सत्ताको कवज बनेर
सत्ताको पुजारी भएर
जिन्दावाद! होइन
आवश्यकताको पक्षमा
अन्यायको विपक्षमा
समानताकोे लागि
निकाल
जुलुस निकाल
नभए पनि म त्यहाँ
म हुनेछु त्यहीँ
नसुने पनि शासकले
जाग्नेछ जनता ।
सत्ताको स्वादमा
निकालिएका जुलुस
पहिरिएका खादा र माला
लगाइएका अविर
केवल
भजन पश्चातको
प्रसाद ग्रहणको लागि हो
केवल
मिलेर खाने मेलो हो
त्यसैले
जुलुस निकाल्ने
अनि
जुलुसको पछि लाग्नेहरु हो
सोच
जुलुस
कसको लगानी
अनि
कसको निम्ति ?
तथापि
जुलुस निकाल्नै पर्छ
निकाल जुलुस
केही गर्न नसकोस जुलुस
कम्तिमा
सोच्न बाध्य पारोस्
शासकलाई पटक पटक
उत्साह भरिरहोस्
दमित र श्रमिकलाई
जसले मेरो लागि हो भन्ने
गरोस् अनुभूति
तब त
जुलुस निकाल
अन्यायको विपक्षमा
न्यायको मार्गमा
उज्यालो थपोस् केही
सुदूर यात्रामा ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।