Logo

बुधबार, जेठ ११ गते २०७९

तिमीलाई लाज लाग्दैन ?

तिमीलाई लाज लाग्दैन ?

कालीगण्डकी खबर

१२, वैशाख २०७९
  • 2.0K
    SHARES
  • तिमीलाई लाज लाग्दैन ?

    गत हप्ता भारत पुगेको थिएँ । थोरै काम थियो अनि थोरै घुमघामका योजनाहरु थिए । 

    images
    images

    नेपाल एयरलायन्सको दिउसो १ बजेर २५ मिनेटमा काठमाडौ देखि दिल्लीको यात्रा थियो । समयमै एयरपोर्ट पुगियो । हामीहरुको ८ जनाको टिम थियो दिल्ली जानको लागि । संयोगले इण्डिगो एयरलायन्सको पनि काठमाडौ देखि दिल्लीको फ्लाइट १ बजेर २५ मिनेटमा नै थियो । करिब १ बजे देखि उसमा बोर्डिङ्ग शुरु भयो । हामीले देख्दा देख्दै ठ्याक्कै समयमै उड्यो । हाम्रो फ्लाइट चाहिँ सवा दुई बजेतिर उड्यो । अनौठो लाग्यो, किन यो ढिलो उड्यो होला ? यस्तै यस्तै देख्दा खिन्न भएर आफ्नो पर्यटन मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    दिल्ली पुगेपछि एक हस्पिटलमा जानु थियो । हस्पिटल कुनै शपिङ मल भन्दा कम थिएन । अनि टिचिङ हस्पिटल सम्झेँ । जाँदा खेरि हम्किरहेका मान्छेहरु बेडमा हुन्छन् । कुरुवाहरुको दौडा दौड देखिन्छ । तर यहाँ त त्यस्तो थिएन । यहाँ न कसैले डब्बामा खाना लिएर गएको देखियो न त गल्ली भरि कुरुवाहरुको भीड देखियो । एघारौं तलाको डाक्टरलाई भेट्न गएको फटाफट भेटियो । अनि उहाँले गर्न पठाउनुभएको रगत जाँचको रिपोर्ट पनि ३ घण्टामै सकियो । अनि डाक्टरलाई देखाएर फर्किएँ । यस्तो पनि हुनसक्छ र ? भोलिपल्ट त सबै काम सकियो । यो हस्पिटललाई देखे पछि आफ्नो स्वास्थ्य मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    आफन्तकोमा केही दिन बसेँ । पानी चौबिसै घण्टा आउँदो रहेछ । बाटोमा कतै एउटा पनि पानीको ट्यांकर भेटिएन । छल्ल पानीले सावरबाट नुहाएँ । अनि मेलम्ची सम्झेँ । काठमाडौको घरबेटीले भाइ ११ दिनमा पानी आउँछ, अल्लि सम्हालेर प्रयोग गरौं है भनेको याद आयो । अनि आफ्नो खानेपानी मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    म बसेको ठाउँमा ४ वटा विल्डिङ्गको एउटा कोलोनी थियो । हरेक बिल्डिङ्गमा करिब ४८ वटा फ्ल्याट रहेछ । यसरी ४ वटा बिल्डिङ्गमा १९२ वटा घर भए । करिब १० रोपनी जग्गामा फैलिएको थियो होला त्यो कोलोनी । यसरी १० रोपनी जग्गामा करिब २०० घर, अण्डरग्राउण्डमा पार्किङ्ग अनि अगाडि पट्टि बच्चा बच्चीहरु बिभिन्न खेल खेलिरहेका थिए । थप केही दिनको बसाइमा केही ठाउँमा घुमियो । कहीँ कहीँ २८ लेनका पनि बाटो भेटियो । चारै तर्फ फ्लाइओभरहरु भएकोले खास्सै ट्राफिक जाम पनि थिएन । कतै पचासौं तलाका शिशै शिशाका घर त कतै माथि माथि रेलहरु दौडिइरहेका छन त बाटो भरी हरियाली छ । न कतै चार आने घडेरी देखियो त न बेढंगका किराना पसलहरु । अनि आफ्नो शहरी बिकास मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    एक दिन अक्षरधाम मन्दिर जाने योजना गरियो । करिब २० हजार मुर्ति सहितको करिब ७ सय रोपनी जग्गामा फैलिएको यस मन्दिरमा एकै दिनमा लाखौं मान्छेहरु आउँदा रहेछन् । यस मन्दिर घुम्न, त्यहाँको सबै प्रदर्शनी हेर्न, पानीको फोहराको प्रदर्शनी हेर्न करिब एक दिन लाग्दो रहेछ । यस्तो व्यवस्थित मन्दिर देखेपछि पशुपतिनाथ मन्दिरको व्यवस्थापन सम्झेँ । शुरुमै धुलै धुलो भएको पार्किङ्ग, जाँदा जाँदैको डुङ्गडुङ्गती गन्हाउने बाटो बिचकै शौचालय, बाग्मतीको फोहोर पानी बिचकै हिन्दुहरुको आराध्य देवको सबैभन्दा ठूलो आस्थाको केन्द्र श्री पशुपतिनाथको मन्दिरको हालत देखेर आफ्नो संस्कृति मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    भोलिपल्ट बेलुकी ४ बजेको रेलको यात्रा गर्नु थियो मुम्बइको लागि । ट्याक्सी लिएँ निजामुद्दिन रेल्वे स्टेशनको लागि । ट्याक्सीमा करिब ३७० भाडा उठ्यो । ट्याक्सीलाई रु। ५०० दिएँ । उसले त फिर्ता गर्न पैसा छैन, हामी त सबै जसो पेटिएमबाट पैसा लिन्छौं । नगद त हामी सित हुँदै हुँदैन भन्न थाल्यो । कता–कता बाट पचास रुपैयाँ दियो अनि ट्याक्सी ड्राइभर पनि नगद बिहिन कारोबार गर्दारहेछन् भन्ने देखेर अचम्म लाग्यो । अनि एक पटक दरबारमार्गको पसलमा सामान किनेर क्रेडिट कार्डबाट पैसा तिर्न लाग्दा हामीले यसरी कार्डबाट पैसा लिने हो भने त ३ प्रतिशत अतिरिक्त लिन्छौं भनेको सम्झिएँ अनि प्रविधि मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो –तिमीलाई लाज लाग्दैन ?

