Logo

मंगलबार, असार २१ गते २०७९

मल पाइने भएपछि स्याङ्जाका कृषक खुसी

मल पाइने भएपछि स्याङ्जाका कृषक खुसी

कालीगण्डकी खबर

४, असार २०७९
  • 1.6K
    SHARES
  • मल पाइने भएपछि स्याङ्जाका कृषक खुसी

    वालिङ, ४ असार । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् ।

    images
    images

    स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।

    लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताउनुभयो ।

    “रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो”, उहाँले भन्नुभयो, “सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।” धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो । 

    डिपोले यहाँ आएको मल सूचिकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । 

    वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उहाँले बताउनुभयो ।

    कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । 

    “धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ”, उहाँले भन्नुभयो, “केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।” 

    स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।

    प्रकाशित मिति :असार ४, २०७९ शनिबार - ०७:५२:०९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology