स्याङ्जा, १७ साउन । स्याङ्जाको विरुवा गाउँपालिकाका अध्यक्षले विभिन्न शिर्षकमा मनपरी सेवा सुविधा लिएको पाइएको छ ।
महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार विरुवा गाउँपालिकाका निवर्तमान अध्यक्ष चुन प्रसाद शर्माले भान्सेदेखि निवासी खर्च र दोहोरो सुविधा लिएको पाइएको हो ।
भान्से सुविधा
विरुवा गाउँपालिकाका निवर्तमान अध्यक्ष चुन प्रसाद शर्माले निजी भान्से राखेको पाइएको छ । पालिकाका अध्यक्ष शर्माले अध्यक्षको भान्से भनी लोकनाथ पौडेललाई नियुक्ति गरी मासिक रु १० हजारका दरले १२ महिनाको रु १ लाख २० हजार खर्च लेखेको पाइएको हो ।
पालिकाको बेथितिः अध्यक्ष र उपाध्यक्षले लिए दोहोरो सुविधा
गण्डकी प्रदेश सरकारले जारी गरेको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा गाउँपालिकाका अध्यक्षलाई निजी भान्से राख्न पाउने सुविधा छैन् ।
अध्यक्ष निवास खर्च
त्यसैगरी गाउँपालिकाका निवर्तमान अध्यक्ष शर्माले अध्यक्ष निवास खर्च वापत ८१ हजार ५४५ हजार भुक्तानी लिएको पाइएको छ । पदाधिकारीलाई मासिक अतिथि सत्कार वापतको रकम पालिकाले उपलब्ध गराएकोमा नमुना छनौटको आधारमा परीक्षण गर्दा २०७७ चैत ९ गते २८ हजार ५२०, २०७८ असार ३ गते २८ हजार ६४० र असार २९ गते २४ हजार ३८५ गरी अध्यक्षको निवासको लागि खरिद भएको सामानको खर्च भुक्तानी भएको देखियो ।
गण्डकी प्रदेश सरकारले जारी गरेको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को अनुसूचीमा उल्लेख भएका १३ शिर्षकमा निवासमा खाना खाजा वापतको रकम उल्लेख छैन् ।
यसरी ऐनको विपरीत भएको खर्च सम्बन्धितबाट असूल गरी दाखिला गर्न महालेखाले सुझाव दिएको छ ।
पदाधिकारी दोहोरो सुविधा
पालिका अध्यक्षले जिल्लाभित्र तथा बाहिरको स्थान राखी कार्यालयको कामको सिलसिलमा भनी प्रत्येक महिना ३ पटक भ्रमण गरेको भ्रमण आदेश र बील राखी भुक्तानी दिएको स्रेस्ता परीक्षणबाट देखिएको छ ।
पदाधिकारी भ्रमणमा गएको दैनिक भ्रमण खर्च तथा सोही मितिको कार्यालयमा विभिन्न समितिको बैठक भत्ता समेत लिएको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
स्याङ्जामा बेथितिः औद्योगिक ग्राम स्थापना नहुँदै आर्थिक अनियमितता सुरु
प्रतिवेदनमा भनिएको छ, नमूना छनौटको आधारमा परीक्षण गर्दा २०७७ असोज १५ मा ३० हजार १५०, कात्र्तिक २६ गते २६ हजार ५५०, फागुन २ गते ३० हजार १५० चैत १ गते २८ हजार ३५० गरी १ लाख १५ हजार २०० रुपैयाँ रकम दोहोरो परेकोले सम्बन्धितबाट असूल गरी बाँकी अवधिको समेत पालिकाले एकिन गरी दोहोरो परेकोमा असूल गर्नुपर्दछ ।
गण्डकी प्रदेश सरकारले जारी गरेको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को दफा ९ मा पदाधिकारी तथा सदस्यले स्थानीय तहसँग सम्बन्धित कामको सिलसिलमा आफ्नो कार्यक्षेत्र भित्र बाहेक भ्रमण जाँदा अनूसूची (क) मा उल्लेखित दरमा नबढ्ने गरी दैनिक भ्रमण खर्च पाउने व्यवस्था छ ।
चापाकोटमा बेथितिः बिल भरपाई बिनै ३० लाख बढीेको भुक्तानी दिने र लिने को – को हुन् ?
दोहोरो अनुगमन सुविधा
त्यसैगरी पालिकाका अध्यक्ष शर्माले २०७८ असार २४ गते योजना अनुगमन भत्ता वापत ७ हजार ६५० समेत लिएको पाइएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को अनुसूचीे (क) मा गाउँपालिकाका पदाधिकारीले पाउने मासिक अनुगमन सुविधा वापत अनूसूचिमा उल्लेखित दरमा मासिक रुपमा सुविधा लिएकोमा ऐनमा व्यवस्था भन्दा बाहेक अनुगमन भत्ता समेत भुक्तानी लिएकोले दोहोरो लिएकोमा सम्बन्धितबाट असूल गरी स्थानीय संचित कोषमा दाखिला गर्नु महालेखाले सुझाव दिएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।