    दिल्लीबाट मुम्बई जाँदा राजधानी एक्सप्रेसबाट गइयो । करिब १,७०० कि।मि। यात्रा करिब १८ घण्टामा पूरा भयो । मेची देखि महाकाली पुगेर फर्केर मेचीसम्म सुती सुती, भित्रै खानपीनको व्यवस्था रहेको, वातानुकुलीत वातावरणमा रही रही १८ घण्टामा नै पुगिने । अनि थानकोटको जाम सम्झेँ, काठमाडौ देखि पोखरा करिब २ सय किमि यात्रालाई बसले दिनभरि लागेको सम्झेँ । अनि आफ्नो यातायात मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    दिल्ली देखि मुंबइ आउँदा बाटोमा खेतै खेत देखियो । तरकारी देखि अन्नबालीहरु प्रशस्त फलेका । कहीँ ट्याक्टरहरु चलिरहेका त कहीँ मेशिनले गहुँ काटीरहेका थिए । भक्तपुरको खेत भरी प्लटिङ्ग सम्झेर आफ्नो कृषि मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    मूम्बईमा करिब ७ वर्ष बसेको थिएँ । घाटकोपरमा क्लास लिएर अन्धेरीमा अफिस जानुपथ्र्यो । करिब १ घण्टा लाग्थ्यो । घाटकोपर देखि दादर गएर ट्रेन बदलेर अन्धेरी पुग्दा फेरो पर्ने भएर करिब १ घण्टा लाग्थ्यो । अहिले त घाटकोपर देखि अन्धेरी हुँदै वर्सोबासम्म मेट्रो ट्रेन चल्दोरहेछ । अहिले त १५ मिनेटमै पुगिने । कति राम्रो पूर्वाधार केही वर्षमै बनेर सञ्चालनमा पनि आइसकेको रहेछ । अनि आफ्नो भौतिक योजना तथा पूर्वाधार मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    केही काम विशेषले महाराष्ट्रको औद्योगिक क्षेत्र जानु थियो । सयौं किलोमिटरमा फैलिएको औद्योगिक क्षेत्रमा बिभिन्न उत्पादनहरु भइरहेका थिए । भित्रै सम्म रेल जाँदोरहेछ । त्यहीँबाटै सामान लिएर बन्दरगाहसम्म रेलमा सिधै सामान आउने जाने रहेछ । अनि काठमाडौ सम्म आउने सयौं ट्रकको लस्करको याद आयो । केही ट्रक थानकोटको उकालोमा बिग्रेर जाम छिचोल्न सात आठ घण्टा लागेर थानकोटको जाम छिचोलेको सम्झेर उद्योग मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    कहिले रेलवे स्टेशन त कहिले बस स्ट्याण्ड त कहिले पर्यटकीय क्षेत्रमा घुम्दा ठूला ठूला होर्डिङ्ग बोर्डमा १० प्रतिशतमा कहीँ शैक्षिक ऋण त कहीँ व्यवसायिक ऋणको विज्ञापन देखिन्थ्यो । केही पूराना सिए साथीहरु भेटियो । हरेक ऋण सजिलै पाइँदोरहेछ । अनि अहिले नेपालमा न ऋण पाइने, न एल।सि। खोल्न पाइने, रहेका ऋणहरुको व्याज पनि अचाक्ली बढेको सम्झेर अर्थ मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    मुम्बईको वांखडे स्टेडियममा आइपिएलको म्याच थियो । राजस्थान र कोलकाताको बिचमा म्याच चलिरहेको थियो । अनि देख्दा देख्दै चाहलको ह्याट्रिकको मद्दतले राजस्थानले खेल जित्यो । कस्तो घमासान खेल छ । देश विदेशका खेलाडीहरु आएर हजारौंका दर्शकहरुको बिचमा खेल्दा कति उत्साह छ । अनि धुर्मुस सुन्तलीले बनाउन नसकेको स्टेडियम सम्झिएर खेलकुद मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन रु

    मुम्बईमा रहँदा समुन्द्र किनारमा खेल्न जाने सोँच बनाइयो । मुम्बईबाट पानी जहाजमा मुम्ब्रा गएर त्यहाँबाट ट्याक्सीमा ९ किमि पर किहिम बीच जाने कुरो भयो । गाउँ हुँदै २ लेनको सफा र कालोपत्रे बाटो हुदै गइयो । मैले ट्याक्सी ड्राइभरलाई सोधेँ यो बाटो यही साल पिच भएको हो रु उसले भन्यो होइन ४ वर्ष भो । दुबै तिर र बिचमा सेता धर्का सहितको नयाँ जस्तो बाटो देखेर हाम्रो गाउँतिर बनेको ६ महिनामै बिग्रको बाटो सम्झेर पूर्वाधार मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो– तिमीलाई लाज लाग्दैन ?

    किहिम बिचमा खेलेपछि एउटा रेष्टुरेण्टमा खाना खाने निधो गरियो । मेरो साथीले टुच्च एक बोतल चुस्की लगाउने मन गर्नुभयो र  बियर माग्नुभयो । वेटरले यहाँ त पिउन पाइँदैन । यस क्षेत्रमा एउटा मात्रै रक्सी पसल छ र पिउनको लागि तल समुन्द्र किनारमा एउटा मात्रै बियर बार छ । अरु ठाउँमा त पिउन पाइँदैन भन्यो । अनि काठमाडौमा पसलै पिच्छे रक्सीका दुकान र घरै पिच्छे भट्टी सम्झेर आपूर्ति मन्त्रीलाई सम्झेर सोध्न मन लाग्यो – तिमीलाई लाज लाग्दैन ?

    मुम्बइबाट काठमाडौ उत्रिएँ, अनि मोबाइल अन गरेँ । समाचार हेर्न मन लाग्यो, संयोगवश एउटा समाचारमा ध्यान गयो । यसको विषय थियो – काठमाडौ विमानस्थलमा एउटा मात्रै एटिएम भएकोले विदेशी पर्यटकले अन अराइभल भिसाको लागि युएसडि २ सय साथमा ल्याउनुपर्ने । अनि सरकारलाई भन्न मन लाग्यो– तिमी त निर्लज्ज नै हौ ।

    यस नियात्राकथामा मेरो एक हप्ताको भ्रमणको क्रममा भारतले पूर्बाधारमा गरेको फड्कोको आधारमा महशुस गरिएका तथ्यहरु छन । धेरै कुरामा भारतीय सरकारलाई पनि तिमीलाई लाज लाग्दैन भनेर भनेर सोध्न सकिने विषयहरु छन । नेपाली भूभागमा हमेशा भारतको गिद्देदृष्टि रहिआएको नै छ । हामीहरु जन्मेदेखि नै भारतले सीमा मिचेका समाचारहरु सुनिआएकै छौं । हाम्रो आन्तरिक मामलामा हमेशा हस्तक्षेप गरी कसरी नेपाललाई गरिब राख्न सकिन्छ भन्ने कुरामा भारतको ध्यान रहन्छ भन्ने कुरामा दुइमत छैन । सामान्य बाटो बनाउने देखि बिजुलीका पावरहाउसहरु बनाउँदा पनि भारतको सूक्ष्म हस्तक्षेप रहिआएको छ । भारतको कुनै पनि छिमेकी सित मित्रबत व्यवहार नरहनु पनि यसको प्रमाण हो । कुनै दिन अन्तर्राष्ट्रिय मञ्चमा उभिएर भारतलाई पनि सोध्न मन छ – तिमीलाई लाज लाग्दैन ?

    एफ.सि.ए. भोजन अर्याल

    प्रकाशित मिति :वैशाख १२, २०७९ सोमबार - ०९:०२:१० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology