खास ठाउँमा पुगेपछि
केही गर्नु पर्दैन
इज्जत जोगाउनै पर्छ
मौन बस
मोल मोलाई गर्ने अर्कै छ
अपजस पनि व्यहोर्नु नपर्ने
कस्तो मज्जा !
हस्ताक्षर गर हाजिर पुस्तिकामा
रमिता हेर
वा
चुपचाप लागे झै गर
जप
खुब जप
राष्ट्रियताको नारा
घोक जनजीविकाको विषय
गर घोषणापत्रको व्याख्या धितमारेर
सम्झन छोडिदेऊ अब
चुनावी बाचा ।
छलफल गर्ने ठाउँमा
मौन बस
बोल्न नपर्ने ठाउँमा
बोल बेसरी विरोधमा बोल
किन चाहियो संसद।
चाहियो किन उपसमिति
किन आवश्यक छ्लफल
समिति संयोजक भत्ता
यीसबै त अरूलाई भुल्याउने कुरा हो
त्यसैले त
भएको कुराको उल्टो गर
सजिलै देऊ निस्सा
मूल घरमा बसेकाहरूले
कानेखुशी गर
पटकपटक भेट मालिकलाई
राष्ट्रिय पोशाक लगाएरै
भेट गोप्य सङ्गठनको प्रमुख
पटक पटक धाउ यताउता
नबोल्ने भनेको बेलामा बोल
बोल्न पर्ने बेलामा बस
मौन बस
नीति बनाउन गएकाहरू
विधिमा नबस
सजिलो हुन्छ पटक पटक
अर्कोलाई गाली गर्न
धारे हात लगाएर भाषण गर्न
त्यसैले बस
यो बेला
मौन बस
मौन ब्रत लिए झै
कता कता मलाई लागेको छ
यो बेला
मौन बस्ने बेला हो
त्यसैले त
मौन बस
प्रत्येक सम्वेदनशील मुद्दामा
प्रत्येक जनजीविकाको सवालमा
यो मौन बस्ने बेला हो।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।