काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ ।
सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेख्नुभएको छ ।
उहाँ निकट एक काँग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौं भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौं ।’
काँग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् ।
यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् ।
यसैगरी काँग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र मन्त्री फेरबदल गर्ने विषयमा अनौपचारिक रूपमा आवाज उठेको बताउँदै आउनु भएको छ । उहाँले प्रतिनिधिसभामा पहिलोपटक सांसद भएकाले मन्त्री फेरबदल गरेर आफूहरूलाई अवसर दिन भन्दै अनौपचारिक रूपमा गुनासो आइरहेको बताउँदै आउनु भएको छ।
हाल सरकारमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकातर्फबाट मन्त्री छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन ।
गठबन्धनमा आबद्ध रहेको दल नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्री देउवालाई पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेरबदल गर्न भन्दै लिस्ट नै बुझाइसकेको छ । तर, प्रधानमन्त्री देउवाले सो दलको मन्त्री फेर्ने आग्रहलाई टार्दै आइरहेका छन् । समाजवादी सचिवालयको २२ जेठको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा समेत नेकपा एसबाट मन्त्री सिफारिस गरिएकालाई तत्काल मन्त्री नियुक्त गरेर सपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिइएको छ ।
यसैगरी बुधबार नै बसेको नेकपा एसको सचिवालय बैठकले समेत पार्टीकातर्फबाट मन्त्री फेरबदल गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको सो दलका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।