काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख भएको छ।
असार २७ गतेदेखि वीरगन्जमा बस्ने केन्द्रीय समिति बैठकले जसपाको भविष्य निर्धारण हुने आकलन गरिरहेका बेला प्रधानमन्त्री देउवाले अध्यक्ष यावदलाई सहज हुनेगरी तीन मन्त्री हेरफेर गरिदिएपछि भट्टराई थप अप्ठ्यारोमा पर्नुभएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेख्नुभएको छ ।
भट्टराई पक्षमा देखिएका केही नेतालाई सरकारमा समेट्दै यादवले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको अनुरोधलाई देउवाले स्वीकार गर्दै सोमबार तीन नयाँ नेतालाई सरकारमा सहभागी गराउनुभएको छ।
यसअघि सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्यलाई यादवले फिर्ता बोलाउनुभएको हो । मन्त्री बनाइएका सबै यादवसँग असन्तुष्ट भएर भट्टराई पक्षमा लागेकाहरू हुन्। उनीहरूलाई सरकारमा सहभागी गराएसँगै भट्टराई पक्ष अल्पमतमा परेको निकटस्थहरूको दाबी छ।
भट्टराई पक्षमा सशक्त रूपमा उभिएका महेन्द्र यादवलाई हटाएर उपेन्द्रले मृगेन्द्रसिंह यादवलाई मन्त्री बनाउनुभएको छ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।