Logo

बुधबार, जेठ ११ गते २०७९

जेठदेखि आइतबार पनि विद्यालय बिदा

जेठदेखि आइतबार पनि विद्यालय बिदा

पत्रपत्रिकाबाट

२९, वैशाख २०७९
  • 232
    SHARES
  • जेठदेखि आइतबार पनि विद्यालय बिदा

    काठमाडौं, २९ वैशाख । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ ।

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार बिदा दिन सकिने निर्णय गरेको हो । गत १३ वैशाखको मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गर्ने निर्णय गरेको हो । जसअनुसार अब शुक्रबार पनि पूरै समय पठनपाठन हुनेछ । बैठकले वार्षिक २० दिन अन्य बिदा कटौती गरे तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आइतबार बिदा दिएर शुक्रबार ४ बजेसम्म कक्षा सञ्चालन गर्दा साप्ताहिक रूपमा ३ घण्टा अपुग हुन्छ । तर, वर्षभरिका २० दिन बिदा कटौती गरेर कक्षा सञ्चालन गरेको अवस्थामा अपुग घण्टा पूरा हुन्छ ।

    सरकारले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदा दिँदै आएको छ । अहिले हिउँदे, बर्खे गरेर ४५ दिन र स्थानीय बिदा ५ दिन दिइँदै आएको छ ।

    ४५ दिनको हिउँदे, बर्खे बिदा ३० दिनमा झारेर विद्यालय सञ्चालन गर्दा आइतबारको बिदा पूर्ति गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    उता, शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेलगत्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन भने त्यसको विपक्षमा उभिएको छ । प्याब्सनले सातामा दुई दिन बिदा दिँदा पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । उसले सातामा दुई दिन बिदा दिँदा शिक्षा नियमावलीमा भएको व्यवस्थाविपरीत १८० दिन पढाइ हुन नसक्नेसमेत जिकिर गरेको छ ।

    प्रकाशित मिति :वैशाख २९, २०७९ बिहीबार - ०७:४६:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology