काठमाडौं, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ।
उहाँको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो।
तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिनुभएको थियो। सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए। सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भन्नुभयो,‘हामीले हिजो (बुधबार) इजलासमा हाम्रा कुरा राख्यौं।
प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’ सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उहाँले बताउनुभयो।
‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उहाँले भन्नुभयो, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।