Logo

मंगलबार, असार २१ गते २०७९

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

पत्रपत्रिकाबाट

११, जेठ २०७९
  • 370
    SHARES
  • शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

    काठमाडौं, ११ जेठ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

    images
    images

    निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाए पनि मतदाताले भने अस्वीकार गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेख्नुभएको छ ।

    नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । श्रीमती सिर्जना सिंहलाई उनले पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि काठमाडौं महानगरका मतदाताले अस्वीकार गरेका छन् ।

    काठमाडौं महानगरको मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ५० हजार ३० मत ल्याउँदै गर्दा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेत्री सिर्जना श्रेष्ठ ३० हजार ७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । एमालेका नेता एवं काठमाडौंका पूर्वमेयरसमेत रहेका मेयरका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

    कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी थिइन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

    कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।

    तिलोत्तमा नगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस नेता रामकृष्ण खाँणले १७ हजार ५ सय ४३ मत ल्याएर अग्रता लिइरहेका छन् । खाँणलाई एमालेका उम्मेदवार मोहन चापागार्इंले १६ हजार ६ सय ५९ मतसहित पछ्याइरहेका छन् ।

    यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजयी भइसकेका छन् । बाह्रविसेमा एमालेका उम्मेदवार निम फुन्जो शेर्पाले ५ हजार ४ सय ३३ मत ल्याएर दोस्रो भएका छन् ।

    कांग्रेसले स्थानीय तहसम्बन्धी जारी गरेको घोषणापत्रमा स्थानीय तहका जनप्रतिनिधिले मनोनीत गर्दा आफ्नो परिवारका सदस्यलाई नराख्ने उल्लेख गरेको थियो । तैपनि केन्द्रमा राम्रो प्रभाव हुनेले पालिकामा उम्मेदवार बनाउनका साथै विजयी गराउनसमेत सफल भएका छन् ।

    प्रकाशित मिति :जेठ ११, २०७९ बुधबार - ०७:१५:४३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology