Logo

बुधबार, जेठ ११ गते २०७९

भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा बन्दीपुरका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण

भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा बन्दीपुरका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण

कालीगण्डकी खबर

९, चैत २०७८
  • 637
    SHARES
  • भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा बन्दीपुरका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण

    दमौली, ९ चैत । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ । साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो ।

    images
    images

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले ४६ जग्गाधनीलाई पुर्जा वितरण गर्नुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले देशभर नापी भइसकेका गाउँ ब्लकका नागरिकलाई पुर्जा वितरण गर्ने अभियान सुरु गरिएको बताउनुभयो । 

    भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग गठन गरिएको र आयोगमार्फत सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले ब्लकमा परेका व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको जानकारी दिनुभयो । कार्यालयले विगतमा पनि जिल्लाका विभिन्न ठाउँका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको उहाँले बताउनुभयो । 

    पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।

    एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नं नापेर भोगका आधारमा पुर्जा वितरण गरेको हो ।

    तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।

    प्रकाशित मिति :चैत ९, २०७८ बुधबार - २१:२७:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology