गिल्गीत बालतिस्तान, ८ असार । पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् ।
पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो ।
घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ ।
दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।