Logo

मंगलबार, असार २१ गते २०७९

सरल नेताको स्मृतिमा

सरल नेताको स्मृतिमा

तेजविलास

३१, जेठ २०७९
  • 1.0K
    SHARES
  • सरल नेताको स्मृतिमा

    १. राजनीति पाटोमा डिआर
    डिआर पौडेल सरल बाटोबाटै केन्द्रीय राजनीतिमा आएका नेता हुन् । स्याङ्जा जिल्लामा जन्मिएर चितवनलाई राजनीति भूगोल बनाएका डिआरले चितवनबाटै आफूलाई चिनाउन पाए । २०३७ सालदेखि राजनीतिमा संलग्न हुँदै २०७६ सालमा आइपुग्दा उनको जीवन बाँच्नेहरूका लागि स्मृतिमा बदलियो । २०३४ सालमा चितवन बसाई सरेर आएका डिआरको परिवार चितवन जिल्लाको त्यतिबेला अपायक मानिने तर खेतीको उब्जाउ भूमि माडीमा बस्न पुगेको हो । २०३८ सालमा चौथो महाधिवेशनको नेकपा (चौम) को पार्टी सदस्य बनेका डिआर २०४७ मा पार्टी निकट युवा सङ्गठन जनवादी युवा लिगको संस्थापकमध्ये एक हुन् ।

    images
    images

    २०५१ सालमा आइपुग्दा डिआर पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय संयोजक हुन पुगे । उनले थप र विशेष जिम्मेवारी पाउँदै जानुमा बाह्य कारण पार्टीमा समय समयमा आएको विचलन र आन्तरिक रूपमा आफ्नो लगन मुख्य रहेको छ । २०६३ सालमा आइपुग्दा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगका पौडेल नेकपा (एकता केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) एकता प्रक्रिया आएपछि पोलिटब्युरो सदस्य बने ।

    दोस्रो संविधान सभाको निर्वाचन (२०७०) मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका पौडेललाई सोही कार्यकाल २०७३ मा शिक्षामन्त्री जिम्मेवारी पनि प्राप्त भयो । एउटै पार्टीको बहुमत नभएको र पटक पटक फेरिरहने समीकरणले लामो समय भने जिम्मेवारीमा रहन पाएनन् । जति समय कार्यभार सम्हाले त्यसलाई व्यवस्थित ढङ्गले कामहरूमा समेत इमान्दार प्रयास गरेका पौडेलले छोटो कार्यकालमा यही नै गरे भन्ने अवस्था नै भएन ।

    समय अगाडि बढ्दै गयो । २०७४ सालको संसदीय चुनावमा तत्कालीन ए. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले)को गठबन्धनका कारण पनि टिकट प्राप्त भएन तथापि आफ्नो जिम्मेवारीमा नियमित र निरन्तर खटिरहे । पार्टी एकीकरणपछि पनि केन्द्रीय सदस्यको भूमिकामा रहे । आफ्नो राजनीति जीवनमा निरन्तर खट्ने र लागिरहने आफूजस्तै जीवनसाथी गंगा बेल्वासेसँग जीवनसूत्रमा बाँधिएका कारण पनि उनलाई राजनीति जीवनमा सजिलो भयो । दुई छोरीहरूका पिता धनिरामको राजनीतिलाई सघाउने अर्को पाटो पनि छ; पत्रकारिता । उनी जनएकता साप्ताहिकसँग सम्बन्धित रहेर सम्पादन र प्रकाशन काममा निरन्तर खटिइरहे । उनी वैचारिक लेख रचना लेख्ने र साथीभाइसँग वैचारिक बहस छलफलमा राम्ररी जोडिएका थिए । त्यसैले वैचारिक दृष्टिकोणमा उनी स्पष्ट थिए ।

    २. मेरो भेटघाटमा डिआर
    आफू पनि चितवनकै भएको र चितवनका सबै पार्टीका प्रायः नेता कार्यकर्तासँग चिनजान, सम्बन्ध हुने कुरा सामान्य नै हो । यसका अतिरिक्त म काठमाडौं आएपछि मेरो भेटघाट मातृका पोखरेल दाइसँग भयो । अरू लेखकभन्दा अलि भिन्न स्वभाव भएका मातृका दाइले मलाई डिआर पौडेलसँग चिनाएका हुन् । मातृका दाइडिआर पौडेललाई डिआरजी हाम्रो तेजविलासजी पनि चितवनकै हो नि; ए ! सरको कहाँ पो हो भन्नु भयो डिआर दाइले । मैले धादिङको सीमाना कुरिनघाट भन्ने जवाफ दिएँ ।

    यसरी हाम्रो परिचय २०६३ सालमा मात्र भएको हो ।  म राजनीति स्वभावको मान्छे नभएको र डिआर दाइ धेरै साहित्यिक गतिविधिमा सामेल हुन नभ्याउने भएका कारण पनि हाम्रो भेट बीच बीचमा खासै भएन । डिआर दाइ सभासद हुनुपूर्व मुस्किलले २÷३ चोटि मात्र भेट भएको हो । त्यो भेटमा भने डिआर दाइले मलाई अलिकता परिचित जस्तो व्यवहार गरेको मलाई याद छ । २०७० सालमा डिआर दाइ सभासद भएपछि मन्त्री हुनुपूर्व एकचोटि मात्र भेट भएको थियो । यसको अतिरिक्त डिआर दाइ मन्त्री भएको बेला मेरो भेटघाट भएन । म उहाँकहाँ जाने काम पनि कहिल्यै परेन र उहाँलाई अनौपचारिक भेटघाट चिया छलफलमा सहभागी हुने स्थिति मिलेन ।

    ३. मेरो डिआरप्रतिको दृष्टि
    डिआर दाइ मन्त्री भएको समाचार मैले सुनें । मलाई आज पनि मैले सोचेको विषय अनौठो खालको लाग्छ । यस्ता धूर्तहरूको देशमा यी सोझा मान्छे कसरी काम गर्न सक्लान् । खै किन हो मैले डिआर पौडेलमा त्यस्तो छनकमनक, चन्चलपन र रकमी पारा देखेकै थिइन । एउटा सामान्य चरित्र भएको आफू इमान्दार भए देश परिवर्तन गर्न सकिन्छ भन्ने अठोट थियो । त्यसलाई सामान्य भनौं वा विशेष । उत्ताउलो ढङ्ग ढाँचा नभएका डिआर पौडेललाई चितवनको भनेर सबैले पनि राम्ररी याद गरेका रहेनछन् । मेरै गाउँठाउँका राजनीति, साहित्य र सामाजिक गतिविधिमा संलग्न भएका भाइ साथीहरू पनि कहाँका रहेछन् यी अहिलेका शिक्षा मन्त्री भनेको मैले सुनेको थिए । अर्थात् हाम्रो समाजमा लाटलुट गर्ने वा चर्का भाषण गर्ने नेताहरूलाई मात्र समाजले चिन्दछ । सायद त्यो गुण डिआरमा थिएन । यसको अतिरिक्त संविधान सभामा ६०१ जना सदस्य हुने र प्रत्यक्षतर्फ उठेकालाई धेरैले चिन्ने तर समानुपातिकमा को को परे भन्ने थाहा पनि हुँदैनथ्यो । लामो समय मन्त्रालय सम्हाल्न पाएको भए पनि डिआर दाइलाई धेरैले चिन्दथे त्यो पनि भएन । कि त हुनुपथ्र्यो विवादित विषयवस्तु प्रस्तुत गर्ने नेता । त्यो चरित्र पनि डिआर दाइमा थिएन । त्यसैले उहाँलाई पार्टीमा निरन्तर लागेका र उहाँसँग भेटघाट भइरहनेहरूले मात्र राम्ररी चिन्न पाउथे र चिन्दथे । तथापि मन्त्री बन्दा पनि शालीन ढङ्गले नै आफ्नो कार्यकाल पुरा गरे डिआर दाइले । त्यस्तो विवादित स्थिति बनेन । त्यो राम्रो पनि भयो । मन्त्री हुन छुट्टै योग्यता चाहिन्छ त्यो चाटुकारिता हो भन्ने भ्रम हाम्रो समाजमा अझै छ त्यसलाई सिधै चुनौती दिने व्यक्तित्वको रूपमा मैले चिन्ने मौका पाएँ ।

    ४. पछिल्लो भेट डिआरसँग
    एकेडेमीमा बृहत खालको कार्यक्रम थियो त्यो । माक्र्सको द्विसतवार्षिकी कार्यक्रममा एकेडेमीमा वल्लोपल्लो सिटमा बसेर ठूला नेताहरूको भाषण सुनियो । बेलाबेला आफ्ना कुरा पनि भए । कार्यक्रम सकिएपछि हामी एकेडेमी (नेपाल प्रज्ञा प्रतिष्ठान)बाट घण्टाघर हुँदै राजेन्द्र सुवेदी सरको पुस्तक पसल पाठ्य सामग्री पसलसम्म हिँड्दै र बातचित गर्दै आयौं । साथमा डा. धनप्रसाद सुवेदी पनि हुनुहुन्थ्यो । डिआर दाइ रत्नपार्कको ओभरहेडको माथिबाट ललितपुरको बस पाइनेतर्फ लाग्नुभयो । त्यस बीचमा हाम्रो धेरै विषयमा कुरा भइसकेको थियो । त्यस बीचमा डा. धनप्रसाद सुवेदी सरले पनि तपाईहरूको चिनाजान कस्तो छ भन्दा म त दाइलाई राम्ररी चिन्छु भन्दा डिआर दाइले म पनि चिन्छु धेरै पो भो त चिनाजान भएको माृतकाजीले चिनाइ दिनुभएको । त्यति भएपछि मैले केही बोलिन । राजनीति विषयमा धनसर र डिआर दाइको बीचमा भएका कुरा घतलाग्दा थिए । पञ्चायत र बहुदल कालमा डिआर पूर्वतर्फ सङ्गठन गर्न गएको र धन सरसँग राम्रो चिनजान भएको रहेछ ।

    ५. त्यसपछि भेटै भएन
    जतिबेला डिआर दाइ रत्नपार्कबाट छुट्नु भयो त्यसपछि हामी (धन सर र म) हिमालयन बुक सेन्टरको नजिक आएर रोटी तरकारी खायौं । अनि डिआर दाइकै विषयमा बातचित ग¥यौं । मैले साह्रै सोझा लाग्छन् मलाई यी दाइ भन्दा धन सरले इमान्दार छन् । हेर्नु न त मन्त्री भइसकेका मान्छे हामी जस्तै त छन् । यो भनाइले मलाई आजभोलि पनि डिआर दाइलाई सम्झिँदा श्रद्धाको भावले ओतप्रोत बनाउँछ । नेपालमा चुनावमा भाग पनि नलिएका, चुनाव पनि नजितेका, पार्टीका उच्च पदमा चोर बाटोबाट पुगेका अनेक प्रकारका व्यक्तिहरू सुख–सुविधा लिएर राज्यको दोहन गरेर गाडी बंगाला जोडेको यही आँखाले देखेको छ । त्यति मात्र नभएर पार्टीको नाममा उठाएका चुनावी सहयोग र गैर चुनावी सहयोग दुरुपयोग गरेर काठमाडौंमा थुप्रै घर ठड्याउने लालका नाममा दलालहरू हाबी भएको देखिएकै छ । कालो धनलाई एकचोटि बेचबिखन गरेर सेतो बनाइ बसेका मान्छेहरू पुनः चुरीफुरी गरिरहेको दृश्य हेर्दा त ! कता हो कता तुलना हुनै सक्दैन डिआर दाइसँग । आदर्श व्यक्तित्व हुने डिआर दाइ । चाहेको भए उनले पनि पदको दुरुपयोग गरेर नीतिगत भ्रष्टाचारमै धेरै कमाउन सक्थे होला नि ! त्यसो गरेनन् र त साथीहरू र राजनीति गर्ने व्यक्तिहरूका नजरमा सदा सरल जीवन बाँच्ने इमान्दार नेताको रूपमा चिनेका छन्, सम्झेका छन् । त्यस्ता व्यक्तित्वको उमेर छँदै पार्टीमा राजनीति गरेर देशका निम्ति केही गर्ने धोको हुँदै २०७६ साल जेठ ३१ गतेका दिन निधन भयो । त्यो दिन त पत्याउन पनि सकिएन । आफ्नै गृह जिल्ला र आफ्नै बारीमा काम गर्दागर्दै मृत्यु भयो । डिआर दाइको जीवनबाट मान्छे एकदिन मर्ने नै हो तर जीवनलाई सहज, सरल र पारदर्शी बनाएर राख्दा बाँच्नेका लागि पनि सिक्ने पाठ हुन सक्छ भन्ने बुझ्न सकिन्छ । हार्दिक श्रद्धाञ्जली डिआर दाइ ।

    प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलबार - १९:५६:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    तेजविलास

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology