वालिङ, ८ असार ८ । स्याङ्जाको वालिङ नगरपालिकाले आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार नगरप्रमुख कृष्ण खाँणले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा अगाडिका जनप्रतिनिधिले गरेका कामहरुलाई प्राथमिकताको आधारमा निरन्तरता दिइने जनाइएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा गरिब, असहाय तथा भुमिहिनहरुको लागि सुरक्षित आवासको व्यवस्था गरिने जनाइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा स्वरोजगारले प्राथमिकता पाएको छ । बैदेशिक रोजगारीबाट फर्केका तथा कोभिड १९ ले रोजगारी गुमाएकाहरुको लागि ‘स्टार्ट अप’ बिजनेशको अवधारणा ल्याइएको छ ।
लगानी प्रवद्र्धन, जनशक्ति उत्पादन तथा पूर्वाधार विकासले पनि आ.व.२०७९÷०८० मा प्राथमिकता पाएका छन् । शिक्षा, स्वास्थ्य र जनजीविकाको उन्नयनका लागि विशेष कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
नागरिकलाई स्वास्थ्यको प्रत्याभूति दिलाउन स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्ने, दीर्घरोगी तथा महिलासम्बन्धी रोगको रोकथाम, पहिचान र उपचारका लागि घुम्ती सेवाको विस्तार गर्ने नीति अघि सारिएको छ ।
स्वास्थ्यकै क्षेत्रमा गह«ौँ घ्याङ्लिङ अस्पतालमा गर्भवती महिलाहरुको शल्यक्रियाको लागि आवश्यक स्तरोन्नती गरिने जनाइएको छ ।
सार्वजनिक नीति तथा कार्यक्रममा उद्यमशीलतालाई जोड दिने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने, विद्यालय अनुगमनको कार्यलाई तिव्रता दिइने र भुगोल र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई मर्ज गरिने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको विकासको लागि कृषि एम्बुलेन्सको व्यवस्था, स्थानीय कृषि उत्पादनहरुलाई ब्रान्डिङ, प्याकेजिङ गर्दै बजारीकरणलाई थप व्यवस्थित बनाइने भएको छ ।
यस अघि कृषकलाई लगानीका आधारमा अनुदान दिने नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै उत्पादनको आधारमा मात्र अनुदान दिने नीति लिइएको नगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रमा दुध तथा कोदो उत्पादक किसानहरुलाई उत्पादनको आधारमा अनुदान, पशु बीमा तथा एग्रो–इको–टुरिजमको नीति अगाडि सारिएको छ ।
वालिङ नगरपालिका पर्यटकीय क्षेत्र भएकोले केवलकार, पार्क, सडक तथा उद्यानजस्ता संरचना निर्माणको लागि पीपीपी मोडेलमा काम गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । मौजुदा पर्यटकीय क्षेत्रको विकास तथा स्तरोन्नतीको लागि कार्यक्रमहरु ल्याइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले युवा तथा खेलकुद विकास, दलित तथा लोपोन्मुख जातिको आर्थिक उन्नती तथा संरक्षणको कार्यक्रम, एक वडा एक पक्की सडक, आँधीखोला कोरिडोर निर्माण लगायतका कार्यक्रमहरु गरिने भएको छ ।
वालिङमा सञ्चालनमा रहेका सञ्चार माध्यमको विकासको लागि उपकरण खरिदमा बजेट, लोक कल्याणकारी विज्ञापनको व्यवस्था लगायका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।