Logo

बिहीबार , साउन २६ गते २०७९

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

कालीगण्डकी खबर

१८, साउन २०७९
  • 244
    SHARES
  • प्रहरी बुट खरिदमा ६ करोड घोटाला

    काठमाडौं, १८ साउन । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य परेको हो।  

    images
    images

    व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स  कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर पारेको थियो। सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ती बुट खरिद गरेर जिल्ला–जिल्लामा पठाइएको थियो। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेख्नुभएको छ । 

    १३ करोड ५० लाख रूपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ। ‘अहिले आएका बुटको गुणस्तर निकै कमजोर रहेको छ, घामपानीमा उप्किने खालको छ, यही बुट लिएर बजारमा किन्न जाँदा १४ सयदेखि १५ सय रूपैयाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई २ हजार ६ सय ५० रूपैयाँ तिरेको छ। जसले गर्दा आधाभन्दा बढी रकम अपचलन भएको बुझिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

    उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रूपैयाँ प्रस्ताव गर्ने कम्पनीले पाएको थियो। सो कम्पनीले बुट खरिद गरेर सबै जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। प्रहरीले यस पटक राजनीतिक शक्ति केन्द्रको दबाबमा केन्द्रबाटै खरिद गरेको थियो। 

    यसअघि खरिद प्रक्रिया जिल्लाजिल्लाबाटै हुने गथ्र्यो। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएदेखि नै खरिद प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरिएको थियो। तर, अहिले भने माथिको आदेश भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट खरिद गरेर सम्बन्धित कार्यालयमा सामान पठाई भुक्तानी दिन आदेश दिएको थियो। सोही अनुसार भुक्तानी भइसकेको छ।  

    स्रोतका अनुसार गुणस्तर परीक्षणसमेत नगरी १३ करोड ५० लाख रूपैयाँबराबरको डिएमएस बुट गुपचुप रूपमा खरिद गरी वितरण गरिएको हो। 

    यसो गर्दा नेपाल प्रहरीलाई ६ करोड रूपैयाँभन्दा बढी घाटा लागेको स्रोतको दाबी छ। २०७७ माघ २९ गते खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डिएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको बुट अहिले मापदण्ड बेगर परीक्षण नगरी जिल्लाजिल्लामा पठाउँदा केन्द्रबाटै करोडौं रूपैयाँ घोटाला भएको स्रोतको दाबी छ। अहिले खरिद गरिएको बुट कम गुणस्तरको परेको प्रहरी कर्मचारीले नै गुनासो गरेका छन्।

    प्रकाशित मिति :साउन १८, २०७९ बुधबार - ०७:३४:३४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology