Logo

बिहीबार , साउन २६ गते २०७९

सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

पत्रपत्रिकाबाट

१८, साउन २०७९
  • 208
    SHARES
  • सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

    काठमाडौं, १८ साउन । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।

    images
    images

    प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’ छलफल नै भएको छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेख्नुभएको छ ।

    काँग्रेस नेता रामचन्द्र पौडेलले ‘काँग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँट छलफल सुरु गर्ने’ जानकारी दिनुभयो ।

    ‘काँग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ,’ उहाँले थप प्रस्ट पार्दै भन्नुभयो, ‘सबै दल त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सिट बाँडफाँट छलफल सुरु गर्छौं ।’

    निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ । तर, गठबन्धनभित्र निर्वाचन मिति विषयमा पनि छलफल भएको छैन । स्रोतका अनुसार ४ मंसिरमा निर्वाचन गर्ने सरकारको तयारी छ ।

    प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ ।

    ‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’

    गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक काँग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।

    यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।

    त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ ।

    प्रकाशित मिति :साउन १८, २०७९ बुधबार - ०६:५२:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology