स्याङ्जा १४ जेठ । संविधानसभा सदस्य एवं नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति राजु थापाले राज्यले सहिद सम्मानको नीति बनाएर सहिदसहित उहाँका परिवारलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवसको अवसरमा आज सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजनामा पुतलीबजारमा गरिएको कार्यक्रममा बोल्दै संविधान सभा सदस्य थापाले नेपालको विभिन्न राजनीतिक कालखण्डका सहिदका बलिदानीले पुरयाएको योगदान र त्यागका कारण सबै जना स्वतन्त्र भएको दाबी गर्नुभयो ।
जवसम्म राज्यले सहिदको उच्च सम्मान गर्दैन तबसम्म राजनीतिक संस्कार राम्रो नहुने जनाउदै नेपाली काँग्रेसले यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महेन्द्र पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रसंगै बिस्तारगरी नगरकै नमूना पार्क निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तुलसी गिरी, काँग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य इन्जिनियर अनुप श्रेष्ठ, कांग्रेस नेता सुजन गहतराज, क्षेत्रीय सहसचिव सूर्य लामिछाने, वडा अध्यक्ष जितेन्द्रप्रका मल्ल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेकपा माओवादी केन्द्रका मित्रबन्धु पौडेल, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सहिद शाहका योगदान र बलिदानीका बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हुमनाथ ढकालले स्वागत सदस्य कोैशिल्या पौडेल क्षेत्रीय धन्यवाद एवं सचिव गणेश ढकालले संचालन गर्नुभएको थियो ।
निरंकुश पञ्चायती शासन ब्यवस्था बिरुद्ध २०३६ सालको बिद्यार्थी आन्दोलनमा क्रममा हालको पुतलीबजार नगरपालिका १ स्थित सहिद चोकमा १९ बर्षको उमेरमा तत्कालिन सुरक्षाकर्मीको बन्दुकका गोली लागेर जेठ १४ गतेका दिन महेन्द्र शाहको मृत्यु भएको थियो ।
सोही दिनको स्मरण गर्दै नेपाली काँग्रेसले प्रत्येक बर्ष जेठ १४ गते विविध कार्यक्रम गरी सहिद महेन्द्र शाहको स्मरण गर्दै आएको छ । शाहको जन्म पुतलीबजार नगरपालिका १४ सतौमा भएको हो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।