्थानीयवासीहरुबीच यसको उपादेयताको सवालमा एक्कासी चर्चा र परिचर्चा आकाशीयको छ । चापाकोटकै नमूना हुन सक्ने पाकरीखोला जलाशय निर्माणको पक्षमा जबर्जस्त माहोल तातिएको छ ।

    यो आयोजना सफल भएको खण्डमा वडा नं ९ र २ का स्थानीयबासीहरुलाई मुख्यगरी निम्नलिखित फाइदाहरु हुने देखिन्छ ।
    १. पिउने पानीको प्रर्याप्तता ।
    २. सिंचाईको सुविधा 
    ३. पर्यटनको विकास । 

    बुँदा नं १ अनुसार यो जलाशयको सफलतापश्चात् ‘एक घर एक धारा’ को अवधारणा अनुरुप स्थानीय जनताका घरघरमा प्रर्याप्त मात्रामा पिउने पानी आपूर्ति हुनेछ ।

    बुँदा नं २ अनुसार ज्याग्दी नहरको सिंचाईबाट बन्चित पाकरी, कान्तिपुर र कुमाल गाउँमा सिंचाई सुविधा पु¥याएर मनग्गे मात्रामा अन्नबाली, मौसमी तरकारी, तेलहन, फलफूल आदि उत्पादन गर्न सकिने छ । फलस्वरूप स्थानीय जनता कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्नेछन् ।

    बुँदा नं ३ अनुसार यो स्थान आन्तरिक पर्यटन विकासको लागि चापाकोटमा आर्काे आकर्षक केन्द्र बन्न सक्नेछ । एकातिर जलाशयको वरिपरी पिकनिक स्पट बनाएर वनभोजको आनन्द लिन चाहने महानुभावहरुलाई मनोरञ्जन दिलाउन सकिन्छ भने अर्कोतिर जलाशयमा विभिन्न प्रजातिका माछाका थुप्रै भुराहरु हालेर निश्चित समयपछि इच्छित आगन्तुकहरुलाई सशुल्क फिसिङ्गको सुबिधा प्रदान गर्न सकिन्छ ।

    त्यसैगरी जलाशयको आसपासमा समयसिमा राखेर मार्ट एवं कोल्ड स्टोर, रेष्टुरेन्ट एण्ड बार, फास्टफुड आदि फूड एण्ड वेभरेज सम्बन्धी व्यवसाय गर्न अनुमति दिएर आर्थिक लाभ लिन सकिन्छ । शान्त वातावरणमा मन टहलाउन मन भएर विभिन्न ठाउँबाट आईपुगेका आगन्तुकहरुलाई हावाको मन्द लप्कासँग तरंगिएको जलाशयले मोहित पार्ने हुनाले उनीहरु नजिकै सञ्चालनमा रहेका गेष्ट हाउस तथा लजहरुमा बिश्राम गर्न चाहन्छन् । तसर्थ पाकरी, चुरेटारी वा वरपर आरामदायी अतिथि गृहको निर्माण गरेर आगन्तुकहरुलाई गुणस्तरयुक्त लजिङ्ग एण्ड फुडिङ्गको व्यवस्था गर्न सके त्यसको कमाईमा रतिएर स्थानीय बासिन्दाहरु स्वरोजगारमूलक नयाँ पेशामा स्वस्थ प्रतिस्पर्धा गर्दै आत्मनिर्भर बन्न सिक्ने थिए ।     

    अर्काेतिर जलाशय परिसरभित्र स्पोर्ट टुरिजमको रुपमा जलाशयको फेरै रुट बनाएर जोगिङ्ग गर्न चाहने महानुभावहरुलाई सेवा प्रदान गरेर, निश्चल जलाशयमा बोटिङ्गको व्यवस्था गरेर, जलाशय परिसरमा टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट आदि बनाएर सम्वन्धित खेलप्रेमीहरुलाई सुबिधा दिन सकिन्छ । जलाशयको बगलमा स्विमिंग पुल बनाएर पौडीका पारखीहरुलाई पौडन र पौडी सिक्न खोज्नेहरुलाई पौडीकला सिकाएर वैकल्पिक आय आर्जन गर्न सकिन्छ । 

    धार्मिक ग्रन्थ, ऐतिहासिक डकुमेन्टस्, कविता, उपन्यास, कथा आदि दुर्लभ कितावहरु राखेर लाईब्रेरीको स्थापना गरी समस्त शिक्षाप्रेमीहरुलाई थप ज्ञान प्राप्त गर्न र हाम्रा इतिहास, जातीय भेषभूषा, हराउँदै जान लागेका चालचलन र संस्कृतिजन्य सामग्री, लोपोन्मुख बन्यजन्तु, चराचुरुंगी र सरिसिर्पको झल्को मेटिने खालका वस्तुहरु समेटेर सुसम्पन्न संग्रहालयको स्थापना गरि नयाँ पुस्ता र सोधकर्ताहरुलाई जानकारी गराउन सकिन्छ । 

    जलाशय परिसरभित्र प्रवेश गर्न मूलद्वारमा न्यूनतम शुल्क लिनेदिने व्यवस्था गर्न सकिन्छ । परिसरभित्र लिन चाहेका अन्य अतिरिक्त क्रियाकलापमा पनि यथोचित शुल्क असुलेर सेवा दिनु श्रेयष्कर हुन्छ । 

    यसो गर्दा उपरोक्त सरल व्यवस्थापनको लागि पहरा दिने पहरेदार, प्रवन्ध गर्ने प्रवन्धक, सुपरभाईज गर्ने सुपरभाइजर र सिकाई गर्ने प्रशिक्षक आदिलाई रोजगारीको अवसर सृजना हुन पुग्दछ । 

    यसका अलावा यो जलाशय गाउँको शिरानमा अवस्थित हुने हुनाले सुकिसकेका पानीका मूलहरुमा पानी सर्सिन गई अतिरिक्त सुबिधा पुग्दछ । टाक्सिएका रुखविरुवा र वनस्पतिहरु मौलाउँदै जानेछन् भने नयाँ–नयाँ प्रजातिका चराचुरुंगी र जंगली जनावरको नयाँ वासस्थानको रुपमा यो जलाशय क्षेत्र स्वतस्फुर्त रुपमा मुकर्रर हुन गई सिंगो वडा नं ९ र २ का केही भागहरु हरेक दृष्टिले अब्बल हुनेछ । 

    लेखक पर्यटन व्यवसायी हुनुहुन्छ ।

    पो पनि पढ्नुहोस् :- चापाकोटमा जलाशयः कृषि र पर्यटन उठाउने मेरुदण्ड

    प्रकाशित मिति :माघ ९, २०७८ आइतबार - १९:४५:०२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पूर्णचन्द्र भुसाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology