दमौली, २९ वैशाख । तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ ।
यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिनुभयो ।
विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।
विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले) ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताउनुभयो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।