काठमाडौं, १४ साउन । आगामी निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवार उठ्ने लहर चलिरहेका बेला काठमाडौँ क्षेत्र नम्बर २ मा व्यवसायीक पृष्ठभूमिका युवा अनुप बोहोराले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालले २७ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा बोहोराले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
बिजनेस एड्मिनिस्टे्रसनमा स्नातक गर्नुभएका बोहोरा सफल व्यवसायीसमेत हुनुहुन्छ । स्थानीय युवामाझ परिचित बोहोराले परिवर्तन कुनै पाकेको फल नभएको र पर्खेर बसे परिवर्तन नहुने धारणाका साथ उम्मेदवारी दिन लागेको बताउनुभयो ।
‘परिवर्तन पाकेको फल होइन,’ बोहोराले भन्नुभयो, ‘यो आफैं आउँदैन । हामी अघि सर्नुपर्छ र परिवर्तनको बाहक बन्नुपर्छ । म मेरो पिढीका लागि नमूना बनेर यहाँको स्थानीय समस्याहरूलाई राष्ट्रिय मुद्दा बनाएर संसदमा आफ्नो आवाज उठाउन चाहन्छु ।’
बोहोरा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्यसमेत हुनुहुन्छ । व्यक्तिगत घोषणा गरिएको उहाँको उम्मेदवारीलाई पार्टीले सदर गर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला देशव्यापी संगठन बनाउन व्यस्त छ । बोहोरा पनि आफ्नो चुनावी अभियानमा होमिइसक्नुभएको छ ।
सरकारले मङ्सिर पहिलो साताभित्र निर्वाचन हुने बताएपनि अहिलेसम्म औपचारिक रूपमा मिति सार्वजनिक गरेको छैन ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते चुनाव गर्ने गरी आयोग तयार भएर बसेको प्रतिकृया दिनुभएको छ ।
उक्त क्षेत्रमा गत संसदीय निर्वाचनमा नेकपा एसका अध्यक्ष नेपाल निर्वाचित हुँदा नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले १४ हजार ९ सय मत पाएर दोस्रो हुनुभएको थियो ।
विवेकशील साझाका तर्फबाट डा. सूर्यराज आचार्यले भने ७ हजार ४ सय ३६ मत प्राप्त गर्नुभएको थियो ।
आगामी निर्वाचनमा पनि अध्यक्ष नेपाल सोही क्षेत्रबाट उठ्ने तयारी गर्नुभएको छ । युवा उम्मेदवार बोहोराले नेपालसँग आफू प्रतिस्पर्धा गर्न सक्षम रहेको र जनताले आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।