Logo

शनिबार, असोज २२ गते २०७९

images

पहिलो जनआन्दोलनका जिउँदो सहिद विजयराज घिमिरेको निधन

पहिलो जनआन्दोलनका जिउँदो सहिद विजयराज घिमिरेको निधन

कालीगण्डकी खबर

३१, भदौ २०७९
  • 1.7K
    SHARES
  • पहिलो जनआन्दोलनका जिउँदो सहिद विजयराज घिमिरेको निधन

    काठमाडौँ, ३१ भदौ । पहिलो जनआन्दोलनका जिउँदो सहिद विजयराज घिमिरेको हिजो बेलुका निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पिडित रहनु भएका घिमिरेको काठमाडौस्थीत मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    images
    images
    images
    images
    images
    images

    वरिष्ठ चार्टर एकाउन्टेन्ट समेत रहनु भएका घिमिरेलाई नेपाली राजनीतिमा जिउँदो सहिद समेत भन्ने गरिएको थियो । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका घिमिरेलाई प्रहरीले गोली प्रहार गरेपनि उहाँलाई नलागी सँगै रहनु भएका आफ्नै दाजू सुर्य घिमिरेलाई लागेर उहाँको मृत्यु भएको र विजय घिमिरे बाँच्न सफल भएकाले उहाँलाई जिउदो सहिद भन्ने गरिएको थियो ।

    त्यतिबेला २१ बर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नु भएका घिमिरले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहनु भएको थियो । उहाँले पाल्पाको क्षेत्र नं। १ मा दुई पटक संघीय संसदका लागि उम्मेदवार बन्नु भएको थियो ।

    २०४३ सालमा काठमाडौको अमृत साईन्स क्याम्पसको स्ववियु सदस्य हुनु भएका घिमिरे १८ बर्षकै उमेरमा पाल्पा काँग्रेसको जिल्ला सदस्य हुनु भएको थियो ।

    २०४४ सालमा पार्टीले रामपुरको बेझाडमा आयोजना गरेको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर उहाँलाई मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्धाहरुले जिवितै भेटेपछि तत्काल उपचार गर्न दौडाएर उहाँले पुर्नजीवन पाउनु भएको थियो । त्यही बर्ष नेविसंघका तत्कालिन केन्द्रीय अध्यक्ष बालकृष्ण खाँण सहित विजयलाई केलादीस्थीत प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

    नेपाली काँग्रेसको जिल्ला समिति, नेपाल बिद्यार्थी संघको जिल्ला समिति र त्रिभुवन बहुमुखी क्याम्पस समिति गरी एकैपटक तीन ओटै समितिको सचिव भएका घिमिरे ०४४ सालमा तत्कालिन शासकहरुले सर्वाधिक खोजिने पात्र हुनुहुन्थ्यो । त्यतिबेला तानसेनको बडिज्ञान टोलमा रहेको कोठामा सुरक्षाकर्मीहरुले बेला बेलामा छापा मारिरहेका हुन्थ्ये ।

    एक दिन उहाँ घरमै भएका बेला सुरक्षाकर्मीहरुले घर घेरा हालेर पक्राउ गर्न लागेका थिए । कतैबाट हामफालेर भाग्ने अवस्था नरहेपछि चतुर विजयले सुरक्षाकर्मीहरुलाई झुक्याउन साडी लगाएर टाउकोसम्म छोपेर पानी लिन जाने बाहनामा गाग्री लिएर भाग्नु भएको थियो ।

    २०४६ सालको जनआन्दोलनको पहिलो दिनमै गोली प्रहार गरेपनि छलिन सफल हुनु भएका घिमिरे प्रहरीको झनै खोजीमा पर्नु भएको थियो । प्रहरीले गोली प्रहार गरेपछि घटनास्थलबाट भागेर घर पुगेका विजयले सुत्केरी हुन लागेकी आफ्नी श्रीमतीलाई छोरी जन्मे “चारतारा” र छोरा जन्मे “जयनेपाल” नाम राख्न सुझाएर “तीनैलाई हेरेर चित्त बुझाउनु मेरो खोजी नगर्नु” भन्दै अनिश्चितकालका लागि सम्पर्क बिहिन हुनु भएको थियो ।

    एकातर्फ दाईलाई गोली लागेको, भागदौड गर्दा आफ्नो हात भाँचिएको र अर्को तर्फ घरमा छोरो जन्मन लागेको त्रिपक्षीय सम्बेदनशील घडीमा पनि उहाँ लोकतन्त्रका लागि सम्पर्कबिहिन हुनु परेको थियो । उहाँ भागेपछि उनकी बहिनी सकुन्तलालाई प्रहरीले जेल हालेको थियो । यसरी दर्जनौ पटक मृत्युको नजिक पुगेर नाफाको आयुमा बाँचीरहेका घिमिरेले अहिले भने क्यान्सरबाट पराजित हुनुभयो ।

    विक्रम सम्बत २०२५ सालमा जन्मनु भएका घिमिरे क्यान्सरबाट पिडीत भएपछि भारतको एक अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । तर उपचार गराएर केही हप्ता अगाडि काठमाडौ फर्किनु भएका घिमिरेलाई केही दिन अगाडि फेरी स्वास्थ्यमा समस्या आएपछि काठमाडौस्थीत मेडिसिटी अस्पतालमा लगिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दिउसो १२ बजेपछि अन्त्यष्टि गरिने नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनु भएको छ ।

    अन्त्यष्टि अघि आर्यघाटमै शोक सभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुले समेत श्रद्धान्जली दिने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

    उहाँको निधनप्रति काँग्रेसका नेता तथा कार्यकर्ताहरु, उहाँलाई चिन्ने अन्य पार्टीका नेता र आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । उहाँलाई छोरा जयनेपाल घिमिरेले दागबत्ति दिनुहुने भएको छ । उहाँको आमा, श्रीमती, छोरा र छोरी हुनुहुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :भदौ ३१, २०७९ शुक्रबार - ०७:१५:०४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology