Logo

बिहीबार , साउन २६ गते २०७९

सीटीईभीटीमा फेरि असुली धन्दा

सीटीईभीटीमा फेरि असुली धन्दा

पत्रपत्रिकाबाट

२१, असार २०७९
  • 457
    SHARES
  • सीटीईभीटीमा फेरि असुली धन्दा

    काठमाडौं, २१ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ ।

    images
    images

    यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन गरी रकम माग गर्न थालेका छन् ।

    एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउन सहयोगका लागि कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई प्रयोग गर्दै आइरहेका छन् । काफ्लेमाथि यसअघि पनि केही नर्सिङ कलेजलाई सम्बन्धन दिँदा ५ देखि १० लाखसम्म रकम असुली गरेको आरोप लागेको थियो ।

    काफ्ले यसअघिको सरकारको पालामा नियुक्ति भएका हुन् । तर, सेटिङ मिलाउन सिपालु भएकाले वर्तमान सरकार र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उनी प्रियपात्र बन्दै आइरहेको बताइएको छ ।

    सीटीईभीटीका अध्यक्ष एवं शिक्षामन्त्री पौडेलले काफ्लेलाई संरक्षण गरिरहेका छन् । यसरी मन्त्रीले संरक्षण गरेकाले मन्त्री पौडेलले काफ्लेसँग मिलेमतो गरेको प्रस्टै बुझ्न सकिने सीटीईभीटीका कर्मचारीले बताएका छन् ।

    परिषद्ले कलेजको अपग्रेडिङको गर्ने निर्णय गत ९ फागुनमा गरेको थियो । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे कायम गर्ने निर्णय गरेको थियो । चिकित्सासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अप ग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । 

    आयोगले मापदण्ड पुगेका १ सय २२ मध्य ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

    एक कलेज सञ्चालकका अनुसार सीटीईभीटीले करिब दुई साताअघि ६५ वटा कलेजको विषय अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । ती सञ्चालकका अनुसार पत्रमा हस्ताक्षर भएलगत्तै उपाध्यक्ष अधिकारीको समेत मिलेमतोमा रकम बार्गेनिङ हुने गरेको छ । यसरी बार्गेनिङ गरी करोडौं असुल्न खोजिएको स्रोतको दाबी छ ।

    प्रकाशित मिति :असार २१, २०७९ मंगलबार - ०६:५०:२५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology